• १७ माघ २०८१, बिहिबार

कुखुरे चट (कथा)

blog

धेरै वर्ष पहिलेको कुरा हो । कुखुराका पुर्खा जङ्गलमा बस्थे । उनीहरूलाई धेरै दुःख थियो । बस्ने घर थिएन । पानी पर्दा ज्यादै दुःख हुन्थ्यो । हावाहुरीले उनीहरूको सातोपुत्लो नै उड्ने गथ्र्यो । साना चल्लाहरू जाडोले थरथर काम्ने गर्थे । बस्ने घर नभएकाले बिरामी कुखुरा त चर्को घाम, जाडो र पानी परेका बेला भकाभक मर्थे ।

बेलुका भएपछि कुखुरालाई कहिले उज्यालो होला भन्ने चिन्ताले सताउँथ्यो । उनीहरू कहिल्यै पनि रात नपरोस् भनेर भगवान्सँग बिन्ती गर्थे । जङ्गलका न्याउरी मुसा, स्याल, वनबिरालो जस्ता जनावरले रात पर्नासाथै कुखुराको परिवारलाई आक्रमण गथ्र्यो । कुनै कुनै रात त झिमिक्क गर्न पनि नपाउँदै बिहान भइसक्थ्यो ।

“बर्सौंदेखिको यस्तो पीर बोकेर कसरी बस्ने ? केही उपाय त सुल्झाउनै पर्ला” बुढो भालेले बेलुका सुत्ने बेलामा सोच्यो । उसले केही उपायका बारेमा भोलि बिहान परिवारका सबै सदस्यसँग सल्लाह गर्नु पर्ला भन्ने पनि सोच्यो । सोच्दासोच्दै बुढो भाले भुसुक्कै निदाएछ । वनबिरालोले आज पनि लखन्तरे नातिलाई कसैले थाहै नपाई लतार्दै वनतिर लग्यो ।

“मरेँ हजुर बा ! मरेँ !” भन्दै चिच्याउँदै लखन्तरे कराउँदा सबैको निद्रा खुल्यो । केही गर्न सक्ने अवस्था थिएन । रातको निष्पट अँध्यारोमा परिवारका सबै सदस्य रुन थाले । रुँदारुँदै उज्यालो पनि भयो । सबैका आँखा रसाएका थिए । सबैको अनुहार मलिन थियो । लखन्तरे नाति गुमाउनु पर्दाको पिडा कम थिएन बुढो भालेलाई । 

झलमल्ल घाम लाग्नेबित्तिकै बुढो भालेले आफ्ना सबै सन्तानलाई वरिपरि राखेर जङ्गलका न्याउरी मुसा, स्याल, वनबिरालो जस्ता जनावरबाट बच्ने उपायका बारेमा सल्लाह गर्‍यो । “हेर लालाबाला हो ! अब म पनि बुढो भइसके । मैले नै तिमीहरूको ज्यानको सुरक्षा गर्नुपर्ने हो तर सुरक्षा त के आफ्ना नातिनातिनालाई आफ्नै आँखा अगाडि लतार्दै लैजाँदासम्म मैले केही गर्न सकिन । जङ्गली जनावरले एकपछि अर्को गर्दै हाम्रा सन्तानलाई सखाप पार्न लागिसके । हाम्रा सन्तानलाई जोगाउने एउटा उपाय निकालेको छु । सबैले ध्यान दिएर सुन । उपाय राम्रो लागे त्यसै अनुरूप गर्नु पर्ला हुन्न ?,” बुढो भालेले भन्यो । सबैले एकै स्वरमा “हुन्छ ! हुन्छ !!” भनेर चिच्याए ।

बुढो भालेले आफ्नो योजना सुनाउँदै भन्यो, “यो जङ्गलदेखि पारिको गाउँमा एक जना बिर्तावालको घर छ । उनी धेरै धनीमानी पनि छन् । उनको घरमा धेरै नोकरचाकर पनि छन् । घरमा गाईभैँसी, भेडाबाख्रा, घोडा र परेवा जस्ता धेरै पशुपन्छीलाई माया गरेर पालेका छन् । गोठ–खोरको पनि व्यवस्था गरेका छन् । खानेकुरा पनि दिँदा रहेछन् । बरु उनै कहाँ गएर शरण पर्ने पो हो कि ?”

