फेरि एक पटक मलाई आमा शब्दले बेस्सरी चिमोट्यो । आमा साँच्चै सर्वप्रिय शब्द रहेछ । संसारमा सबैभन्दा शक्तिशाली शब्द आमा हो । आमा श्रद्धाले भरिएको शब्द हो । आमाले जस्तो सन्तानको माया अरूले गर्न सक्दैनन् । मात्रामा धेरथोर हुन सक्छ, सन्तानको माया बुवाले पनि उत्तिकै गर्छन् । आमाले जन्माएको, काखमा खेलाएको, स्तनपान गरेर हुुुर्काएका कारण केही बढी हुनु स्वाभाविक हो । यही कारण सन्तानका लागि आमा साक्षात् देवी हुन् ।
भनिन्छ पति–पत्नी रथका दुई पाङ्ग्रा हुन् । यी दुई छन् र नै सृष्टि थामिएको छ । आमा पनि दुवैका छन् र ती दुवै आमाको महìव उत्ति नै छ । मलाई मेरी आमाले असाध्यै माया गर्नुहुन्थ्यो । म सम्झन्छु– आमाले गरेका गाली मेरै लागि थिए, म बिनाकाम बरालिँदा सिर्कानो लिएर खेदाएको मेरै लागि थिए । आमाका स्नेहिला हातले पकाएका खाना, बिरामी हुँदा काखमा राखेर फुल्याएका क्षण, सबै मेरा लागि नै थिए । आमाका गाली, आमाका आशीर्वाद सबै मायाले भरिएका हुन्छन् । आमाका जुनसुकै काममा छोराछोरीकोे सुख र शान्तिको कामना जोडिएको हुन्छ । आमा साँच्चै ममताकी खानी हुन् । आमा मनमा छोराछोरीको माया भरिएको हुन्छ ।
म आमालाई कसरी बिर्सन सक्छु ? माटोसँग खेलेर, माटोमा बीज उमारेर प्राप्त भएको अन्न आमाकै परिश्रमका फल थिए । हामीले सहरको सुखभोग त पछि गरेका हाँै । त्यो कृत्रिम सुखभोगभन्दा गाउँको प्राकृतिक दुःखमा नै अपार आनन्द हुन्छ । प्रायः हामी सबैका आमा गाउँको दुःखजिलोमा छोराछोरीको खुसीका लागि बाँचेका हुन्थे । मेरी आमाको कोखबाट म मोरङको दक्षिणी भूभाग होक्लाबारीमा जन्मिएँ । आमा भन्नुहुन्थ्यो, “यही टेबलमुनि तँ जन्मिएको होस् ।” आमा नभएको भए म कहाँ जन्मिएको हुँ, कसरी थाहा हुन्थ्यो र ? मलाई सम्झना छ, टाँडे घर, माटाले लिपेकोे बेरा, पूर्वतिर बाहिरैबाट चढ्ने गरी बनाइएको सामान्य काठको भ-याङ, खरले छाएको छानो, सामान्य ग्रामीण घर थियो हाम्रो । त्यस बेला मधेशमा घरले मान्छे कतिको धनी थियो भन्ने परिचय दिन्थ्यो । दुई अढाई बिघासम्म जग्गा हुनेका घर त्यस्ता हुन्थे । त्योभन्दा कम हुनेको भुइँघर हुन्थे । १०–१२ बिघा जग्गा हुनेका काठका, वरिपरि रेलिङ भएका मुन्डा घर र आँगनमा मन्दिर जस्तो आकारका भकारी हुन्थे । त्योभन्दा बढी हुनेका अझ भव्य घर र घर परिसर । जति धनी हुँदै गयो, त्यही अनुसार मान्छेका घर हुन्थे । यिनै विविधतायुक्त कुराले गाउँ, गाउँ जस्ता लाग्थे । गाउँमा बस्नुको मज्जा नै अर्कै हुन्थ्यो । हाम्रो घर पश्चिम कोचिनी खोला