पर्दा लागेपछि छोपिन्छ कोठा बाहिरको एउटा सानो संसार । म पर्दा घ्यारर्र तान्छु । पर्दाको रिङ डन्डीमा घर्षण भएर एउटा मिठो ध्वनि जन्मन्छ र त्यही ध्वनिसँगै एउटा सानो संसार आँखै सामुन्ने उदाउँछ । म कोठाभित्रै रहेर कोठाबाहिरको सानो संसार चिहाउँछु । झ्यालको चौकोस, चौकोसमा रहेको तीन पल्लाहरू र पल्लाहरूबाट छर्लङ्ग भएको एउटा सुन्दर संसार । अहो ! म पुलकित हुन्छु ।
झ्यालबाट देखिन्छ– आफैँले हुर्काएको एउटा कलिलो कल्की फूलको बोट, जहाँ मस्तसँग जवानी फूलहरू झुलेका छन् । सँगै छ एउटा करेसाबारी, जहाँ रमाएका छन् आफ्नै मेहनतले रोपेका सागसब्जी । छेवैमा छ मदमस्त फव्रिmएको एक बोट गुलाबी हेबिस्कस र कम्पाउन्डबाहिर छ निलो कर्कट पाताले छाएको एकनाले घर अनि दुई झ्यालहरू ।
यत्ति हो, पर्दा घरर्र पारिँदा देखिने उत्तर दिशातर्फको मेरो एउटा सानो संसार । मेरो कोठाको पूर्वतर्फ पनि झ्याल छ, उही तीन पल्लाहरूको । पर्दालाई घरर्र पारे देखिन्छन् पुस माघमा घाम ताप्न सुतिरहेको वृद्ध झँै एउटा बुढो सडक । केश झर्दै गएको एक अधबैँसेको टाउको झैँ पातलो बजार । बिफरले बिगारेको अनुहार झैँ कुरूप घरहरू । अनायमसै थिचिएका पियानोका बेसुरा रागमा निस्किएका ध्वनि झैँ गाडी र बाइकका उदेकलाग्दा कर्कश आवाज । नियाले देखिन्छन् पूर्वी झ्यालबाट मान्छेका हतारो र चटारोहरू । यही हतारो र चटारोलाई गौण गरी हेरे देखिन्छन् दही मथ्न तानिएको झैँ घार्र र घुर्र । हरे, कति सङ्घर्ष गरिरहेका छन् आजका मान्छहरूले बाँच्न र खिइँदै लगिरहेका छन् आफूसँगै पुर्खाको विशाल विरासत । तसर्थ म खोल्दिनँ पूर्वतिरको पर्दा । त्यो सधैँ टम्म नै हुन्छ र त्यहाँबाट हेर्दिनँ बाहिरी संसार ।
शोभा भन्छिन्, “पर्दा नखोल्नु है ? धुलो पूरै
आउँछ कोठामा ।”
म पूर्वस्मृतिमा छप्ल्याङ्ग हुन्छु ।
यहाँ जग्गा किन्नुभन्दा पहिले मैले नै भनेको थिएँ– “अलि तरेली पाखो लिऔँ न बुढी । तरेली पाखो लिइए यही पैसाले अझै बढी जग्गा आउँछ । सडकका अनेक धुलो, धुवाँ र गाडीका कर्कश आवाज केहीले पनि सताउँदैनन् ।”
“भूत’ले माने पो ।”
रिसाएको बेलामा म मेरी शोभालाई भूत भन्ने गर्छु तर मनमनै । बोक्सी परम्परा लगभग हटिसकेको वर्तमान अवस्थामा मैले आफ्नी अर्धाङ्गिनीलाई भूत भनेँ भने सर्वप्रथम त शोभा नै के भन्ली वा सोच्ली । अनि कान भएका भित्ताहरूको मुखले के भन्लान् । तसर्थ मनभित्रको शब्द मनभित्रै गुम्साउँछु म सधैँ ।
शोभाले भनेकी थिई, “म मान्छेहरू नहेरी बाँच्न सक्दिनँ । तरेली पाखा किनेर के कुटी बनाउने हो र ? अनि जीवनदेखि भागेर निधारमा खरानी घस्दै अलख निरञ्जन जगाउने हो र ?” जीवन भन्नु सहमतीको इन्धनले चल्ने गाडी त रहेछ नि । तसर्थ मैले गोङ्गबु माथिको डाँडा रोजेँ । शोभाले त्यही डाँडालाई चिर्दै हिँड्ने सडकछेउ रोजी । त्यसपछि हामी चव्रmपथभित्रको सहरबाट सोह्र वर्षअघि मनमैजुको यो नाकको डाँडी जस्तो डाँडामा आई बस्यौ ।
वास्तवमा यो सोह्र वर्ष सोह्रै दिन जस्तो हुँदोरहेछ बस्ती बदलिनका लागि । जब बाजको आँखासरी भूमाफियाहरूले बस्तीमा आँखा गाड्छन् तब एउटा शान्त र निश्चल गाउँ मरेर जन्मदोरहेछ कोलाहालमा ।
फुटुङको मचागाःलदेखि शिरीषको बोटसम्मको यही एकबित्ते खुलालटार बस्तीकै बारेमा कोही मलाई बताओस्–
कहाँ हराए ती दक्षिणमुखे टायल घरहरू ?