बुढो भालेको कुरा भुइँमा झर्नै नपाइ बुहारी पोथी कराइ, “देलान् बिर्तावालले तिमीलाई शरण । केका नाताले तिमीलाई शरण देलान् ? तिमीसँग गोरु बेचेको साइनो पनि त छैन शरण दिन ।”

बुहारीको कुरा सुनेर बुढो भाले एकछिन त अक्क न बक्क भयो । बुहारीलाई सम्झाउँदै भन्यो, “हेर बुहारी, सङ्कटको बेलामा सबै जना भएर सल्लाह गरेर समस्याको हल खोज्नु पर्छ क्या ! त्यतिकै कराएर कहाँ समस्या टर्छ र ? तिमी कुरै नबुझी चिच्याउँछ्यौँ । तिमीहरू जस्ताले गर्दा त मानिसहरूले पोथी बासेको राम्रो हुँदैन भन्छन् त ! कुरो बुझेर मात्र बोल्ने गरन बुहारी ।”

बुढो भालेले बुहारीलाई सम्झाउँदै भन्यो, “बिर्तावालको घरमा बिहान झिसमिसेमै बुहारीहरू उठेर आँगन कुचो लगाउनु पर्छ । मझेरी–सिकुवा लिपपोत गर्नु पर्छ । पँधेराबाट पानी ल्याउनु पर्छ । गोठालाले सबेरै गाईवस्तुलाई घाँसपराल गर्नु पर्छ । हलीले उज्यालो हुनासाथ हलगोरु नार्नु पर्छ । बिर्तावालका बुहारी, हली, गोठालाले कहिलेकाहीँ त उज्यालो भएको पत्तै पाउँदैनन् । एकजुवा घाम आउँदासम्म सुतिरहन्छन् । त्यसैले हाम्रा परिवारका भाले कुखुरा जतिले बिहान सबेरै ‘कुखुरी काँ’ गरेर उनीहरूलाई जगाइदिने, दिउँसो खेतालाले खाजा खाने बेलामा पनि ‘कुखुरी काँ’ गरेर बुहारीहरूलाई खाजा खाने समय सम्झाइदिने, हामीहरूले यति काम ग¥यौँ भने बिर्तावाल पनि खुसी, त्यस घरका बुहारीहरू पनि दङ्ग ।”

बुढो भालेको कुरा सुनेर कुखुराका सबै सन्तान दङ्ग परे । सबैले हो...मा हो...मिलाए । अबदेखि जङ्गलमा नबस्ने, गाउँमै गएर बस्ने सल्लाह गरे । सल्लाहबमोजिम जङ्गलका कुखुराका सन्तान बिर्तावालकहाँ पुगे ।

ठाडो सिउर, रातो कालो मिसिएको भुवादार पखेटा, अग्लो, मोटो बुढो भाले दुलाहा जस्तै अघि अघि र उसका शाखा सन्तान लालाबाला जन्ती झैँ लागेर आफ्नो घरमा आएको देखेर दलिनमा बसेर हुक्का तान्दै गरेको बिर्तावाल एकछिन त अचम्मै परे । गाउँ समाजमा आजको दिनसम्म त मैले यस्तो विवाह कहीँ कतै देखेकै थिइनँ । आज आफ्नै आँगनमा देख्नु पर्दा बिर्तावाललाई विपना हो कि सपना हो छुट्याउन हम्मे पर्‍यो । “ए बुढी ! यता आ न; हैन, आँगनमा मैले यो के को जन्ती देखिराखेको छु ? झट्टै आऊँ त !”

बिर्तावालको कुरा सकिन नपाउँदै आँगनमा उभिएको बुढो रातो भालेले जङ्गी पाराले आफ्ना दुवै पखेटा उचालेर नमस्कार गर्दै घाँटी तनक्क तानेर ‘कुखुरी काँ’ गर्‍यो । उसका सबै शाखा सन्तान उसका वरिपरि झुम्मिएका थिए ।

हुक्का दलिनको आलमारीमा राख्दै बिर्तावालले भन्यो, “को हौ तिमीहरू ? कहाँदेखि के भन्न आएका हौ ?”

