• १८ माघ २०८१, शुक्रबार

हिलेमा सोनाम ल्होसारमा कार्यक्रम

blog

सोनाम ल्होसारको अवसरमा सजिसजाउ पारिएको हिलेको तोङ्वा चोक।

कबिराज घिमिरे 

हिले माघ १७ गते । धनकुटाको हिलेमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्दै सोनाम ल्होसार भव्य रूपमा मनाइएको छ । सोनाम ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा आयोजित कार्यक्रममा स्थानीय तामाङ समुदायका साथै विभिन्न जातजाति तथा धर्मावलम्बीको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा परम्परागत तामाङ सेलो, ढोल–झ्याली नृत्य, तथा संस्कृति झल्किने अन्य विभिन्न प्रस्तुति राखिएका थिए । स्थानीय कलाकारसँगै आम नागरिकले पनि उत्साहपूर्वक नाचगान गरी नयाँ वर्षको स्वागत गरे। यस अवसरमा वक्ताले तामाङ समुदायको भाषा, संस्कृति र परम्परालाई प्रवर्धन गर्न आवश्यक रहेको बताउँदै यस्तो पर्वले सामाजिक एकता र सद्भाव बढाउने उल्लेख गरे। कार्यक्रममा सहभागीले नयाँ वर्षलाई उत्साहपूर्वक मनाउँदै आपसी मेलमिलाप र भाइचाराको सन्देश फैलाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

सोनाम ल्होसार तामाङ समुदायको प्रमुख पर्व हो, जसलाई नयाँ वर्षको सुरुवातका रूपमा मनाइन्छ। यो पर्व मञ्जुश्री पात्रोअनुसार वर्ष परिवर्तनको अवसरमा मनाइने गरिन्छ। हिलेमा मनाइएको सोनाम ल्होसारले स्थानीय पर्यटन प्रबर्द्धनमा पनि टेवा पुर्‍याएको आयोजक समितिले जनाएको छ।