• १४ माघ २०८१, सोमबार

पद्मनाभसँग कालीगण्डकीको साइनो

blog

संसारका हिन्दु मन्दिरमध्ये ‘पद्मनाभ स्वामी’ को मन्दिर निकै प्रसिद्ध छ । ‘पद्मनाभ स्वामी’ भगवान् विष्णुको एक नाम हो । यस मन्दिरको अर्को नाम ‘अनन्तशयनम्’ पनि हो । भगवान् विष्णुका १०८ उल्लेख्य मन्दिरमा पद्मनाभ मन्दिर पनि पर्छ । 

तिरुवनन्तपुरम्

भारतको केरल प्रदेशस्थित त्रिवेन्द्रम्मा यो मन्दिर रहेको छ । त्रिवेन्द्रम्को पुरानो नाम तिरुवनन्तपुरम् हो । तिरुवनन्तपुरम् उहिले ‘त्रावणकोर’ देशको राजधानी थियो । तिरुवनन्तपुरम्लाई पहिले ‘अनन्त वन’ भनिन्थ्यो । तिरुवनन्तपुरम्लाई ब्रिटिसकालमा ‘ट्रिवानड्रम’ भनियो । पछि आएर त्रिवेन्द्रम् कहलियो । हाल पुनः तिरुवनन्तपुरम्कै प्रचलनमा जोड दिइएको छ । तिरुवनन्तपुरम्को सोझो सम्बन्ध पद्मनाम स्वामीसित रहेको छ । ‘तिरु (श्री) अनन्त (भगवान् विष्णु) पुरम् (निवासस्थान)’ को अर्थ भगवान् विष्णु (पद्मनाभ) को पवित्र निवासस्थल हो ।

पद्मनाभ स्वामीको मन्दिरमा भगवान् विष्णु ‘अनन्त’ नामक नागको शैयामा शयन गरिरहेकाले थलोको नाम नै तिरुअनन्तपुर वा तिरुवनन्तपुरम् राखिएको भनाइ पनि छ । 

भगवान् पद्मनाभको दर्शन गर्दा विचार नपु¥याए अलमलिने डर रहन्छ । मुख्य गर्भगृह एउटा चट्टानमा छ । झन्डै १८ फिटे मूर्ति भए पनि अलग, अलग स्तम्भ (द्वार) बाट मात्रै पूर्ण दर्शन सम्भव हुन्छ । पहिलोबाट शिर तथा छाती, दोस्रोबाट हात र तेस्रोबाट चरण दर्शन गर्न सकिन्छ ।

भगवान् पद्मनाभको नाभिकमलमा ब्रह्मा रहेका छन् । भगवान् पद्मनाभको एक हात भगवान् शिव (लिङ्ग) निकट रहेको छ । सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता शिवमा कुनै भेद छैन, एकै हुन् भन्ने सन्देश पद्मनाभ स्वामीबाट प्रवाहित भइरहेको आभास हुन्छ ।

पद्मनाभ मन्दिर अनेक कारणले प्रख्यात छ । यहाँको द्रविड तथा केरलशैलीयुक्त भव्य मन्दिर तथा भगवान् पद्मनाभ (विष्णु) को विशाल मूर्तिले त सबैलाई आकर्षित गर्छन् नै गर्भगृह वरपर रहेका विभिन्न देवी, देवताका मूर्ति, स्वर्णध्वज, ‘पद्मतीर्थ कुलम’ (सरोवर) आदिले थप मोहित पार्छन् ।

धोती नै लगाउनु पर्छ

पद्मनाभ मन्दिरमा दर्शनका लागि केही नियम पनि छन् । यहाँ पशुपतिनाथमा झैँ हिन्दुका लागि मात्रै प्रवेश खुला छ । पोसाकको नियम (ड्रेस कोड) मा पनि कडिकडाउ छ । महिलाले ‘मुंडुम नेरियतुम’ अर्थात् सादा सारी लगाउनु पर्छ । पाइट र सुरुवाल पहिरिनेले त्यहीमाथि सारी बेरेर नियम पालन गरिँदा चाहिँ आपत्ति मान्न छाडिएको छ । पुरुषले चाहिँ ‘मुंडु’ अर्थात् श्वेत धोती वा कटिवस्त्र पहिरिनु पर्छ, कम्मरमाथि केही लगाउनु हुँदैन । गन्जी, कमिज आदि पूर्णतः निषेधित छन् । 