बिर्तावालको कुरा सुनेर बुढो भालेले विनम्र हुँदै आफ्ना सन्तानले बर्सौंदेखि जङ्गलमा भोग्नु परेको पीडाका बारेमा विस्तारमा बतायो । बिर्तावालकहाँ बसेर बिर्तावालको परिवारलाई गर्ने सहयोगका बारेमा पनि सविस्तार बतायो । आफूहरूलाई रातमा खोरको व्यवस्था गरिदिनुपर्ने, ससाना नातिनातिनालाई दिउँसोको समयमा काग र चिलको आक्रमणबाट जोगाउन डोकोले छोपिदिनुपर्ने, ससाना नातिनातिनालाई खानामा चामलका कनिका जस्ता साना खानेकुराको व्यवस्था गरिनुपर्ने जस्ता आफ्ना माग पनि सुनायो ।

बुढो भालेले बिर्तावालसँग निडर भएर आफ्ना सन्तानको रक्षाका लागि गरेको कुराकानी सुनेर उसका छोराबुहारी, नातिनातिना पनि दङ्ग परे । बिर्तावालले बुढो भालेको कुरा पत्याउन सकेन । “ए भाले ! तैँले भने झैँ एकाबिहानै, दिउँसो मध्याह्नमा अनि घण्टा घण्टामा तँ कसरी कराउँछस् ? मैले कसरी विश्वास गर्ने हँ ?”

बिर्तावालकी बुढी पनि सँगै थिई । उसलाई बुहारी, हली, गोठालाले समयमा काम नगरेकोमा चिन्ता लागिरहेको थियो । त्यसैले उसले भालेको कुरालाई समर्थन गर्दै भनी, “भइहाल्छ नि उसले भनेपछि कति निधिखोजी गर्नु पर्छ यी बुढालाई पनि बस बस सबैलाई पुग्ने गरी; ऊ त्यो गाईगोठको छेउमा एउटा खोर बनाइदिउँला; आरामले बस !” भन्दै बुढीले कुरो टुङ्ग्याइ । बिर्तावालकहाँ शरण पाएकोमा कुखुराका सन्तान खुसीले दङ्ग परे ।

बुढो भाले र उसका परिवारका सबै भाले कुखुराले बिहान सबेरैदेखि दिनभर समय समयमा ‘कुखुरी काँ......।’ भनेर बास्दा (कराउँदा) बिर्तावालका परिवार पनि दङ्ग पर्न थाले ।

बिहान सबेरै भाले बासेर निद्रा खुलेपछि बिर्तावालको परिवारका सबै सदस्य समयमै उठेर आआफ्ना काम गर्न थाले । बुहारीहरूलाई पनि साह्रै सजिलो भयो । हलीगोठालाले समयमै आफ्ना काम सिध्याएकोमा बिर्तावाल बुढाबुढी पनि दङ्ग थिए । बिर्तावाल बुढाले दङ्ग परेर कुखुराका सन्तानलाई माया गरेर ‘कुखुरे’ भनेर बोलाउन थाल्यो । नयाँ नाम पाएकोमा कुखुराका सन्तानको पनि भुइँमा खुट्टा थिएन ।

दसैँको बिदामा बिर्तावालको नाति विदेशबाट घरमा आयो । घरमा रातो भाले बासेको देखेर ऊ दङ्ग पर्‍यो । “यति राम्रो भाले किन नखाएका होलान् ? हजुरबुवासँग सोधेर म आजै यो भाले खान्छु,” नातिले मनमनै सोच्यो । 

बुइँगलमा हुक्का तान्दै गरेका हजुरबुवालाई नातिले भन्यो, “हजुरबुवा यो रातो भाले आजै खानु पर्‍यो ।” नातिको कुरा सुनेर हजुरबुवा छक्क परे ।

“हैन के भन्छ यो नाथे ! भाले खाने पनि हो र ? यो त हाम्रो घरको पाहुना हो । यसले हाम्रो घरका हलीगोठाला, नोकरचाकर, छोराबुहारी सबैलाई सहयोग गरेको छ । यस्तो काम लाग्ने चरालाई पनि खानुहुन्छ ?” बिर्तावालले नातिलाई हप्कायो । 

