• १७ माघ २०८१, बिहिबार

छुट्टीमा रमाइलो यात्रा

blog

गत वर्ष (२०८० साल) को जाडो बिदा मैले लामो समयदेखि प्रतीक्षा गरेको विश्राम थियो । तेस्रो परीक्षाको लागि महिनौँको अध्ययनपछि म पाठ्यपुस्तक छोड्न र अत्यावश्यक आरामको आनन्द लिन तत्पर थिएँ । चाडपर्वले नै भरिएको शरद ऋतुलाई पछाडि छोड्दै अलि अलि चिसो हुने मौसम हेमन्त ऋतुको मौसम थियो यो । मेरो कुनै ठुलो यात्राको योजना नभए पनि मैले आफ्नो गृहनगर बर्दियामा परिवारसँगै बिदा बिताउने निर्णय गरेँ ।

गैँडाकोटदेखि नारायणगढबाट बसमा गरिने हाम्रो यात्रा एकदमै लामो थियो । यात्रा जति लामो भए पनि मेरो उत्सुकताको भावनाको भने कमी थिएन । उत्साह ममा जागिरहेको थियो । करिब १२ घण्टाको हाम्रो यो यात्रामा अत्यन्तै धेरै अनुभव भरिएको थियो । हाम्रो यात्राको सुरु नै नारायणी नदीको दर्शनबाट हुन्छ । हामी बेलुका ७ बजे पुल्चोकबाट प्रस्थान गर्‍यौँ । रातको करिब १० बजेतिर हामी दाउन्ने पुगेका थियौँ । हाम्रो गाडी खाना खानका लागि होटेलमा पुग्यो । खाना खाने ठाउँमा हामी करिब ४५ मिनेट भुल्यौँ । त्यसपछि हाम्रो यात्रा फेरि सुरु भयो । नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके हुँदै हामी बिहानको  ७:१५ बजेतिर बर्दियाको बढैयातालमा पुग्यौँ ।

चारैतर्फ हुस्सु लागेको थियो । वातावरण स्वच्छ थियो । सहरको धुलो धुवाँ खाइरहने बानी परेर होला मलाई त्यो भूमि स्वर्ग लाग्छ । जति जति मेरा पाइला अघि अघि बढ्दै थिए त्यति त्यति म मेरा हजुरबुवा र हजुरआमालाई भेट्न उत्सुक थिएँ । उता हजुरबुवा र हजुरआमा हामी आउने बाटो हेर्दै हुनुहुन्थ्यो । चोकबाट १५ मिनेटको पैदलयात्रापछि घर पुगेँ । म घर पुग्नेबित्तिकै हजुरबुवा र हजुरआमा यति धेरै खुसी हुनुभयो कि त्यो दृश्य वर्णन नै गर्न सक्दिनँ । 

हामी माघेसङ्क्रान्तिका दिन घर पुगेका थियौँ । हजुरआमाले बनाउनुभएको मिठो चाकु र तिलको लड्डु खाई म एकछिन हजुरआमासँग गफ गर्न थालेँ । हजुरआमाले सबै नेपालीले भन्ने भनाइ दोहोर्‍याउनुभयो, “नाति त पोहोरभन्दा पनि साह्रै अग्लो भएछ । अब त बुवाको कपडा पनि अटाउँछ होला ।” मैले पनि सधैँ जसो नै मुसुमुसु हाँसेर त्यो कुरालाई सुनिरहेँ । त्यसपछि मैले नुहाइधुवाइ गरेँ । खाना खाएँ र रातभरिको गाडीको थकान मार्न दिनभरि आराम गरेँ ।