भक्त दिवाकर

ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक हिसाबमा मन्दिर बेजोड छ । यसको स्थापना हजारौँ वर्षपूर्व भएको उल्लेख पाइन्छ । प्राचीन साहित्य अनुसार यस मन्दिरको स्थापना विष्णुभक्त दिवाकरले गरेका हुन् । दिवाकरको भक्तिबाट प्रसन्न भई भगवान् विष्णुले बालक रूपमा उनलाई दर्शन दिएका थिए । दिवाकर नजिकिँदै जाँदा बालकरूपी भगवान् झन् झन् विशाल हुँदै १२ माइल दूरीमा फैलिएका थिए । त्यही विशाल स्वरूपको नाभिस्थलमा अहिले पद्मनाभ स्वामीको मन्दिर रहेको भनाइ छ ।

मन्दिर निर्माणबारे यसै ठ्याक्कै भन्न सकिँदैन । कसैले हजारौँ वर्षपहिले मन्दिर निर्माण भएको जनाएका छन् । आठौँ शताब्दीभन्दा पहिल्यै विशाल मन्दिर निर्माण भइसकेको प्रमाण भेटिएको पनि छ । सोह्रौँ शताब्दीमा गोपुरम् (द्वार) निर्माण भइसकेको थियो ।

त्रावणकोरका राजा मार्तण्ड वर्माले सन् १७३३ मा यस मन्दिरको पुनर्निर्माण गराएको इतिहास छ । त्यसयता बेलाबखत पुनर्निर्माणका काम हुँदै आएका छन् । उनै राजा मार्तण्डका खलकले ट्रस्टमार्फत मन्दिरको संरक्षण, संवर्धनको काम गर्दै आएका छन् ।

अथाह सम्पत्तिको रहस्य

संसारका ज्यादै धनी मन्दिरमध्ये पद्मनाभ स्वामीको मन्दिर पनि पर्दछ । दानदातव्यबाट यहाँ प्रशस्त धन भित्रिएको छ । बहुमूल्य हिरा, सुन आदिका मूर्ति, गरगहना, अमूल्य रत्न तथा प्राचीन मुद्रा यहाँ प्रशस्त रहेको जनविश्वास छ । यस मन्दिरमा रहेका सातमध्ये छ वटा भूमिगत कक्ष खोलेर हेरिँदा एक लाख करोड रुपियाँभन्दा बढीका मूल्यवान् मूर्ति, सिंहासन आदि प्राप्त भएका थिए ।

मन्दिरको सम्पत्तिबारे निकै बहस भएपछि सन् २०११ मा भारतको ‘सुप्रिम कोर्ट’ को निगरानीमै एक÷एक कोठाको विवरण लिइएको थियो । ‘वाल्ट बी’ नाम दिइएको सातौँ कोठामा धेरै बढी सम्पत्ति रहेको अनुमान गरिएको भए पनि ढोका नखोल्न जनदबाब परेकाले सो कोठा खोलिएन । ‘मन्दिरको सम्पत्तिको पवित्रता र सुरक्षालाई ध्यानमा राखी’ त्यो कोठा खोल्न अदालतबाटै प्रतिबन्ध लगाइयो ।

विधिविधानपूर्वक स्थापित ‘नागपाशयुक्त’ कोठा भएकाले उस्तै विधिविधान तथा ‘गरुडमन्त्र’ को अज्ञानतामा कोठा खोल्न नहुने, खोलिएमा ठूलो अनर्थ हुने ठानियो । यही अज्ञात भयले गर्दा पद्मनाभ मन्दिरको सातौँ कोठाको रहस्य रहस्यैमा रह्यो ।

अकस्मात् मृत्यु

यो महìवपूर्ण कोठा नखोलिनुको अर्को कारण के पनि रहेको छ भने जसले मन्दिरका सरसम्पत्तिको बेहोराका लागि मुद्दा हालेका थिए तिनको अकस्मात् मृत्यु हुन पुगेकाले थप अन्यथा परिणाम तेर्सिन सक्ने आशङ्का व्याप्त बन्यो । यस कोठाको रक्षा नाग, पिशाच तथा देवदेवीबाट भइरहेकाले खोल्ने, खुलाउने कसैको पनि भलो नहुने विश्वास रहँदै आएको छ ।

भनिन्छ उहिलेको कुरो एक पटक ढोका खोल्ने प्रयास गरिँदा समुद्री लहरको आवाज सुनिएको थियो । त्यसपछि कसैले पनि ढोका खोल्ने आँट गरेनन् ।

यसो त सन् १९४० भन्दापहिले यहाँ लुटेरा पनि नआएका होइनन् । तिनले टाढैबाट आफूतिर लम्किरहेका सर्प देखेपछि कुलेलम ठोकेको बेहोरा पनि चर्चित छ ।

