• ३ असार २०८२, मङ्गलबार

सुदूरपश्चिममा बैँक तथा वित्तीय संस्थाको कर्जा प्रवाह डेढ खर्ब

blog

अविनाश चौधरी

धनगढी, असार ३ गते । सुदूरपश्चिम प्रदेशमा बैँक तथा वित्तीय संस्थाको कर्जा प्रवाह डेढ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बैँक तथा वित्तीय संस्थाले यस प्रदेशमा एक खर्ब ५३ अर्ब रुपियाँ कर्जा प्रवाह गरेका हुन ।

प्रदेश सरकारको आर्थिक सर्वेक्षण अनुसार यही अवधिमा बैँक तथा वित्तीय संस्थाले एक खर्ब ४५ अर्ब रुपियाँ निक्षेप गरेका छन् । 

प्रदेशमा बैँक तथा वित्तीय संस्थाको सङ्ख्या ८४९ पुगेको छ । अघिल्लो आर्थिक वर्षसम्म बैँक तथा वित्तीय सङ्ख्या ८४८ रहेको थियो । यसै गरी बिमा कम्पनीको सङ्ख्या २७० पुगेको आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले जानकारी दिनुभयो । 

सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन सामान्य बढेको हो । 

आर्थिक वर्ष २०८०÷८१ मा यस वर्षको कुल गार्हस्थ्य उत्पादन चार खर्ब छ अर्ब ७५ करोड रुपियाँ रहेको थियो । चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन चार खर्ब २९ अर्ब ६२ करोड पुगेर सामान्य वृद्धि भएको छ । 

प्रदेशको चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनको ७.०३ प्रतिशत रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा भएको यो वृद्धि सकारात्मक रहेको जनाइएको छ ।