• २८ फागुन २०८१, बुधबार

राष्ट्रिय सङ्ग्रहालयमा एकदिन

blog

प्रज्ञा भण्डारी

कक्षाः ६, उज्ज्वल शिशु निकेतन एकेडेमी

कीर्तिपुर, काठमाडौँ


म नियमित स्कुल जाने गर्छु । चित्रकला र भ्रमणमा मेरो रुचि छ । स्कुल बिदामा विभिन्न स्थानमा घुम्न जाँदा नयाँ नयाँ कुराबारे थाहा पाउँछु । त्यसैले फुर्सद र बिदाका दिनमा म घुम्न रुचाउँछु । चित्र कोर्छु । आफूले थाहा पाएका कुराबारे अरूलाई बताउँछु । 

राष्ट्रिय सङ्ग्रहालय शनिबार बिदाका दिनसमेत खुल्ने रहेछ । त्यसैले म २०७९ असोज २९ गते मेरो बाबासँग छाउनीमा रहेको राष्ट्रिय सङ्ग्रहालय घुम्न गएकी थिएँ । राष्ट्रिय सङ्ग्रहालय निकै ठुलो र पुरानो रहेछ । त्यहाँ जुद्ध कारिगरी कलाशाला, बुद्ध कारिगरी कलाशाला र मुख्य भवन रहेछन् । मैले तीन वटै भवनमा रहेका पुराना वस्तु देखेँ । त्यहाँ सयौँ वर्ष पुराना हातहतियार, सिक्का, लुगा, मूर्ति थिए । 

छाउनी नेपालको पहिलो सङ्ग्रहालय रहेछ । प्रधानमन्त्री भीमसेन थापाले निर्माण गरेको भवनलाई पछि सङ्ग्रहालय बनाइएको रहेछ । सङ्ग्रहालयको गेटबाट प्रवेश गर्दा बायाँपट्टि कलाशाला भवन रहेछ । त्यहाँ पुराना पुराना धेरै मूर्ति थिए । हस्तकलाका सामान थिए । पुराना चित्र पनि थिए । बुद्ध कलाशालामा बौद्ध धर्मसम्बन्धी सामग्री र 

मूर्ति थिए । 

जुद्ध कारिगरी कलाशाला काठ, ढुङ्गा र धातुबाट बनाइएका लिच्छविकालदेखिका मूर्तिहरू थिए । तलपट्टि ती मूर्तिको नाम र मिति लेखिएको थियो । त्यहाँ मलाई मेरो बाबाले लिच्छवि राजा जय बर्माको मूर्ति देखाउनुभयो । त्यो मूर्ति दुई हजार दुई सय वर्ष पुरानो रहेछ । त्यहाँ गरुड, विष्णु, काली, शिव, उमा–महेश्वर, हरिहर, गणेश, लक्ष्मी, बुद्ध, तारा, जोगिनी, आदिका पुराना पुराना मूर्ति थिए । काठमाडौँका पुराना मल्ल राजारानीका मूर्ति पनि थिए तर सबैको नाम थिएन । भूपतिन्द्र मल्लको मूर्तिमा मात्रै नाम थियो । दुई वटा टाउको भएको महामञ्जेश्वरको काठबाट बनाइएको मूर्ति अनौठो थियो । त्यहाँ नेपालको मठमन्दिरका नमुना पनि थिए । थाङ्का चित्र पनि थिए । 

बुद्ध कारिगरी कलाशालामा भगवान् बुद्धका मूर्ति र चित्र थिए । त्यहाँ बौद्ध धर्मसम्बन्धी सामान थिए । भगवान् बुद्ध जन्मेको लुम्बिनी र उनको दरबार रहेको तिलौराकोटमा पाइएका सामग्री पनि थिए । मञ्जुश्रीका चित्र पनि थिए । त्यहाँ सिद्धार्थ गौतम यशोधरासँग बसेको माटाको आधा फुटेको मूर्ति थियो । मैले त्यहाँ मैत्रय बुद्धका मूर्ति देखेँ । त्यहाँ पञ्चबुद्धका पाँच वटा मूर्ति थिए । मेरो बाबाले भन्नुभए अनुसार बुद्ध धर्ममा भगवान् बुद्धका साथै मैत्रय, दीपङ्कर, तण्हङ्कर, शरङ्गक, कौण्डण्य, मङ्गल, सुमन, रेवत, सोभित, पदुम, नारद २८ वटा बुद्धको पूजा हुने रहेछ । गौतम बुद्ध जस्तै अरू बुद्धको नाम मैले पहिलो पटक सुनेँ । त्यो कुरा थाहा पाउँदा मलाई निकै खुसी लाग्यो ।