कसले काटे बकैना, उत्तिस र शिरीषका बोटहरू ?
कसले भत्काए प्यास मेट्ने पाखाधारा र घोर्नेनी
कुवा ? कसरी भत्कियो गठे परियारको त्यो ढिस्को ?
बस्तीबाट कसले खेदे होलान् रङ्गीचङ्गी चराका हजार सपनाहरूलाई ? अनि पुसमाघमा कसले किनिदियो होला स्याललाई ब्याङ्केट ?
यहीँ कतै सुतिरहेको मकैबारी र टाइचिने फाँट खै ?
खै, नीलकाँडा र बाँसका झ्याङहरू ?
कसले हुल्यो गोठमा बाइक र गाडी ?
कसरी बदलियो होला हातभरिको त्यो डकर्मी सिप दलालीको मुखमा ? प्याङ्गको बजी (बाँसबाट बनाइएको भाँडामा राखिएको चिउरा) र कितलीको थोँ (जाँड) कसरी रूपान्तरण भए चाउचाउ र कोकहरूमा ?
म सबै सम्झेर हैरान हुन्छु । हैरान हुन् बितेका आफ्नै विगत र एक धर्सो समाज सम्झिँदा काफी हुदोरहेछ ।
शोभा भन्छे, “किन टोलाएको ?”
म झसङ्ग हुन्छु र टकटकिन्छु । मेरो विगत सर्लक्क झर्छ मबाट ।
ऊ मेरो सदाबहार फूलबुट्टे कपमा मनतातो पानी ल्याइदिन्छे । समात्छु । ऊ उसकै नदेखिने गृहणी काममा अल्झिन्छे । म पनि अल्झिन्छु झ्याल बाहिरको झ्यालतर्फ । यही त फरक छ हामी नारीपुरुषको जिन्दगीमा, उनीहरू घरभित्रकै कामको दबाबमा अल्झिन्छन्, हामी पुरुषहरू मनभित्रको प्रभावमा बल्झन्छौँ ।
म मनतातो पानी एक घुट्को सुरुप्प पार्छु र हेर्छु । उत्तरतर्फी पर्दाअघि नै घ्यारर्र पारिसकिएको थिएँ । म मात्र आँखा पोखिदिन्छु बाहिर । मेरा आँखा त्यही निलो जस्ताले छाएको एकनाले घरको झ्यालमा गएर पोखिन्छ । पोखिएको आँखामाथि तर झैँ तैरन्छ मेरो मन । लटक्क ।
दुई तीन पटक पुनर्निर्माण भइसक्यो यो एकनाले घर । जस्ताले छाएकाले सबैले यसलाई टहरा भन्छन् तर जति नै पटक पुनर्निर्माण गरिए पनि यो एकनाले घरटहराले आफ्नो रूप र हैसिएत परिवर्तन गरेन । पिल्लर नगाडिएको उही प्लास्टरविहीनता, उही चार इन्चको गाह्रो र उही धोती सुकाए झैँ एक धरो । अझ विशेष कुरो त सडकमा कुनै ठुला गाडी गुड्दा यो घर झाँव्रmी भई एक निमेष थररर पनि काम्छ ।
सायद घरबेटीहरू यहाँ नबस्नु नै यो घरको रूप र स्वरूप नबदलिनु हो कि ? तर घरको रूप र स्वरूप नबदलिए पनि घरभाडामा बस्नेहरू भने बदलिरहन्छन् ।