थियो । सफा, कञ्चन पानी, हामी केटाकेटी पौडी खेलेर, माछा मारेर रमाउँथ्यौँ त्यहाँ । अलि माथि देवीथान र त्यसले चर्चेको फराकिलो चौर थियो । त्यहाँ हामी केटाकेटी ठुलाहरूसँगै गाईवस्तु हेर्न जान्थ्यौँ । ठुलाहरू हामी केटीकेटीलाई कुस्ती लडाएर रमाइलो साटासाट गर्थे । म सम्झन्छु, यस्ता अनेकौँ खुसी आमा हुनुहुन्थ्यो र मैले प्राप्त गरेको थिएँ । बुवाको खासै हामीप्रति जिम्मेवारी थिएन । त्यस बेलाका प्रायः सबैका बुवा त्यस्तै हुन्थे । उनीहरूसँग पुरुष हुनुको दम्भ हुन्थ्यो । मेरो बुवा दिनभरि विद्यालयमा रहनुहुन्थ्यो । राति अबेर घर फर्कनुहुन्थ्यो । बुवाको व्यक्तित्व कडा मिजासको थियो । बुवालाई देख्नासाथ गाउँलेहरू जुँगे हेडसर आयो भनेर डराएर घरमा लुक्थे । बिदाका दिन बुवा खाना खाएर दिउँसो २–३ घण्टा सुत्नुहुन्थ्यो । हामीले निद्रामा बाधा पु-यायौँ भने उहाँ लौरो लिएर कराउँदै आउनुहुन्थ्यो । हामी पनि उहाँले कराएको सुन्नासाथ डराएर खेतको पल्लो छेउमा लुक्न पुग्थ्यौँ । कहिले भकारीको कुनातिर, कहिले खाटमुनि लुकेर बुवाले देख्नुहोला भनी लगलग कामेर बस्थ्याँै । त्यसैले सामीप्यता आमासित हुन्थ्यो । आमा काखमा राखेर अनेक कथा सुनाउनु हुन्थ्यो । बिरामी हुँदा ढाडमा बोकेर कहिले नहर पारि धामिकोमा, कहिले रञ्जनी स्वास्थ्य चौकीमा पु¥याउनुहुन्थ्यो । म आमाको पछि लागेर साप्ताहिक रूपमा लाग्ने हाट बिर्निया र दोभानासम्म पुग्थेँ । गाउँमा हुर्किएका प्रत्येक छोराछोरीले यसरी आमाको माया पाएका हुन्छन् ।
हाम्रो घर आमाकै आँटले चलेको थियो र आमाको त्यो अथाह आँट देखेर गाउँलेहरू समेत छक्क पर्थे । एक जना बङ्गाली दाइ (२०–२२ उमेरको व्यक्ति) हामीकहाँ सहयोगीका रूपमा बसेको मलाई सम्झना छ । उनी प्रत्येक वर्ष छ महिना बसेर खेतीको काम सघाउँथे ।
आमाका लागि म प्यारो थिएँ । प्रत्येक छोराछोरी आमाका लागि प्यारा हुन्छन् । आमाको मृत्युपछि मैले आफूलाई एक्लो महसुस गर्न थालेको थिएँ । यस्तो लाग्थ्यो, मलाई माया गर्ने कोही छैनन् । विवाहपछि त्यो अभाव मैले महसुस गर्नु परेन । जन्म नदिए पनि सम्बन्धले यस्तो बनाइदिँदो रहेछ । सासूले पनि आमापछि आमाले जत्तिकै माया गर्दा रहेछन् । यति फरक हो, आमासँग जन्मदेखिकै नाता हुन्छ, त्यो त अरू कसैसँग तुलना योग्य नै हुँदैन । सासूआमा चाहिँ आमाको स्थानमा दोस्रो आमा हुन् । औपचारिकताका कुराले आमा जस्तो खुलेर मन साट्न नसके पनि व्यवहारले सासूआमाले खन्याएका मायाका भाव नबुझिने कुरै थिएन । मैले मेरी सासूआमामा विशाल हृदय देखेको छु । बाँचुन्जेल उहाँले मप्रति सद्भाव खन्याइरहनुभयो । उहाँ पनि मलाई मेरी आमा जस्तै महान् लाग्थ्यो । म महसुस गर्थे, आमा भएर आमाको माया दिने दुई व्यक्ति हुँदा रहेछन्– आमा र सासूआमा ।
