काठमाडौँ, माघ १३ गते । काठमाडौँ उपत्यकाका विभिन्न सडक किनारमा पाँच वर्षअघि जडान गरिएका ‘फायर हाइड्रेन्ट’ हालसम्म सञ्चालन हुन सकेका छैनन् । अहिलेसम्म ‘फायर हाइड्रेन्ट’ लाई मेलम्चीको पानी वितरण प्रणालीमा समेत जडान गर्न सकिएको छैन ।
मेलम्चीको पानी वितरणसँगै आगलागी नियन्त्रण, दैवी प्रकोप तथा विपत् व्यवस्थापनका लागि सहज र उपयोगी हुने भन्दै काठमाडौँ उपत्यकाभित्रका सडक किनारमा ‘फायर हाइड्रेन्ट’ ठड्याइएको थियो ।
दमकलमा पानी भर्न मिल्ने भएका कारण यो उपकरण २०७७ चैतमा काठमाडौँमा मेलम्चीको पानी ल्याउनुभन्दा अघि नै जडान गरिसकिएको थियो । ‘फायर हाइड्रेन्ट’ राखेसँगै कुनै स्थानमा आगलागीको घटना भयो भने दमकललाई पानीका लागि भण्डारण केन्द्र र खोलातिर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको थियो ।
फुटपाथमा बटुवा ठोक्किने गरी जडित ‘फायर हाइड्रेन्ट’ मुख बन्द गरेर राखिनुपर्नेमा खुलै राख्दा यसका मुखमा चाउचाउ, जुस, खैनी, पानपरागका खोल कोचिएको देखिन्छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार अहिलेसम्म चक्रपथभित्र सिंहदरबार, बबरमहल, अनामनगर, रामशाहपथ, पुतलीसडकलगायत राजधानीको घनाबस्ती भएका क्षेत्रको २५० स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान भइसकेका छन् । मेलम्चीको पाइपलाइन जडान हुने ठाउँको प्रत्येक पाँच/पाँच सय मिटरको दुरीमा ‘फायर हाइड्रेन्ट’ राख्ने लक्ष्य रहेको निर्देशनालयले जनाएको छ ।
चक्रपथभित्र थप २५० स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान गरिने योजना छ । उपत्यकामा अन्य स्थानको तुलनामा चक्रिपथभित्र घनाबस्ती र आवादी भएको हुनाले पहिलो चरणमा यस क्षेत्रमा मात्र ‘फायर हाइड्रेन्ट’ जडान गर्न लागिएको हो । थप माग र आवश्यकताका आधारमा अन्य स्थानमा जडान गरिने निर्देशनालयको भनाइ छ ।
निर्देशनालय निर्देशक टीकाबहादुर चौधरीले राजधानीमा बढ्दै गएको आगलागीको जोखिमलाई मध्यनजर गर्दै पानी वितरण सञ्जालको निर्माणसँगै ‘फायर हाइड्रेन्ट’ स्थापनाको कार्यलाई अगाडि बढाइएको बताउँदै ‘फायर हाइड्रेन्ट’ हरूलाई छिट्टै नै सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो । ‘फायर हाइड्रेन्ट’ हरूलाई मेलम्चीको वितरण प्रणालीसँग छिट्टै जडान गरी तिनको परीक्षण र सञ्चालन गरिने उहाँले बताउनुभयो । मेलम्चीको पानी नियमित हुन नसक्दा ‘फायर हाइड्रेन्ट’ लाई खानेपानीको पाइपलाइनसँग जोड्न नसकिएको उहाँको भनाइ छ । हिउँदमा मेलम्चीको पानी वितरण गरिए पनि पानीको आवश्यक तह पुग्न नसक्दा ‘फायर हाइड्रेन्ट’ खानेपानी पाइपलाइनमा जडान हुन नसकेको हो । पाइपभरि पानी आएका बेलामा मात्र ‘फायर हाइड्रेन्ट’ मा पानी पुग्न सक्छ । आवश्यक तहभन्दा अलिकति पनि पानी कम भएको अवस्थामा ‘फायर हाइड्रेन्ट’ मा पुग्न सक्दैन ।
‘फायर हाइड्रेन्ट’ अन्तर्राष्ट्रिय अभ्यास
सहरी खानेपानी तथा सरसफाइ आयोजनाका निर्देशक राजेन्द्रप्रसाद सापकोटाले सहरी क्षेत्रमा आगलागीको जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि ‘फायर हाइड्रेन्ट’ प्रविधि अन्तर्राष्ट्रिय रूपमा नै प्रभावकारी रहेको बताउनुभयो । तापमानमा भइरहेको वृद्धि र आगलागीको जोखिम बढ्दै गइरहेको अहिलेको अवस्थामा काठमाडौँजस्तो घनाबस्ती रहेको सहरमा ‘फायर हाइड्रेन्ट’ यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “फायर हाइड्रेन्ट’ बाट दमकलका लागि सहज रूपमा पानी निकाल्न सकिने हुँदा बजार क्षेत्रमा कुनै आगलागीका घटना भए समयमै निभाउन सकिन्छ । बजार क्षेत्रको नजिक कमै मात्र खुला पानीका स्रोत हुन्छन् । यसकारण ‘फायर हाइड्रेन्ट’ जडान गर्नु अति आवश्यक हुन्छ ।” उहाँले भन्नुभयो, “आगलागीलगायतका विपत् व्यवस्थापनका लागि मात्रै उपयोग गरिने ‘फायर हाइड्रेन्ट’ आगलागी नियन्त्रण गर्न प्रयोग गर्न मिल्ने विशेष संरचना हो । सहरी क्षेत्रमा फायर हाइड्रेन्ट निकै आवश्यक प्रविधि मानिन्छ । सहरका सबैजसो भागमा यस्तो प्रविधि जोड्ने अन्तर्राष्ट्रिय अभ्यास पनि छ ।”