घरमा दुई झ्यालहरू छन् । याने, दुई कोठाहरू छन् र दुई कोठाहरूमा प्रायः दुई परिवार रहन्छन् । परिवारहरू काठमाडौँमा बस्नकै लागि सङ्र्घष गरिरहन्छन् झैँ भान हुने या भनाँै निम्न मध्यम परिवार । ज्याला मजदुरी वा सामान्य यस्तै उस्तै । जब निलो टहरामा बस्ने परिवारको आर्थिक अवस्थामा हल्का सुधार आउँछ, तब उनीहरूले यो टहरो सधैँका लागि परित्याग गरी पक्की घरमा सर्छन् । कोही भाडा नै तिर्न नसकेको कारणले पनि घरबेटीबाट गलहत्ताइन्छन् । कोही अझ यहाँभन्दा पनि उत्तरी भेग सर्छन्, जहाँ अझै सस्ता कोठाहरू मिल्ने आसमा । यसरी यो सोह्र वर्षमा कति परिवार यो टहरामा बसे र कति परिवार सरे, न मसँग कुनै हेक्का छ न त कुनै चासो नै । कहिलेकाहीँ त लाग्छ– यो टहरो यात्रुवाहक बस हो र यहाँ भाडामा बस्नेहरू यात्री । हरेक यात्री आफ्नो स्टेसनमा आफ्नै खुसीमा चढ्छन् र उत्रन्छन् । यात्रीहरूको लेखा राखेर कसले सक्छ र !?
...तर एउटा यात्रीका बारेमा मैले हेक्का राखेको छु, आफ्नै मनको वासलातमा ।
अब सुनाउँछु–
सविस्तार ।
अरूले झैँ चारपाईलाई टुव्रmा टुव्रmा पारेर त्यसकै केही टुव्रmाहरू हातमा बोकी ऊ यही एकनाले घरमा गृहप्रवेश गरी, कुनै दिन । मैले आफ्नै झ्यालको पर्दा घ्यारर्र पार्दा अकस्मात् देखेको । टक्क अडेर हेरेँ उसलाई । एउटा रातो प्लास्टिकको बाटा टाउकामा घोप्ट्याएर ओढेकी थिई, मानौँ सिपाहीले ह्याट ओडे जसरी । एउटी कलिली छोरी ऊसँग छेवैमा थिई, मानौँ फूलको बोटको कोपिला जस्तै । उसका केही साथी हातभरि केही न केही सामान बोकेर लस्करै आइरकेका थिए, मानौँ कतै वनभोज खान हिँडे जस्तै । यहाँ जस्तै जस्तै कति छन् कति । मेरो झ्यालबाट देखिएको उसको पहिलो छायाछवि नै यही हो । मैले मेरो आँखाको क्यामराले खिचिक्क खिचिक्क ! खिचेँ । जब उनीहरू कोठाभित्र छिरे मेरो क्यामराबाट दृश्यहरू हराए । उनीहरू कोठाभित्र कोठा मिलाउन थाले सायद । पर्दा नहालिएको त्यो झ्यालमा उनीहरू फाट्ट फुट्ट चलमलाए । यता भने मेरो मनको पर्दामा दृश्यहरू झ्यार झ्यार गरिरहे । अब कुन एन्टिना चलाऊँ म ? बच्चा उमेरमा यसरी एन्टिना हल्लाएर टेलिभिजनमा कार्यव्रmम हेरेको आज आँखै अगाडि नाच्यो । दृश्यहरू सफा देखिन, अब कुन रिमोटको कुन बटम थिचौँ ? म सोचमग्न हुन्छु । किनकि हरेक मान्छेका मनभित्रका पर्दाहरूमा पात्र र परिवेशहरू चलायमान बनाउनका लागि मनभित्रका अनेक एन्टिना र रिमोटहरूमा बग्रेल्ती बटम हुन्छन्, हैन र ?