यी दुवै आमा हुन् । बाँचुन्जेल उनीहरू आमा भएर नै बाँच्छन् । सासूआमा ४–५ वर्षदेखि थलिनुभएको थियो । यी वर्ष उहाँलाई देख्नासाथ म विगत सम्झन्थे, स्वास्थ्य स्वयंसेविका, टाँडी गाविस मोरङको वार्ड सदस्यका रूपमा उहाँ सव्रिmय भएका दिनहरू । घरमा सासूआमाकै हैकम हुन्थ्यो, व्यवहार सबै उहाँको हातमा । ससुरा बुवा निरीह लाग्नुहुन्थ्यो उहाँको अगाडि । सासूआमा निडर, गाउँलेको प्रिय पात्र हुनुहुन्थ्यो । समाजमा कुनै समस्या प¥यो, त्यसलाई सुल्झाइदिने न्यायमूर्ति हुनुहुन्थ्यो । मोरङको उत्तरी भेग महाभारत पर्वत शृङ्खलाको फेदी धोबेनी बजारमा सामाजिक अगुवा महिलाका रूपमा उहाँको परिचय थियो । त्यो सानो ठाउँमा सामाजिक अभियन्ताका रूपमा उहाँको भूमिका ठुलो थियो । त्यस्ती बघिनी जस्ती शक्तिशाली मान्छे थला परेपछि कमजोर बन्नुभयो । केही वर्ष यता उहाँले हाँस्न बिर्सनुभएको थियो तर उहाँसँग आमाको विशाल हृदय भने अन्तिम अवस्थासम्म पनि थियो । म सम्झन्छु– मेरी आमा पनि गाउँलेका लागि अति नै मनपराइने हुनुहुन्थ्यो तर सामाजिक योगदान चाहिँ उहाँको थिएन, सासूआमा चाहिँ घरभन्दा बढी समाजका लागि बाँच्नुभएको थियो । त्यो सानो ठाउँमा दुई दशकभन्दा बढी उहाँले गरेको सामाजिक योगदान त्यस ठाउँले सधैँ सम्झिरहने छ । यसरी आमाहरूले फरक फरक भूमिकामा आफूलाई प्रस्तुत गरिरहेका हुन्छन् ।
अब मैले दुवै आमा गुमाएँ । यो सृष्टिको नियम नै हो । आमाको माया सधैँ प्राप्त हुँदैन, भइरहँदैन । आमाहरू सधैँ बाँचिरहँदैनन् तर जुन बेलासम्म आमाहरू बाँच्छन्, सन्तानका लागि बाँचेका हुन्छन्, आफू रित्तिएर सन्तानले सुखभोग गरेको हेर्न चाहन्छन् । त्यसैले आमा धर्ती हुन् । सारा बोझ आफूले बोकेर छोराछोरीको अनुहारमा मुस्कान भरिएको हेर्न चाहने आमा बाँचुन्जेल हामी पनि आमाकै लागि बाँचाँै । अहिले मसँग मेरी आमा हुनुहुन्न ।
आमा हुनुभएको भए आमाले गरेका कर्तव्य सम्झी म सारा माया आमामाथि खन्याउँथे । म जहाँ उभिएको छु, आखिर त्यसको आधारभूमि मेरी आमा नै हो । छोराछोरीले आमाको यो विशाल हृदयलाई कहाँ बिर्सन हुन्छ र ! आमा सन्तानका लागि भएभरको माया खन्याउने ममताकी सागर हुन्, आमा देश हुन् । आमा नभएको भए देश हुन्थ्यो र ?
आमा भएर नै मैले यो भूमि टेक्न पाएको छु, देशको परिचय बोकेर बाँच्न पाएको छु ।