कास्की, माघ १२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुद क्षेत्रमा रहेको विकृतिहरु न्यूनीकरणका लागि खेल पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको आज साँझ पोखरामा आयोजना गरिएको शपथ तथा पदस्थापन कार्यक्रममा उहाँले खेलक्षेत्रका गलत प्रवृत्तिलाई अन्त्य गर्न कलमको माध्यमबाट सहयोग गर्न आग्रह गर्नुभयो ।
“खेल क्षेत्र भद्रगोल र अस्थिर छ, खेल क्षेत्रको नेतृत्वमा बस्नेहरुमा विदेश भ्रमणमा बढी रुचि राख्ने प्रवृत्ति छ । यस्ता गलत प्रवृत्तिको सञ्चारकर्मीले विषय उठाउनु पर्दछ” मन्त्री गुरुङले भन्नुभयो । सञ्चारमन्त्री गुरुङले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान र फुटबल रङ्गशालामा रात्रिकालीन बत्ती (फ्लड लाइट) राख्नका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपालको अनलाइन सञ्चारमाध्यममा धेरै समस्या रहेका र मिलेर बसेको समाजलाई विग्रह ल्याउने प्रयास भएकाले त्यसको नियमनका लागि अनलाइन सञ्चारमाध्यम नियमन विधेयक पारित गरिएको सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो । कार्यक्रममा सञ्चारमन्त्री गुरुङले खेलकुद पत्रकार मञ्चको नवनिर्वाचित कार्यसमितिका अध्यक्षलगायत पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
माघ १० गते सम्पन्न मञ्चको अधिवेशनले मानबहादुर घर्तीमगर (एमबी आस्था) अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । मञ्चको उपाध्यक्षमा राजाराम पौडेल, उपाध्यक्ष समावेशीमा उमा आलेमगर, महासचिवमा पर्शुराम शर्मा, सचिवमा राजु गिरी र कोषाध्यक्षमा विमल तिवारी रहनुभएको छ। कार्यसमितिको सदस्यहरुमा कृष्ण दवाडी, गीता राना, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पौडेल निर्वाचित हुनुभएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका नाममा विसं २०५७ मा स्थापना भएको हो । सङ्घीयतापछि गण्डकी प्रदेशका रुपमा रहेको यो संस्था विसं २०७५ मा स्वायत्त संस्थाका रुपमा विकास गरिएको हो । मञ्चले खेल पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना तथा उनीहरुको हकहित र सहयोगका क्षेत्रमा काम गर्दैआएको छ । रासस