भोलिपल्ट घामसँगै ऊ उदाई । उसकै झ्यालबाट क्लासिक भजनहरू बज्न थाले । म उही उत्तरी झ्यालको पर्दा घार्ररर पार्छु र हेर्छु बाहिर । झ्याल बाहिर अर्को झ्याल छ । त्यही झ्यालबाट आइरहेका छन् भजनका क्लासिक ध्वनि । म कान ठढ्याउँछु । आँखा च्यात्छु । मन उठाउँछु पल्लो झ्यालबाहिरको झ्यालमा ।
ऊ बिहानीको कलिलो किरणसँगै निस्केकी छे झ्याल बाहिर । हातमा छ अम्रिसोको कुचो । लगाएकी छे मधुर गुलाबी कुर्था । टाँसेकी छे सेतो रङको चुरिदार सुरुवाल टमक्क । कपाल बाटेकी छे, स्कुले केटीले झैँ दुई चुल्ठी र झारेकी छे अग्रभागमा । पातली । खिरिली जिउ । अनि अर्धचन्द्रकार आकृतिमा बढारिरहेकी छे बरन्डा । म हेर्छु उनीलाई एकटकले । आहा, कस्ती राम्री ! द्वितीयाको जून भुल्किएको छ एकाबिहानै । म हेरेको हे¥यै छु ।
म आफ्नै आँखाहरूलाई सोध्छ्ु– “ओई, तिमीहरूलाई के भइरहेको छ, हँ ?”
फेरि सोध्छु मेरै मनलाई– “ठिक् त छस् ?”
नयनहरू अर्धमुदित भएर मलाई नै चुपचाप हेरिरहन्छन् । छु, म पनि चुपचाप, जसरी गुम्बाहरूमा छन् अमिताभ बुध्दका शान्त मूर्तिहरू । अब अमिताभका शान्त मूर्तिहरूका अर्धमुदित नयनहरूबाट उत्तरको के आशा गरौँ । बरु फ्याकिदिएँ दुई चोर आँखाहरू झ्यालबाहिरको झ्यालमा– त्यहाँ द्वितीयाको एक धर्सो जून अघिदेखि चलमलाइरहेकी थिई ।
म हेर्छु– मेरै मनलाई । उन्मादको एक भारी बोकेर बसेको छ मेरो मन मसँगै । भारीभित्र छन् अचेतन र अर्धचेतन । कताबाट पढूँ यसलाई ? छटपट भो । छेवैको बुककेस गएँ र निकाले सिग्मन्ड फ्रायडका साइकोलोजी अफ एभ्रिडे लाइफ । पढ्न बसेँ झ्यालसँगै । पल्टाएँ पानाहरू । पानाभरि छन् गुलाबी कुर्था, सेतो चुरिदार सुरुवाल, अम्रिसोको कुचो, बरन्डा र उही एक घर्सो द्वितीयाको जून ।
फ्रायड बुढाले के लेखे यस्तो ?! छक्क पर्नु छ । परेँ । हाँसिदिनु छ । हाँसिदिन्छु फिस्स ।
मन न हो छट्पटिन्छ फेरि । चित्त बुझ्दैन । पुग्छु पुनः कोठाको पल्लो छेउ । पिल्लरलाई छोपेर राखिएको छ एक सानो बुककेस । त्यहीँबाट निकाल्छु–
श्रीमद्भगवद्गीता ।
पढेँ । अथ द्वितीयोध्यायः
श्रीभगवानुवाच–
प्रसादे सर्व दुःखानाँ, हानिरस्योपजायते ।
प्रसन्नचेतासो ह्याशु, बुध्दिः पर्यवतिष्ठते ।। ६५।।
अब खोज्छु मनलाई यहीबाट । कृष्णभावनामा भवित भएपछि नै मनको शान्ति पाइन्छ । यतिखेर मेरो मनको कृष्ण त्यही गुलाबी कुर्थाभित्र लुटुपुटिएको छ त म के गरूँ । म यसमै प्रसन्नचित्त छु । हे भगवन् ।
म आफ्नो झ्यालबाट हेर्छु झ्यालबाहिरको झ्यालमा । उनी कतै हराएकी छे । कस्तो खल्लो खल्लो छ समय ।
समय खल्लो भएपछि हातको चिया पनि खल्लो हुँदोरहेछ । चलाइरहेको मोबाइलका सामाजिक सञ्जालहरूमा पनि कोही साथीहरू नभेटिँदारहेछन् । आफैँले सजाएको कोठो पनि भद्रगोल हुँदोरहेछ । सडकबाट केवल गाडीका ट्याँ ट्याँ र टुँ टुँ मात्र आइरहदारहेछन् । पिसलिलीमा फुल्दैनन् सेता फूलहरू । मुर्झाउँदोरहेछन् स्नेक प्लान्टहरू । लक्की बेम्बोमा टुसाएका लक्कीहरू कता हराए ?