सङ्ग्रहालयको मुख्य भवनको ढोकाअगाडिको भर्‍याङमुनि दुई वटा ठुला तोप थिए । त्यहाँ नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका पहिरन लगाएका मूर्ति र पुतली थिए । त्यहाँ नेपालमा पाइने जीवजन्तु, जनावर, चराचुरुङ्गी सजाएर राखिएका थिए । बाघ, चितुवा, रातो पान्डाका छाला सजाएर जिउँदै जस्तो देखिने गरी राखिएका थिए । तराई, पहाडदेखि हिमालसम्म पाइने सबै प्रकारका चराचुरुङ्गी पनि सजाएर राखिएका थिए । त्यहाँ मैले राष्ट्रिय पन्छी डाँफेलाई पनि देखेँ । त्यहाँ ह्वेल माछाको हड्डी, गैँडाको खाग पनि थियो । अर्नाका सिङ सजाएर राखिएका थिए । हात्तीका दाँत पनि थिए । त्यसै भवनमा नेपालका पुराना हातहतियार पनि थिए । त्यहाँ नेपालका पहिलो वैज्ञानिक गेहेन्द्रशमशेरले बनाएको वीरगन पनि थियो । 

त्यहाँबाट मुद्रा राखिएको घरमा गयौँ । त्यस घरमा पुराना पुराना सिक्का र कागजका नोट थिए । नेपालका अहिलेसम्मका सबै नोट सजाएर राखिएका थिए । राष्ट्रिय सङ्ग्रहालयभित्र घुमिसकेपछि हामी निस्कियौँ । त्यसपछि बाहिर गएर फोटो खिच्यौँ । बाहिर राजा त्रिभुवनलाई हिटलरले उपहार दिएको पुरानो निलो रङको मोटर सजाएर राखिएको थियो । ती सबै हेरिसकेपछि हामी बाहिर निस्क्यौँ । 

त्यसपछि राष्ट्रिय सङ्ग्रहालयको पूर्वपट्टि रहेको सैनिक सङ्ग्रहालय हेर्‍यौँ । त्यहाँ पृथ्वीनारायण शाहको ठुलो मूर्ति थियो । मैले पृथ्वीनारायण शाहको मूर्तिसँग फोटो खिचाएँ । अनि भित्र हेर्न गयौँ । त्यहाँ सेनाका पुराना हतियार र पोसाक थिए । पृथ्वीनारायण शाहपछिका राजाका ठुलठुला तस्बिर थिए । नेपालले लडेका विभिन्न लडाइँका चित्र थिए । बझाङ काण्डमा फेला परेका हतियार छुट्टै सजाएर राखिएका थिए । त्यहाँ सेनाको गस्ती गर्ने छत नभएको जिप थियो । त्यसमा बसेर मैले फोटो खिचाएँ । सैनिक सङ्ग्रहालय हेरेपछि हामी बाहिर निस्क्यौँ । बाहिर सेनाको पुरानो ठुलो हवाईजहाज थियो । त्यहाँ एउटा पुरानो हेलिकोप्टर पनि थियो । विदेशबाट ल्याइएको पुरानो महँगो गाडी पनि थियो । 

यी सबै कुरा हेरिसकेपछि म बाबासँगै घर फर्कें । त्यस दिनको सङ्ग्रहालय भ्रमणबाट मैले धेरै कुरा देख्न, बुझ्न र जान्न मौका पाएँ । साथीहरू तपाईंहरू पनि बिदामा यस्ता घुम्ने ठाउँमा जानुहोला, ज्ञानवर्धक हुने रहेछ । 

 मुना