शेरबहादुर सार्की
बाजुरा, माघ १३ गते । बाजुराको बुढीगङ्गा नगरपालिका–१ अम्कोटमा घर निर्माण कार्य अलपत्र परेको छ । निर्माणका लागि दिने भनेको रकम सरकारले नदिएपछि यहाँका बाढीपहिरो पीडित परिवारका घर निर्माण कार्य अलपत्र परेको हो ।
विपद् प्राधिकरणले दिएको डिजाईन अनुसार घर निर्माण नरेकोले यहाँका स्थानीयको दोस्रो किस्ता रकम रोकिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । आर्थिक वर्ष २०७९-०८० मा स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगमा अम्कोटका बाढीपहिरो विस्थापित परिवारलाई स्थापित गर्ने गरी घर निर्माणको काम सुरु गरिएको थियो ।
अम्कोटका १०६ घरपरिवार मध्ये ८५ जनाले ७५ हजार पहिलो किस्ता रकम पाएका छन् भने पहिलो किस्ता रकम पाएका ८५ जनामध्ये पनि १८ जनाले मात्र घर निर्माणको काम सुरु गरेका थिए । यी मध्येकै ६७ जनाले भने पैसा पाएर पनि घर निर्माणको काम सुरु गरेका छैन ।
प्राविधिकहरूले भनेकै अनुसार घर निर्माण गरेको भएपनि अहिलेसम्म दोस्रो किस्ता रकम नदिएको बुढीगङ्गा नगरपालिका–१ अम्कोटकी बाढीपहिरो पीडित कल्लधरी नेपालीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिलो किस्ता ७५ हजार रकम दिएको हो । त्यसले सिमेन्ट सरिया ल्याए । दोस्रो किस्तापछि आउँछ भनेर गाउँमै ऋण खर्च गर्दै घर निर्माण कार्य सम्पन्न गरेकी हुँ । तर अहिले सम्म दोस्रो किस्ता रकम दिएको छैन ।”
जसबाट मैले ऋण गरेर घर लगाएको थियो । ती सबै अहिले पैसा दिनु भनेर घरमा आउन थालेका छन् । त्यो पैसा दिनका लागि मलाई अहिले निकै समस्या भएको नेपालीले बताउनुभयो ।
बुढीगङ्गा नगरपालिका–१ अम्कोटका झण्डै १०६ घरपरिवारमध्ये पहिलो चरणमा ८५ जनालाई घर निर्माणका लागि पहिलो किस्ता ७५ हजार रकम दिएको थियो । पहिलो किस्ता ७५ हजार पाएका ती ८५ जनामा पनि १८ जनाले मात्र घर निर्माणको काम सुरु गरेका थिए । ती १८ जनामा पनि ६ जनाले मात्र घर निर्माणको काम सकेका छन् । तर ती घर पनि विपत् प्राधिकरणको डिजाइन स्टिमेट भन्दा फरक तरिकारले निर्माण गरेका छन् ।
स्टिमेटमा प्रत्येक कुनामा एक एक सरिया, जगको माथिमा दुई वटा सरियाले डिपिसी गर्ने र तल्ला नथप्ने गरी डिजाइन छ । विपद् प्राधिकरणले दिएको डिजाइनमा घर निर्माण गरेको कागजात आएपछि मात्र दोस्रो किस्ता रकम दिने र त्यो भन्दा फरक भएमा दोस्रो किस्ता रकम नदिने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।
उहाँले भन्नुभयो, “घर निर्माणका लागि दोस्रो किस्ता रकम लिएर घर निर्माण नगरेमा पहिलो किस्ता रकम समेत फिर्ता गर्नुपर्ने हुन्छ ।” अहिले बाजुरामा झण्डै तीन हजार ९९९ जना भुकम्प पीडित छन् । उनीहरूका लागि पनि रकम अभाव भएको छ । यसका लागि हामीले गृहमन्त्रालयमा १५ करोड रुपियाँ माग गरेको प्रमुख जिल्ला अधिकारी पाध्याले बताउनुभयो ।