हेर्दा हेर्दै जाडो समय पनि लागिसकेछ । जाडो महिनामा हाम्रो विद्यालय बन्द हुन्छ । यस पटक जाडो बिदामा मलाई मेरो मामाघर घुम्न जाने रहर छ । लगभग १५ दिनको जाडो बिदा हुने भएकोले सबैभन्दा पहिले म आफ्नो गृहकार्य सक्ने छु र त्यसपछि म मेरी दिदीसँग मामाघर घुम्न जाने छु ।
मेरो मामाघर चाहिँ सिन्धुली हो । मामाघर नगएको पनि धेरै भइसकेको छ । यस पटक दसैँमा हामी सबै मामाघर जाने योजनामा थियौँ तर दसैँअगाडिको ठुलो वर्षाले पुर्याएको विनाशका कारण हामी दसैँमा मामाघर जान पाएनौँ । पहिरो र बाढीका कारण बाटो बिग्रिएपछि हामीले पछि हिउँदे बिदामा जाने योजना बनाएका हौँ ।
म जाडो बिदामा मामाघर पुगेपछि मलाई सबैभन्दा महत्वपूर्ण क्षण भनेको मेरी हजुर आमासँगको भेट नै हुने छ । हजुरआमाले मलाई निकै माया गर्नुहुन्छ । त्यस्तै सानीमालाई भेट्न मन भएकोले यस पटक मामाघर सिन्धुली जाँदा सानीमाको घर पनि जाने छु । ठूलोमामाकी छोरी सिर्जना दिदीसँग मलाई चन्दनपुरको गाउँपाखा, खोला अनि फाँटमा पनि घुम्न मन छ । अनि त्यहाँ धेरै साथी बनाएर रमाइला रमाइला कुरा गर्दै खेल खेल्न मन छ । मामामाइजूसँग बसेर उहाँहरूका कुरा सुनेर रमाउन मन छ ।
मैले सामाजिक विषय पढ्दा सिन्धुलीगढीका बारेमा पढेको थिएँ । त्यसैले सिन्धुलीगढी कस्तो होला त्यो पनि हेर्न मन छ । त्यसको ऐतिहासिक पक्षका बारेमा जानकारी लिएर एउटा भ्रमण प्रतिवेदन पनि तयार गर्ने सोच छ । सामाजिक विषयको पिरियडमा म सिन्धुलीगढीका बारेमा कक्षामा शिक्षक र साथीलाई सुनाउने विचार छ ।
हामी यहाँ काठमाडौँको धुवाँ धुलोमा बस्न बाध्य भएका मान्छे सिन्धुलीको त्यो स्वच्छ र सफा वातावरण र हरियालीमा रम्दा ज्यादै खुसी हुने छु । त्यो सम्झँदा पनि मलाई कहिले जाडो बिदा आउला, म त्यहाँ पुगुँला र पेटभरि घुमुँला जस्तो भइसक्यो । यस पटकको जाडो बिदामा म मामाघर गएर सबैलाई भेटेर नयाँ नयाँ ठाउँ घुमेर बिताउने छु । धेरै कुरा सिक्ने छु । सिकेका कुरालाई व्यवहारमा पनि उतार्ने कोसिस गर्ने छु । आफ्नै आँखाले देखेका कुरालाई कापीमा उतार्दा स्मरणशक्ति बढ्ने हुँदा भ्रमण गरेपछि त्यसका बारेमा केही न केही लेख्ने मेरो बानीलाई म निरन्तरता दिने छु । अहिले कापीमा लेखिएका कुरालाई सुरक्षित राख्ने छु । धेरै वर्षपछि त्यो पढ्दा बेग्लै आनन्द आउने छ । मजाको स्मरण हुने छ ।