• १४ माघ २०८१, सोमबार

जनकपुरले उचाल्यो ट्रफी

blog

नेपालमा पहिलो पटक आयोजित नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० फ्रेन्चाइज क्रिकेट भव्यपूर्वक सम्पन्न भएको छ । नेपाली खेलाडीहरू विदेशमा गएर व्यावसायिक खेल खेल्न पाउँदा खुसी मनाउने नेपालीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले विदेशी खेलाडीहरू नै नेपालमा ल्याएर खेलाउँदै स्थानीय खेलाडीहरूको व्यावसायिक दायरालाई फराकिलो पारेको छ । 

प्रदेश र स्थानको आधारमा छुट्याएर तयार भएका आठ फ्रेन्चाइजी टिमले पहिलो पटक खेलेको यस प्रतियोगिताले नेपाली खेलाडीलाई विश्वमाझ चिनाएको छ । विश्वका दिग्गज खेलाडीसमेत आएर एनपिएलमा खेल्दा नेपालले पनि गौरव गर्ने ठाउँ देखियो । विशेषतः राष्ट्रिय टिममा नपरेका नेपाली खेलाडीले समेत आफ्नो क्षमताका आधारमा फ्रेन्चाइजी टिममा रहेर विदेशी खेलाडीसँग मैदानमा उत्रँदा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाए । वेस्ट इन्डिजका लिजेन्ड खेलाडी ब्रायन लारासमेत नेपाली लिग हेर्न आए ।

लिगमा एक परिवारका दाजुभाइले छुट्टाछुट्टै टिमका लागि खेले । आसिफ शेख र आरिफ शेख दाजुभाइ हुन् । आसिफ सहभागी जनकपुर बोल्ट्सले उपाधिसमेत जित्यो र आरिफको टिम सुदूरपश्चिम रोयल्स उपविजेता बन्यो । 

अझ रोचक त के भने आसिफ र आरिफका बाबुआमा छुट्टाछुट्टै टिमको समर्थनमा रहेर खेल हेर्दाको रमाइलो बेग्लै थियो । उनीहरूकी आमा सुदूरपश्चिम र बुबा जनकपुर टिमको समर्थक थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी भए । जसका लागि उनले कार उपहार पाए । त्यस्तै उत्कृष्ट बलर भएका ललित राजवंशीले मोटरसाइकल प्राप्त गरे । 

एनपिएलमा को कहाँ ?

आठ टिममध्ये शीर्ष चार टिम प्लेअफमा पुग्दा पुछारको लुम्बिनी लायन्स, सातौँ स्थानको पोखरा एभेन्जर्स, छैटौँ स्थानको विराटनगर किङ्ग्स र पाँचौँ स्थानको काठमाडौँ गुर्खाज पहिलो चरणबाटै बाहिरिए । लिग चरणमा सुदूरपश्चिम रोयल्स पहिलो, जनकपुर बोल्ट्स दोस्रो, चितवन राइनोज तेस्रो तथा कर्णाली याक्स चौथो स्थानमा रहेर प्लेअफमा पुगेका थिए । 

शीर्ष दुईमा रहेका सुदूरपश्चिम र जनकपुरले पहिलो क्वालिफायर खेले । जसमा सुदूरपश्चि विजयी हुँदै फाइनलमा पुग्यो । चितवन र कर्णालीले इलिमिनेटर खेल खेले । जसमा कर्णाली विजय भयो र दोस्रो क्वालिफायरमा पुग्यो ।

दोस्रो क्वालिफायरमा जनकपुर र कर्णाली भिडे । जनकपुर विजयी भयो र फाइनलमा पुग्यो । सुदूरपश्चिम र जनकपुर एकै संस्करणमा तेस्रो पटक आमुन्ने सामुन्ने भए । लिग चरण र पहिलो क्वालिफायरमा पराजित भएको जनकपुर फाइनलमा भने हाबी भयो । फाइनलखेलमा जनकपुरले पाँच विकेटले बाजी मा¥यो ।

जनकपुरका बलर ललित राजवंशी र सुदूरपश्चिमका स्कट कुग्गेलजितले सर्वाधिक समान १७ विकेट आउट गरेका थिए । यस्तै जनकपुरका श्रीलङ्काली खेलाडी लाहिरू मिलान्थाले सर्वाधिक रन बनाए । विजेता जनकपुरले एक करोड १० लाख, उपविजेता सुदूरपश्चिमले ५१ लाख, तेस्रो भएको कर्णालीले २५ लाख तथा चौथो भएको चितवनले १५ लाख रुपियाँ प्राप्त गरे ।