बुवाले भोलिपल्ट बिहानै घुमघाम गर्ने योजना बनाउनुभयो । हामीले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्ने निर्णय गर्‍यौँ । म बिहान चराचुरुङ्गीको चिरबिर आवाजबाट ब्युँझे । उठ्दा हजुरआमाले सबैका लागि नास्ता बनाइसक्नुभएको रहेछ । नास्ता खाएर हामी बिहान ७ बजे नै त्यहाँबाट हिँड्यौँ । मभन्दा पनि बढी उत्सुक मैले मेरो हजुरबुवा र हजुरआमालाई देखेँ । नदेखुँ पनि किन ? उहाँहरूको पनि हामीसँगको यो पहिलो घुमघाम थियो । केही घण्टाको यात्रापछि हामी बर्दिया राष्ट्रिय निकुञ्ज पुग्यौँ । हामीले त्यहाँ गएर जिप सफारी गर्‍यौँ । बर्दिया राष्ट्रिय निकुञ्ज लुम्बिनी प्रदेशमा अवस्थित एउटा महत्वपूर्ण सम्पदा हो । सम्पत्ति हो । यो निकुञ्ज नेपालको मात्र नभई विश्वभरका लागि जैविक विविधताको एक अद्वितीय उदाहरण हो । बर्दिया राष्ट्रिय निकुञ्ज प्राकृतिक स्थल मात्र होइन, यो हाम्रो हृदयसँग पनि जोडिएको छ । यहाँको शान्ति र सौन्दर्यले हामीलाई प्रकृतिप्रति सम्मान र कृतज्ञताको भाव उत्पन्न गराउँछ । हामीले त्यहाँ बाघ, मृग, हात्तीलगायत थुप्रै जनावरलाई देख्यौँ ।

त्यसपछि हामी गेरुवा पुलतिर लाग्यौँ । गेरुवा पुल नेपालको सबैभन्दा लामो पुल हो । यसको लम्बाइ एक हजार ११५ मिटर रहेको छ । यो पुलले दुई ठाउँलाई जोड्ने काम मात्र गरेको छैन यसले इतिहास, संस्कृति र परम्पराको झल्को पनि दिन्छ । त्यसपछि हामी कर्णाली नदीतर्फ लाग्यौँ । कर्णाली नदी नेपालको सबैभन्दा लामो नदी हो । कर्णाली नदीको प्राकृतिक सौन्दर्य अतुलनीय छ । यसको किनारमा रहेको घना जङ्गल, हिमालको मनोरम दृश्य र विभिन्न प्रकारका जीवजन्तुको समूहले यसलाई स्वर्गको टुक्रा बनाएका छन् । हामीले त्यहाँ एकछिन नास्ता गरेपछि राजापुर र टीकापुर घुम्न भनी हिँड्यौँ । राजापुर र टीकापुर नेपालका तराईका मुटु हुन् । यी दुवै नगरपालिका आफ्नै मौलिकता र सौन्दर्य बोकेर चम्किरहेका छन् । यहाँ थारू समुदायका मानिस बढी बसोबास गर्छन् । माघेसङ्क्रान्तिको बेला गएको भएर होला त्यति बेला थारू जाति माघी पर्व मनाइरहेका थिए । उनीहरूले मथौता नाच र अगुवाको छनोट गरेर यस पर्वलाई मनाउँछन् ।

अन्तिममा घर फर्किने बेला हामी ठाकुरद्वारा मन्दिर पसेका थियौँ । स्थानीयको भनाइ अनुसार एक जना किसानले त्यस क्षेत्रमा खन्दा विष्णु भगवान् र हनुमान भगवान्को मूर्ति पाएका थिए रे । पछि त्यही क्षेत्रमा मन्दिर बनाइयो । थारूले विष्णु भगवान्लाई ठाकुर भनेर पूजा गर्ने भएकाले यसलाई ठाकुरद्वारा मन्दिर भनेर नामकरण गरेको किंवदन्ती रहेको पाइन्छ ।स्वर्गको टुक्रा जस्तै मेरो गृहनगर बर्दिया घुम्दा म एकदमै मोहित भएँ । यस्तै नेपालमा अरू ठाउँ कति होलान् । ती सब ठाउँमा घुम्ने मेरो रहर छ । साथीहरू तपाईंहरू पनि यो जाडोको बिदामा परिवार वा साथीका साथमा कतै घुम्ने योजना बनाउनुहोला, रमाइलो हुन्छ । 

 मुना