• १७ माघ २०८१, बिहिबार

सिटी हल निर्माण अन्योलमा

blog

रजनी योगी

सुर्खेत, माघ १६ गते । बजेट विनियोजन नहुँदा वीरेन्द्रनगर सिटी हल (सभागृह) निर्माण कार्य अघि बढ्न सकेको छैन । सिटी हल निर्माणको दोस्रो चरणको काम अन्योलमा छ । सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको छैन । 

बजेटको स्रोत सुनिश्चित नहुँदा सिटी हल निर्माणको बाँकी काम अघि बढाउन समस्या भएको हो । पटक पटक बजेट माग गरिएको भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । कार्यालय प्रमुख कमल दर्लामीमगरले विभाग र अर्थ मन्त्रालयमा पटक पटक बजेट माग गरिएको भए पनि कुनै प्रतिक्रिया नआएको बताउनुभयो । गत आर्थिक वर्षमा बजेट विनियोजन गरेको सरकारले चालु आवमा बजेट नै विनियोजन गरेन । गत आव २०८०/८१ मा सरकारले तीन करोड ७५ लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेट कार्यान्वयन नहुने भएपछि कार्यालयले बजेट फिर्ता पठाइदिएको थियो । उक्त समयमा सर्वोच्च अदालतले काम नगर्न भनेको थियो तर अहिले काम गर्ने बाटो खुलेको भए पनि बजेट विनियोजन नगरिँदा काम अघि बढाउन समस्या भएको हो ।

सर्वोच्च अदालतले यसअघि ठेक्का पाएको निर्माण कम्पनीलाई कामको भुक्तानी दिन अन्तरिम आदेश दिएसँगै नयाँ ठेक्का सम्झौताको बाटो खुलेको छ । २०८० चैत २० गते सम्झौता रद्द भएको निर्माण कम्पनीले गरेको कामको मूल्याङ्कनका आधारमा भुक्तानी दिन सर्वोच्चले भनेको छ । चालु आवमा बजेट विनियोजन नहुँदा कामको भुक्तानी दिन र नयाँ ठेक्का सम्झौताको काम अघि बढाउन नसकिएको कार्यालय प्रमुख मगरले बताउनुभयो । सर्वोच्चले समेत काम अघि बढाउन मार्गप्रशस्त गरिसकेको उहाँको भनाइ छ । 

२०७८ सालमा मजदुर पिएस जेभी सुर्खेतले दोस्रो चरणको कामका लागि चार करोड रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । २०७९ असारसम्म निर्माण सम्पन्न गर्ने गरी जिम्मा पाएको कम्पनीसँग ठेक्का रद्द गरिएको हो । सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले २०८० साल भदौमा ठेक्का तोडेको हो । ठेक्का रद्द गरिएपछि बाँकी रहेको काम अलपत्र परेको छ । 

ठेक्का तोडिएको एक वर्ष बितिसक्दा समेत नयाँ प्रक्रिया अघि बढ्न सकेको छैन । सम्झौता रद्द हुनुअघि उक्त कम्पनीले ५५ प्रतिशत काम भने गरिसकेको छ । उक्त कम्पनीले करिब तीन करोड बराबरको काम गरिसकेको बताइएको छ । अहिले दोस्रो चरणको काम अलपत्र परेको छ । पहिलो चरणको काम २३ करोड रुपियाँको लागतमा सम्पन्न भए पनि दोस्रो चरणको काम अलपत्र परेको छ । पहिलो चरणको काम सम्पन्न गरी भवन डिभिजन कार्यालय सुर्खेतले २०७७ फागुनमा वीरेन्द्रनगर नगरपालिकालाई सिटी हल हस्तान्तरण गरेको थियो । नगरपालिकाको मातहतमा आइसके पनि पालिकाले त्यसको संरक्षण र व्यवस्थापनमा चासो नदिएको पाइएको छ ।

एकातर्फ सिटी हल निर्माण सम्पन्न भएको छैन भने अर्कातर्फ बनेका संरचना जीर्ण बन्दै गएका छन् । बैठक कक्ष र पर्खाल निर्माण, साउन्ड बक्स, बसाइ व्यवस्थापनलगायतका काम प्रभावित भएका छन् । ७८० जना अट्ने क्षमताको सभा हल, १५० व्यक्ति अट्ने दुई वटा बैठक कक्ष निर्माण भइसकेका छन् । सिटी हलको डेकोरेसनको काम बाँकी रहेको छ । सभा हल, बैठक कक्षभित्र साउन्ड बक्स जोड्न बाँकी छ भने आवश्यक कुर्सी व्यवस्थापन गनुपर्ने छ ।