एक दिन मैले शोभालाई थाहा नपाए झैँ गरी सोधेँ– “बुढी, आजकाल त्यो टहरामा कस्ता मान्छेहरू बसेका छन्, हँ ?”
बुढीले भनी, “एउटा कोठामा आमा र छोरी बसेका छन् । अर्को कोठा खाली छ ।”
“असलै मान्छे छन् कि कसो ? बिहानै सुमधुर भजनहरू बजाउँछिन् त ?” मैले थप अनभिज्ञता दर्साएँ ।
शोभाले सविस्तार बताई, “गोर्खाकी रहिछे । एउटा प्राइभेट स्कुलमा काम गर्ने रे । छोरीलाई पनि त्यहीँ एक कक्षामा पढाउँछे रे । सफा सुग्घरमा एक नम्बर । बुढा मलेसिया गएको र उतै अर्कैसँग घरजममा मस्त छ रे । नाम चाहिँ भूधरा हो रे ।”
शोभाले चामलको बोराको धागो उधारे झैँ ख्यारर्र एकै स्वासमा बोली । “कस्तो राम्रो नाम !” मैले मनमनै बोलेँ ।
तर आवाज निकालेँ, “दाउरी त म्युजिक लवर हो कि, कसो ?” “मलाई पनि त्यस्तै लाग्छ । आधुनिक, लोक, पप, फिल्मी र भजन जे बजाए पनि पूरै मेलोडिएस सङ्स्हरू मात्र बजाउँछे ।” शोभा फुस्फुसाई ।
मैले यही मौकामा प्वाक्क बोलेछु, “मोरीको जिउ र नाम कस्तो राम्रो, हई ?”
पुनः थपेँ, “यस्ती सफा सुग्घर र सुशील नारीलाई त कोठा खाली भएको बेला मौका छोपेर आफ्नै घरमा राख्न पाए हुने ।” मैले आफ्नै मनको लड्डुलाई माघे घिउसँग क्वाप्प मुखमा हालेँ । “ल ल भो, रूप र नामतिर सवारी नहोस् महोदय । अनि नजाने गाउँको चासो नलिनू ।” बुढीले मेरो गालामा प्याट्ट हिर्काएर आँखा तर्दै किचनतिर लर्किई ।
ओहो ! यो पुरुष मनले पनि के के सोच्छ सोच्छ, बाबै !! अनि नारी मन चाहिँ बिनाफ्वाकमा अनेक शङ्का गर्ने । कतै शङ्कै शङ्कामा लङ्का जले । यसरी वर्षौंदेखि बनिबनाउ गरिएको सुन्दर परिवार त चकनाचुर पो हुने रहेछ । म कल्पनामा नै कहालिन्छु ।
मैले आफैँले आफैँलाई सहानुभूति दिएँ । श्रावणको भेल झैँ मेरो फोहोरी मन एक निमेषमै शरदीय नदी झैँ शान्त र सौम्य भयो ।
दिन छ शनिबारको ।
आज पनि म झ्यालकै छेउमा छु ।
झ्यालबाहिरको झ्यालबाट गुिञ्जरहेका छन् सुमधुर फिल्मी गीतहरू–
“शनिबारको दिन
बिहानी पख
देखेँ मैले एउटी सुन्दरीलाई
त्यो रूपकी रानीले मोहनी लगाई मलाई...’
