काठमाडौँ, असार ३ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बिहान ८:३० बजे बस्दैछ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनमा शोक प्रस्ताव गर्न सो बैठक बस्न लागेको हो ।
उहाँले भन्नुभयो, “हाम्रो पार्टीको वरिष्ठ नेता र केन्द्रीय सदस्यहरु बित्दाखेरी पार्टीको आकस्मिक बैठक बसेर शोक प्रस्ताव गर्ने र ७७ जिल्लाको पार्टीको झण्डा तीन दिन आधा झुकाउने चलन छ ।”
उहाँले सो दिन अरु कुनै एजेन्डामा छलफल नहुने जानकारी दिनुभयो । असार ४ गते वरिष्ठ नेता स्वर्गीय शास्त्रीको दाहसंस्कार हुने र यसको भोलिपल्ट कार्यालय बन्द गरिने उहाँको भनाइ छ ।
नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको असार २ गते सोमबार बिहान उपचारका क्रममा ९० वर्षको उमेरमा निधन भएको थियो ।
उहाँको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारको क्रममा निधन भएको थियो ।
शास्त्री २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बन्नुभएको थियो । उहाँ अर्घाखाँचीबाट २०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
यसैगरी, समाजवादी चिन्तकको रूपमा परिचित शास्त्री नेपाली कांग्रेसको सदस्य, अर्घाखाँची कांग्रेसको जिल्ला सभापतिसमेत हुनुभएको थियो ।