सन्तोष राउत
सोलुखुम्बु, माघ १६ गते । जापानको माउन्ट फुजी स्प्रिङ इन्कर्पोरेट कम्पनीले सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकामा लगानी गर्ने भएको छ । सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख शेर्पा र जापानी लगानीकर्ता ‘माउन्ट फुजी स्प्रिङ’ कम्पनीका अध्यक्ष अवाइ हिडेरो बिच सहमति भएको हो ।
जापान भ्रमणमा रहनुभएका सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाको पहलमा वैदेशिक लगानीमार्फत शुद्ध र गुणस्तरीय पिउने पानी उत्पादन गरी विदेशमा निर्यात गर्न लगानी गर्ने सहमति भएको हो ।
जापानलगायत विश्व बजारमा उच्च गुणस्तरको पिउने पानी उत्पादन गरी निर्यात गर्दै आएको सो कम्पनीसँग सिङ्गापुर, मलेसिया, युएई, साउदी र कतारलगायतका देशमा पानी प्रशोधन गरी शुद्ध पिउने पानी निर्यात गर्ने समझदारी भएको प्रमुख शेर्पाले जानकारी दिनुभयो ।
सम्झौतासँगै उच्च हिमाली क्षेत्रबाट बग्ने स्वच्छ पानीलाई ब्रान्डिङ गरी निर्यात गर्दा सोलुदुधकुण्ड नगरपालिका र सोलुखुम्बु जिल्लाका लागि मात्र नभई देशकै लागि ऐतिहासिक परियोजनाको सुरुवात भएको प्रमुख शेर्पाको भनाइ छ । शेर्पाले भन्नुभयो, “यस परियोजनाले सोलुखुम्बु जिल्लामा प्रविधि, रोजगार, उत्पादन, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्दै हिमालको पानीलाई ब्रान्डिङ गरी विश्व बजारमा निर्यात गरी जिल्लाको आर्थिक समृद्धि हासिल गर्ने सोलुदुधकुण्ड नगरपालिकाको सपनालाई साकार पार्ने छ ।”
उच्च हिमाली क्षेत्रमा हिमालयन एभरेस्ट वाटरको ब्रान्डमा फ्याक्ट्री खोलेर विश्व बजारमा स्वादिष्ट पानी आपूर्ति गरिने सहमति भएको उहाँको भनाइ छ । जापानको यानाछि प्रान्तमा भएको छलफलमा कम्पनीका प्रमुख कार्यकारी निर्देशक अवाइ ताइचिरोे, सल्लाहकार हिसासी इसिगुरो हिसासी, निर्देशक नोरिहिरो सिजिजाकी, महाप्रबन्धक मिचिहिसा कोबायसी र नेपाली टोलीका सदस्यको सहभागिता रहेको जनाइएको छ ।
परियोजना सञ्चालनमा आएपछि नगरपालिका तथा समग्र जिल्लामा धेरै सङ्ख्यामा रोजगारी सिर्जना भई मुलुकको अर्थतन्त्रमा समेत ठुलो योगदान पुग्ने सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाले बताउनुभयो ।
जापानको प्रसिद्ध हिमचुचुरो माउन्ट फुजीका नामबाट खोलिएको यो कम्पनीले नेपालमा पनि मिनरल वाटरमै लगानी गर्न इच्छासहित यसअघि २०७३ सालमा चेम्बर अफ कमर्सको आयोजनामा भृकृटीमण्डपमा स्टलसमेत राखेको थियो ।
कम्पनीले सगरमाथालगायतका हिमालको हिमनदीलाई प्रयोग गरेर पानी उत्पादन गरी बजारमा पठाउने लक्ष्य लिएर अनुसन्धानको काम गरिसकेको बताइएको छ । जापानमा बोटल वाटरमा २० प्रतिशत हिस्सा ओगटेको माउन्ट फुजीमा ३० अर्ब टन ग्लासियर एरिया रहेको र नेपालको सगरमाथा क्षेत्रमा एक खर्ब ४० अर्ब टन ग्लासियर रहेको कम्पनीले जनाएको छ । जापानमा यो कम्पनीले उत्पादन गरेको पानीको मूल्य आधा लिटरको एक सय रुपियाँ पर्छ ।