यो गीत त मैले पहिले पनि धेरै चोटि सुनेको थिएँ । राम्रो त लाग्थ्यो तर यसरी हलचल भएको थिइनँ । आज भने गीत सुनेर पूरै हलचल भएँ । भूकम्प जान भूगर्वभित्रका चट्टानहरू सर्नै नपर्ने रहेछन् । एउटा सानो मन चल्मलाए पुग्दो रहेछ ।
म जुरुक्क सोफाबाट उढ्छु । पर्दाले झ्यालका सिसाहरू पोस्छु । फेरि थचक्क बस्छु । भित्तामा झुन्डाइएको ऐनामा आँखा पोखिदिन्छु । टिसर्टको कलर हल्का दोब्रिएको रहेछ । मिलाउँछु । कपको तातो पानी सुरुप्प सुक्र्याउँछु । झ्यालबाट बाहिरी झ्याल हेर्छु । र, पुनः निरश हुन्छु ।
गीतहरू बजिरहेकै छन् । तर अझै बरन्डामा कतै नायिका चलमलाउँदिनन् ।
आँखा तान्छु आफ्नै । घडी हेर्छु आफ्नै । दिनको ठिक १२ बजेको छ आफ्नै । कस्तो भूतले खाजा खाने समय जो चलेको छ ।
“विचरी भातेनिद्रामा परी होला ।” म अनुमान लगाउँछु र आफैँ मनलाई ढाडस दिन्छु । मन न हो मानिदिन्छ ।
तर आफ्नै आँखा मान्दैन । ऊ केही खोजिरहन्छ झ्यालबाहिरको झ्यालतिर । दाउरी उर्फ भूधरा देखिन्छे कि भन्ने विकल आशमा छु तर अहँ कतै देखिन्नन् । फेरि मन बुझाउँछु, महिलाको शरीर न हो, छ नै दिन खटिन्छे बिचरी । थाकी र आराममा पल्टिहोली ।
आज म पूरै व्यग्रतामा छु ÷छटपटीमा छुु । आँखा कोठामा थिर छैन । हुत्तिरहन्छ झ्यालबाहिरको झ्यालतर्फ ।
देखिन्छ– झ्यालबाहिर रित्तो बरन्डा । देखिँदैन मेरो मनको भरिपूर्ण नायिका– भूधरा ।
नियाल्छु फेरि, झ्यालबाहिरको झ्याल । त्यहाँ झ्यालबाट बरन्डाको पूर्वी कुनाको फलामे पोलसम्म टाँगिएको छ एउटा नाइलनको डोरी । त्यही डोरीमा सुकाइएका छन् केही कपडाहरू । मैले यसरी आफ्नै कौसीमा सुकाइएका आफ्नै कपडाहरूमा पनि आँखा गाडेको थिइनँ । आज के भइरहेको छ मलाई ? केही त भएकै छ । म गन्छु कपडाहरू जो झ्यालबाहिरको झ्याल वरपर टाँगिएका छन् ।
गन्छु व्रmमशः
१,२,३,४ पूरै ९ छन् ९ ।
मिलाइएर सुकाइएका छन् कपडाहरू ।
पहिला छोरीको– कफी रङ्गको स्कुले फ्रक, सेतो सर्ट, कफी रङ्गकै टाई, एक जोर सेतो मोजा त्यसपछि छन् भूधराका वस्त्रहरू– व्रmमशः गुलाबी कुर्था, सेतो सुरुवाल, सेतै सल, खरानी रङ्गको बुटिस र गुलाबी पेन्टी ।
म झनननन्न हुन्छु गुलाबी पेन्टीमा । आँखाहरू एकटकले त्यही च्याप्पिइरहन्छन् । इलास्टिक हल्का लुज हो कि ? कम्मर त छिनेको छ त । उत्ताउलो मन उत्ताउलिन्छ । पूरै आफैँले नापे झैँ सोच्छु । एक क्षण एक टकले हेरिरहन्छु । हावाको सानो झोक्कामा हल्का फरफराउँछन् सुकाइएका कपडाहरू तर मेरा दुई चोर आँखाहरू गुलाबी पेन्टीमा मात्र पुगिरहन्छ । गुलाबी पेन्टी हावाको झोक्कामा उत्तर र दक्षिण हल्लिरहन्छ, सुस्तरी ।
धत् । यो मन ।
छ्या ! मेरो पुरुष मस्तिष्क ।
म गाली गर्छु आफैँलाई । बुढी एकटकले कोटीहोमको वाचन हेरिरहेकी छिन् टिभीमा । भारतीय भूभागमा सुप्रख्यात भएकी नेपालीमूलकी चेली श्रीमद्भगवद्गीताको सुप्रसिद्ध कथावाचिका देवी प्रतिभा भनिरहेकी छिन्, “प्रेमले बोलो ना ... राधे ! राधे !!’