“हैन यसले तपाईंहरूलाई के नै सहयोग गरेको छ र ? हामी विदेशमा यसैको मासु खान्छौँ ।” नातिको कुरा सुनेर बिर्तावालकी श्रीमती कड्किन्, “तँलाई फटाहा ! विदेशमा पढ्न भनेर पठाएको त यसले त के के नराम्रो काम पो गरेछ । अझ यहाँ आएर उसैको कुरा ठुला; तँलाई लाज लाग्दैन ? पूर्वमा लाली छर्न नपाउँदै हामीलाई “कुखुरी काँ......! कुखुरी काँ......!! गरेर निद्राबाट बिउँझाउँछ । सबै बुहारीहरूले कामधन्दा गर्न भ्याउँछन् । हली, गोठालाहरूले समयमै काम भ्याएका छन् । यस्तो चरो खाने कुरा गर्छ उल्लु ।”

बिर्तावालको नातिले कुरा बुझ्यो । हजुरबुवा–हजुरआमाले किन भाले खान नदिएका रहेछन् । “ए, तपाईंहरूले किन यो भाले खान हुँदैन भन्नुभएको हो; त्यो कुरा मैले बुझेँ । तपाईंहरूलाई बिहान कतिबेला भयो ? दिउँसो कतिबेला खेतालापातलाई खाजा दिने, बेलुकीको खाना कतिबेला बनाउन सुरु गर्ने भन्ने समस्या परेको रहेछ हैन ? यी मैले विदेशबाट ‘घडी’ ल्याएको छु । हामी यही घडी हेरेर काम गर्छौं ।” आफ्नो नाडीको घडी देखाउँदै नातिले भन्यो । “अब यही घडी हेरेर काम गरे भइहाल्यो नि ?”

त्यसबेला बिर्तावालका गाउँका मानिसहरूले घडी देखेका पनि थिएनन् । लगाउने र समय हेर्न जान्ने त कुरै भएन । अड्कलकै भरमा काम गर्ने गर्थे । धनीमानी बिर्तावालकहाँ कुखुराको भालेले कुखुरी काँ......! कुखुरी काँ......!! गरेको सबै गाउँलेले थाहा पाइसकेका थिए । कतिपय गाउँलेले त बिर्तावालसँग मागेर साना चल्ला लगेर पाल्न पनि थालिसकेका थिए । कतिपय गाउँलेको घरमा त हुर्किएका भालेले “कुखुरी काँ......! कुखुरी काँ......!! गर्न थालिसकेका थिए । गाउँलेहरू पनि दङ्ग परेका थिए ।

बिर्तावालको नाति भने रातो भाले खान नपाएर जिब्रोबाट र्‍याल काड्दै यता र उता गर्दै कसरी यो भाले खाने भन्ने ध्याउन्नमा लाग्न थाल्यो । हजुरबुवा खेतबारी डुल्न गएको मौका छोपी रातो भालेलाई कर्‍याककुरुक पारेर भान्साघरतिर दौडियो ।

कुखुराका सन्तान सबै रुवाबासी गर्न थाले । जङ्गलमा भएको आतङ्क फेरि यहाँ पनि दोहोरियो भनेर उनीहरू चिन्तित भए । भालेका सबै साखा सन्तान रुवाबासी गर्न लागे । “अब ज्यान जोगाउन कहाँ जाने आज हजुरबुवालाई खाइदिए; भोलि कसलाई खाने हुन् भन्दै डाँको छोडेर रुन थाले ।” बिर्तावालकी बुढी पनि चिन्तित भई ।

साँझ परेपछि बिर्तावाल घरमा आए । सबै कुखुराले बिर्तावाललाई आफ्नो गुनासो पोखे । आफ्ना सन्तानको ज्यान जोगाउन फेरि जङ्गल जाने योजना सुनाए । बिर्तावालले कुखुराको परिवारलाई सान्त्वना दिँदै भने, “हेर ! तिमीहरू फेरि जङ्गल नजाओ बरु यतै दुःखसुख गरेर बस । मेरो नाति फेरि विदेशतिर गइहाल्छ । त्यसपछि त तिमीहरूलाई समस्या पर्दैन नि !”

बिर्तावालको कुरा सुनेर कुखुराको परिवार मन अमिलो बनाउँदै गाउँमै बस्न राजी भए । आजसम्म पनि उनीहरू गाउँमा नै बसिरहेका छन् तर बिर्तावालको नातिले गाउँभरि रातो भाले खाएको हल्ला पिटायो । गाउँलेलाई पनि कुखुरा खान उक्सायो । गाउँलेले पनि उसको उक्साहटमा लागेर कुखुरा खान थाले । त्यस समयदेखि आजसम्म त्यस गाउँमा कुखुरा खाने चलन चलेको छ ।  

 मुना