ती कोठामध्ये छ वटा ढोका फलामका र सातौँ ढोका काठको रहेको बताइन्छ ।

चिनो शालिग्रामको

‘पद्मनाभ स्वामीको मन्दिर’ हामी नेपालीलाई निकै आत्मीय, आराध्य तथा प्रिय हुनुको अर्को एक विशेष कारण पनि छ । पद्मनाभ स्वामीको मूर्ति निर्माण गरिँदा १२ हजार आठ वटा शालिग्राम समावेश गरिएको भनाइ छ । यसमा फरक मत पनि छ । जस अनुसार पद्मनाभ स्वामीको मूर्ति स्वयम्भू हो । मन्दिर निर्माणका बखत शालिग्राम लगिए । ती सबै शालिग्राम नेपालको कालीगण्डकीबाट लगिएका हुन् ।

पद्मनाभ स्वामीको मूर्ति निर्माण गरिँदा होस् वा मन्दिर निर्माण हुँदा जुनसुकै प्रयोजनका लागि भए पनि नेपालको पतितपावन  कालीगण्डकी नदीको किनारबाट शालिग्राम लगिनु उल्लेखनीय रहेको छ ।

यस आधारमा हेर्दा कालीगण्डकी र पद्मनाभ स्वामी मन्दिरको निकटतम सम्बन्ध देखिन्छ । पद्मनाभ स्वामी मन्दिरको महत्व त आफ्नो ठाउँमा छँदै छ यसले नेपालको कालीगण्डकी नदीको महिमागान पनि गरेको छ ।

घैँटामा घाम लागोस् !

पद्मनाभ स्वामीको दर्शनका लागि लालायित भारतका मात्रै होइनन् विश्वभरिकै हिन्दुलाई पवित्र कालीगण्डकी नदीतिर पनि आकर्षित तुल्याउनु हाम्रा निम्ति अपरिहार्य आवश्यकता बनेको छ । कालीगण्डकी क्षेत्रमै रहेको ‘वैष्णवतीर्थ’ मुक्तिनाथलाई समेत समेट्दा महìव झन् बढ्ने छ । यस दिशामा धर्म, संस्कृति, पर्यटन आदि सम्बद्ध सरोकारीहरू गम्भीर हुनै पर्छ । व्यापक प्रचारप्रसारसहित सरल, सहज एवं सुपथ ‘पद्मनाभ–मुक्तिनाथ यात्रा’ मात्रै चलाउन सके पनि नेपाल–भारत दुवै मुलुकका लागि दूरगामी परिणामको विषय बन्ने छ ।

त्रिवेन्द्रम् अर्थात् तिरुवनन्तपुरम् पुग्नेहरू मन्दिर दर्शन गरी वरपरका मन्दिर तथा समुद्री तटको आनन्द लिन चुक्दैनन् ।

‘कोवलम बिच’ र अझिमाला शिव

धेरै दिनका लागि जानेहरूको त कुरै नगरौँ जहाँसुकै पुग्न सक्ने भए तर एक, दुई दिन मात्रै समयावधि भएकालाई पनि कम्तीमा ‘कोवलम बिच’ र ‘अझिमाला शिव मन्दिर’ पुग्न गाह्रो छैन ।

तिरुवनन्तपुरम्बाट झन्डै २३ किलोमिटर दुरीमा रहेको ‘कोवलम बिच’ ले समुद्री सौन्दर्य नियाल्न चाहनेलाई राम्रो मद्दत गरेको छ । घाइँघुइँबाट पर शान्त, सौम्य र ज्यादै सुन्दर छ यो– समुद्री तट ।

तिरुवनन्तपुरम्बाट २७ किलोमिटर पर समुद्री किनारमै रहेको अझिमाला शिव मन्दिर निकै मोहक छ । यहाँबाट समुद्री सौन्दर्य र गङ्गाधरेश्वर शिवको दर्शन एकसाथ गर्न सकिन्छ । ५८ फिट अग्लो, सुन्दर शिवको प्रतिमासामु तस्बिर खिचाउनेको घुइँचोले धेरै कुरा बयान गरिरहेको अनुभूत हुन्छ ।

शुभस्य शीघ्रम्

‘पद्मनाभ–मुक्तिनाथ यात्रा’ चलाउन सके मार्गमा पर्ने हाम्रा कैयन् धार्मिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक एवं जैविक विविधतायुक्त स्थलले पनि चिनिने र चिनाउने मौका पाउने थिए । यही जगमा पर्यटन प्रवर्धनको दियोले पनि उकासिने मौका पाउने थियो । यसका लागि भारतको केन्द्रीय सरकार वा प्रान्तीय केरल सरकारसित कामकुरो छिटो मिल्न सक्छ, अग्रसारिता बढाइहाल्नु बुद्धिमानी हुने छ । 

  –युवामञ्च