• ९ वैशाख २०८२, मङ्गलबार

गण्डकी सङ्ग्रहालय भ्रमण

blog

सौहार्द ढकाल

कक्षाः ४, गण्डकी बोर्डिङ स्कुल

लामाचौर, पोखरा  


मेरो विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सकिएपछि दसैँ, तिहार र छठसम्म लामो छुट्टी भयो । छुट्टीको बेला म घर र मामाघरबाहेक अरू ठाउँ पनि घुम्न गएको थिएँ । यो पटक घुमेका ठाउँमध्ये मलाई गण्डकी प्रदेश सङ्ग्रहालयको भ्रमण एकदम सम्झिरहने खालको रह्यो । धेरै पहिले पहिलेका कुरालाई हेर्न मिल्ने गरी सङ्कलन गरेर देखाउनका लागि राखिने ठाउँलाई सङ्ग्रहालय भनिन्छ ।  

यो सङ्ग्रहालय सुरुमा क्षेत्रीय सङ्ग्रहालयका रूपमा २०४१ माघ २३ गतेका दिन सर्वसाधारणका लागि खुला गरिएको थियो । पछि २०७५ भदौ २४ गते गण्डकी प्रदेश सङ्ग्रहालयका रूपमा रूपान्तरण भएको रहेछ । मैले पनि पोखराको नयाँ बजार गएर यस सङ्ग्रहालयको भ्रमण गरेँ । 

यहाँ सङ्कलन गरिएका सामग्रीलाई चार वटा कक्षमा राखिएको छ । तीमध्ये पहिलो कक्षमा गण्डकी प्रदेशबाट सङ्कलित विभिन्न परम्परागत गहना र लुगा प्रदर्शित छन् । त्यसै गरी दोस्रो कक्षमा नेपाल र जर्मनीका संयुक्त टोलीले सन् १९९४/९५ मा मुस्ताङमा रहेको प्राचीन गुफा उत्खनन गर्दा प्राप्त भएका वस्तु राखिएका छन् । यसै गरी तेस्रो कक्षमा पहिले पश्चिमाञ्चल विकास क्षेत्रको विभिन्न स्थानमा प्रहरीले पक्राउ गरेका मूर्ति प्रदर्शन गरिएका छन् । योबाहेक यस कक्षमा हातहतियार र लोकबाजा पनि प्रदर्शनमा राखिएको छ । यसै गरी चौथो कक्षमा थारू, दुरा, थकाली र सार्की जातिले दैनिक जीवनमा प्रयोग गर्ने गरेका सामग्री र हिन्दु परम्परामा गरिने विवाह तथा मृत्यु संस्कारका प्रतिकृति राखिएका छन् । यो सङ्ग्रहालयमा मलाई सफा चौर, चिप्लेटी, पिङ सबै कक्ष र त्यहाँको सुन्दर वातावरण मन पर्‍यो । 

यो सङ्ग्रहालय प्रत्येक सोमबार बिहान १० देखि अपराह्न ३ बजेसम्म, छोटो दिन हुने महिनामा कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र अरू बेला बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म खुल्छ । मङ्गलबार र सार्वजनिक बिदाको दिन बन्द हुने रहेछ । सङ्ग्रहालयभित्र प्रवेशका लागि नेपाली विद्यार्थीलाई १० रुपियाँको टिकट लाग्दछ । पोखरा घुम्न आउने सबै जना साथी यो सङ्ग्रहालय घुमेर गण्डकी प्रदेशका बारेमा थाहा पाउन सक्नुहुन्छ । साथै विभिन्न खेल पनि खेल्न सक्नुहुन्छ । 

मुना