मनै त हो, पुरुषको मन पुनः बतासिन्छ ।
म मनमनै प्रेमले बोल्छु, “भूधरा ! भूधरा !!’
फेरि आज पनि बिहानै उदाएको छ निरस घाम जगाडोलबाट । न कुनै रङ्ग, न कुनै गति । कपन गुम्बा हुँदै नारायणथान पाखातिर काला बादलहरू मडारिएका पनि छन् । हेर्छु नागार्जुन र मुड्खु पाखो । कतै पनि बिहानीको सुमधुर लाली छैन । स्वयम्भूको थुम्कोलाई बादलले छोपिदिएको छ । झोरको पाखोभरि मडारिएका छन् हुस्सुका हुलहरू । त्यही हुलले पुरिएको छ गुर्जेभञ्जाङ्ग । यता सधँै बिहानै देखिने मलेवाहरू आज कता छन् पत्तो छैन् । शोभा जुम्बातर्फ नहिँडेर पेट थिच्दै पल्टिरहेकी छे । म पनि यतिखेरसम्म त तातोपानी पिई ब्याटमिन्टन खेल्न हिडिसक्थ्येँ तर आज दिन नै उल्टो छ कि कसो ? केही चलाएमान नै छैनन् ।
बुढो कौवा टहराको सुरमा बसेर करायो– काग !
काग !! अहिले कागले कराउँदा कसले “शुभ शुभ बोल” भन्ने ? म चुपचाप झ्यालबाहिरको झ्यालबाट आउने मधुर सङ्गीतका धुन खोज्छु । आज किन घन्किएन– “एक दिन मैले प्रभुलाई सोधेँ ...” भजन ?
कता निदाए भक्तराजहरू ??
बरु आयो झ्यालबाट ट्याक् ट्याक् र टुक् टुक्का आवाज । आए रोक्की रोक्की रित्ता भाँडाहरूको
बेसुरा आवाजहरू ।
बिहानको ५ बज्यो । ६ बज्यो । व्रmमशः ७ र ८ पनि बज्यो । म झ्याबाट बाहिरको झ्याल हेरिरहेकै छु ।
सधैँ उदाउने द्वितीयाको जून आज यति बेलासम्म उदाएको छैन । समाचारहरूले देशैभरिका बाढी पैह्रोको समाचार सबैलाई सुनाइसक्यो । राजनीतिका अनेक दाउपेचहरू आआफ्ना स्वार्थ अनुसार बजिसके । नेप्सेको साँढेले हिँडेको उकाली र ओरालीको चर्चा परिचर्चा चलिसक्यो । विदेशका खबरहरू चियाकपमा छिरिसक्यो तर मेरो मनमा बगेको पहिरोको समाचार न भूधरालाई थाहा छ न शोभालाई । कसरी सुनाम यो समाचार । म छटपटीले हैरान छु । ९ बजे झ्यालबाहिरको झ्याल खुल्यो । सँगैको टिनको ढोका खुल्यो । र, खुल्यो भूधराको अनुहार ।
मैले मेरै झ्यालका पल्लाको सिसाबाट हेरेँ भूधरालाई । थाकेको उसको अनुहारमा केही खुसीहरू सल्बलाएको प्रस्ट देखिन्थ्यो । ऊ भित्र÷बाहिर गरिरही । केही खोजेकी पक्कै छे उसले । कसैलाई मोबाइल कल गर्छे । उठ्दैन । हैरान हुन्छे । भित्र छिर्छे । फेरि बाहिर निस्कन्छे ।
म मेरै झ्यालबाट भूधरालाई हेरी हैरान भएको छु ।
“हैन यो दाउरी के खोजिरहेकी छे ?” म प्रश्न कस्छु आफैँलाई तर उत्तर भए पो । फेरि रन्थनिन्छु र मनको बेचैनी र कौतुहलसहित एकटकले हेरिरहन्छु भूधराको गतिविधि ।
एकमन त लाग्छ, गएर सोधौँ, “के समस्या प¥यो, भूधरा ?” अर्को मन भन्छ, “कहिल्यै नबोलेको महिलासँग बिहानै कसरी बोल्छस्, दीप ?”
