कालीकोट समाचारदाता
कालीकोट, माघ १७ गते । जिल्ला प्रशासन कार्यालय कालीकोटले रास्कोट नगरपालिकालाई ब्यारेल राखेर यातायातका साधनबाट रकम नउठाउन गरेको निर्देशन नगरपालिकाले अवज्ञा गरेको छ । नगरपालिकाले नगरमा प्रवेश गर्ने यातायात र मालवाहक गाडीबाट शुल्क असुल्ने गरेको गुनासोपछि जिल्ला प्रशासन कार्यालयले यातायातका साधनबाट शुल्क नलिन निर्देशन गरेको थियो तर नगरपालिकाले प्रशासनको परिपत्रलाई बेवास्ता गर्दै शुल्क असुल्ने काम जारी राखेको छ ।
दाताको सहयोगमा ग्रामीण पहुँच कार्यक्रमले निर्माण गरेको रास्कोट नगरपालिकाको मूल सडकमा नगरपालिकाले कर उठाउनु उचित नभएको सर्वसाधारण बताउँछन् ।
स्थानीय समाजसेवी जन्मदेव बरालले प्रशासनिक निकायलाई नगरपालिकाले नटेर्नु दुःखद भएको बताउँदै यसबाट सर्वसाधारणले पीडा पाएको बताउनुभयो । यातायात व्यवसायी उदयराम जैसीले वैदेशिक सहयोगमा निर्माण भएको सडकमा समेत यसरी शुल्क असुल गर्न नहुने दाबी गर्नुभयो । उहाँले ब्यारेल राखेर कर उठाउन बन्द गर्न आग्रह गर्नुभयो । नगरपालिकाले आफ्नो क्षेत्रमा प्रवेश गर्ने मालवाहकप्रति ट्रक, ट्याक्टरबाट पाँच सय रुपियाँ र अन्य यातायातका साना गाडीबाट दुई सय रुपियाँ शुल्क लिने गरेको छ ।