पाकिस्तानमाथि जित

नेपालले पहिलो संस्करणको यु–१९ महिला एसिया कप टी–२० क्रिकेटमा पाकिस्तानमाथि जित हासिल गर्दै इतिहास रचेको छ । नेपाली महिला टोलीले अहिलेसम्म पाकिस्तानलाई हराउन सकेको थिएन ।

नेपालको समूहमा भारत र पाकिस्तान रहेका थिए । खेल्नुअघि मान्यता थियो, नेपाली खेलाडीको अभ्यास राम्रो हुने छ तर सोचेभन्दा बेग्लै नतिजा निकाल्दै नेपालले पाकिस्तानमाथि छ विकेटको जित हासिल गर्‍यो ।

खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर १०४ रन बनाएको थियो । पाकिस्तानलाई थोरै योगफलमा सीमित गर्न कप्तान पूजा महतोले दुई तथा रचनाकुमारी चौधरी, रिया शर्मा तथा सिमना केसीले १–१ विकेट आउट गरेका थिए ।

सामान्य चुनौती नेपालले १९ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । पूजाले अलराउन्ड प्रदर्शन गर्दै ४७ बलमा अविजित रहँदै ४७ रन बनाइन् । त्यस्तै सोनी पाख्रिनले १३ तथा सिमना केसीले अविजित रहेर १२ बलमा १२ रन बनाएकी थिइन् ।

यो जितले छ टोली रहेको एसिया कपमा नेपाल सुपर फोरमा पुग्यो । सो समूहमा नेपाल र भारतबीचको खेल वर्षाले गर्दा रद्द भएको थियो । नेपालद्वारा पराजित पाकिस्तानले भारतका अगाडि पनि घुँडा टेक्यो र पहिलो चरणबाटै बाहिरिन पुग्यो ।

सुपर फोरमा पनि वर्षाले गर्दा नेपालको श्रीलङ्काविरुद्धको खेल रद्द भयो । वर्षाले नै प्रभावित भएको बङ्गलादेशविरुद्धको खेल भने ११ ओभरमा झारियो र नेपाली टिम मात्र ५४ रनमा समेटिए । यो खेलमा बङ्गलादेशले नौ विकेटको जित्यो ।

विश्वकपमा नेपालको भिडन्त

मलेसियामा माघ ५ गतेदेखि सुरु हुने विश्व कपमा १६ टिम सहभागी हुँदै छन् । नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड रहेका छन् । नेपालको पहिलो खेल बङ्गलादेशविरुद्ध माघ ५ गते नै हुने छ । दोस्रो खेल नेपालले स्कटल्यान्डविरुद्ध माघ ७ गते खेल्ने छ । त्यस्तै नेपालको समूह चरणको अन्तिम भिडन्त अस्ट्रेलियाविरुद्ध माघ ९ गते हुने छ ।

समूह ‘ए’ मा भारत, वेस्ट इन्डिज, श्रीलङ्का र मलेसिया रहेका छन् । समूह ‘बी’ मा इङ्ग्ल्यान्ड, पाकिस्तान, आयरल्यान्ड र अमेरिका छन् भने समूह ‘सी’ मा न्युजिल्यान्ड, दक्षिण अफ्रिका, समोआ र नाइजेरियाबीच खेल हुने छ । यी समूहबाट छ टिम सुपर सिक्समा पुग्ने छन् र त्यहाँबाट चार टिम सेमिफाइनलमा पुग्ने प्रावधान रहेको छ । फाइनल खेल माघ २० गते हुने छ ।

अश्विनले लिए सन्न्यास

भारतीय क्रिकेट खेलाडी रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । अफ स्पिनर अश्विनले तीन वटै शैलीका क्रिकेट खेल्दै २८७ खेलबाट ७६५ विकेट लिएका छन् । अश्विन सबैभन्दा धेरै विकेट लिने दोस्रो भारतीय खेलाडी हुन् । उनीभन्दा धेरै विकेट अनिल कुम्बलेको नाममा रहेको छ । उनले ९५३ विकेट आफ्नो खातामा जोडेका थिए ।३८ वर्षीय अश्विनले अस्ट्रेलिया भ्रमणका क्रममा सन्न्यास लिने घोषणा गरेका थिए ।

अश्विनले सन् २०१० मा श्रीलङ्काविरुद्ध एक दिवसीय खेलमा पदार्पण गरेका थिए । उनले टेस्टमा १०६ खेल खेल्दै ५३७ विकेट लिए ।  

  –युवामञ्च