• १७ माघ २०८१, बिहिबार

दोस्रो पटक क्यान्सरविरुद्धको खोप लगाइने

blog

जिल्लास्तरीय खोप समन्वय समिति र सञ्चारकर्मीलाई अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रममा उपस्थित सहभागी । तस्बिर : पुष्कर भण्डारी

अमरगढी समाचारदाता

डडेलधुरा, माघ १७ गते । दोस्रो पटकमा डडेलधुराका सबै किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप लगाइने भएको छ । विद्यालय जाने किशोरीका हकमा कक्षा ६ देखि १० सम्ममा अध्ययनरत सबै र विद्यालय नजानेका हकमा १०–१४ वर्ष उमेर पुगेका सबैलाई खोप लगाइने स्वास्थ्य कार्यालय डडेलधुराका तथ्याङ्क अधिकृत जनक चन्दले बताउनुभयो । यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभर खोप अभियान सञ्चालन भइरहेको उहाँले बताउनुभयो । 

सोमबार स्वास्थ्य कार्यालय डडेलधुराले आयोजना गरेको जिल्लास्तरीय खोप समन्वय समिति र सञ्चारकर्मीलाई अभिमूखीकरण तथा अन्तर्क्रिया कार्यक्रममा उहाँले गत वर्ष नमुनाका रूपमा ३८१ किशोरीलाई एचपिभी खोप लगाइएको र अबको खोप अभियानमा सबै किशोरीलाई लगाइन लागेको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार गत वर्षदेखि नेपाल सरकारका सात वटा प्रादेशिक अस्पतालबाट लगाइन लागेको भ्याक्सिन सुदूरपश्चिम प्रदेशको डडेलधुरामा रहेको डडेलधुरा अस्पतालबाट लगाइएको थियो । १० वर्ष पूरा भई १४ वर्ष ननाघेका किशोरीलाई विद्यालयबाट बोलाई डडेलधुरा अस्पतालमा खोप लगाइएको उहाँले बताउनुभयो । 

स्वास्थ्य कार्यालय डडेलधुराका अधिकृत हरि भट्टका अनुसार डडेलधुरामा छ हजार ९८६ किशोरीलाई यो खोप लगाइँदै छ । विद्यालयमा रहेका किशोरीको सङ्ख्या छ हजार ९६२ र विद्यालयबाहिर रहेका किशोरीको सङ्ख्या अहिलेसम्म २४ रहेको तथ्याङ्क पाइएको छ । खोप अभियानमा सबै किशोरी समावेश गरिने उहाँले बताउनुभयो । 

खोप अभियान अमरगढी नगरपालिकामा माघ २२ देखि ३०, परशुराम नगरपालिकामा माघ २२ देखि २७, आलीताल, अजयमेरु, नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा माघ २२ देखि २७ र भागेश्वर गाउँपालिकामा माघ २२ देखि २५ गतेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो । 

सबैभन्दा पहिले नेपालमा २०७२ सालमा कास्की र चितवनमा यो भ्याक्सिन परीक्षणका रूपमा लगाउन सुरु गरिएको थियो । महिलामा मात्रै हेर्दा पाठेघरको मुखको क्यान्सरको समस्या चौथो स्थानमा रहेको छ भने महिला पुरुष दुवैमा हेर्दा पाँचौँ स्थानमा रहेको उहाँले जानकारी दिनुभयो । 

नेपालमा १९ प्रतिशतभन्दा बढी समस्या पाठेघरको मुखको क्यान्सरको रहेको छ । बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गरेको अध्ययन अनुसन्धानका आधारमा सन् २०२० यता यसको समस्या बढ्दै गएको देखिएको छ । एक लाख महिलामा गरिएको अध्ययनले ३९ जनामा सङ्क्रमण भएको देखिएको थियो । यसको सङ्क्रमण ३५–६४ वर्ष उमेरका महिलामा छ । सङ्क्रमणले मृत्युदर ६६ प्रतिशत बढी देखिएको छ । नेपालमा क्यान्सरका कारण हुने मृत्युदरमा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर कारण बनेको देखिएको छ ।