फडिन्द्र अधिकारी
लेखनाथ, माघ १२ गते । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई हराएको छ ।
पोखरा रङ्गशालामा शनिबार बिहान भएको खेलामा एपिएफले ३–२ सेटले खेल जितेको हो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको पहिलो खेलमा पहिला दुई सेट एपिएफले गुमाएको थियो । पछि उत्कृष्ट पुनरागमन गर्दै एपिएफ ३–२ सेटले जित निकाल्न सफल भयो । पहिलो सेटमा १२–७ को एपिएफको अग्रतालाई उल्टाउँदै ट्राभल इन्क्वारीले आफ्नो पक्षमा पारेको थियो ।
इन्क्वारीले दोस्रो सेटमा २५–२० को सहज जित निकालेको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै एपिएफले जित निकाल्दा खेल पाँचौं सेटमा पुगेको हो । एपिएफले तेस्रो सेट २५–१९ र चौथो सेट २५–२० ले आफ्नो पक्षमा पारेको हो । पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै डिफेन्डिङ च्याम्पियन एपिएफले १५–७ को जित निकालेको हो ।
शनिबारको दोस्रो खेलमा महिलातर्फ टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दै छन् । दोस्रो खेलपछि प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने तय छ ।
उद्घाटन खेलपछि शनिबारको अन्तिम र तेस्रो खेल आयोजक महिला टोली र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले बताउनुभयो । प्रतियोगितामा आइतबारबाट पुरुषतर्फका खेल हुनेछन् ।