मेरो मनले केही गर्ने आँट दिएन । तसर्थ चुपचाप हेरिरहेँ झ्यालबाहिरको झ्याल ।
हेर्दा हेर्दै दुई जना नयाँ मानिस आए । भूधराको कोठाभित्र छिरे र निस्किँदा भूधराले रातो प्लास्टिकको बाटालाई ह्याट झैँ लगाएकी थिई । कसैले चारपाइका खुट्टाहरू बोके । कसैले डस्ना र भाँडाकुँडा बोके । कसैले भरिएका जेब्राझोला बोके र मेरै घरको सामुन्ने गल्लीबाट लावा लस्कर लगाएर भित्र छिरे ।
आबुई ! आफ्नै मलामी हिडे झैँ बीभत्स दृश्य । बाबियोको डोरीले तनक्क कसेको मुर्दा बनेको छ मेरो मन । चेतनाशून्य ।
“अरे ! भूधराले कोठा सरिछे ।” मैले अनायास बोलेँ ।
“अनि के भो त ?” शोभाले मलाई हाँस्दै सोधी ।
“बिहानै मधूरतम भजन सुनाउँथी ।” थपेँ, “कता सरिछे, दाउरी दुई महिनै नटिकी ?”
“पन्तको घरमा ।” शोभाले सहजै भनी ।
“मोरा पन्त । सुगरले मज्जासँग गालिसक्यो तर पनि कोठाभाडामा भने राम्री युवतीहरूलाई छानी छानी राख्छ । चुम्बकको ठुलो डल्लोले ससाना किलाहरू ताने झैँ किन अरूको घरमा बसिरहेकी आइमाईलाई आफ्नै घरमा तानिरहन्छ ? असत्ती ! यस्ताको त प्यारालाइसिस् भएर एक हर नै नचल्नु नि । कुनै दिन मोरालाई बात लगाएर पुलिसथानामा लगेको देख्नुपर्ने भइसक्यो ।”म आफ्नै तालमा बर्बराउँछु ।
“हैन, के भयो हजुरलाई ? किन बर्बराएको ?” शोभाले मेरो मनस्थितिलाई नियाल्दै बोली । “हैन, दुई महिनै नटिकी किन सरिछे भूधराले कोठा ?” मैले मेरो चासोलाई ह्वात्तै बाहिर पोखेँ । “पन्तका बुढाबुढीको खासै मिल्ती छैन रे । पन्तीनीलाई साथी हुन्छ भनेर लगेकी रे । अनि कोठाभाडा पनि तिर्न नपर्ने भनेपछि, को बसिरहन्छ यो नाथे टहरोमा ।” शोभाले फर्सीको मुन्टा केलाउँदै भनी । “बढो नक्कले छ त्यो मोरो पन्त । पछि केही तलमाथि भयो भने टोलै गन्हाउँछ ।” मैले आफ्नो हीनग्रन्थी पोखेँ ।
“भो नकुरा गरौँ । हजुर पनि कम्ताको नक्कले त हुनुहुन्न, भो ।” शोभाले मलाई फर्सीको मुन्टाले गालामा झटारो हान्दै भनी । म जुरुक्क उठेँ र पूर्णकदको ऐना सामुन्ने आफूलाई ठिङ्ग उभ्याएँ ।
ऐना भन्दै थियो, “एउटा नक्कले, करिब दुई महिनामा नै खर्लप्पै गलेछ । यो सब भूधराकै राप र तापले हो ।”
मैले दुई चोर आँखाहरूले झ्यालबाहिरको झ्याललाई पुलुक्क नियाँले । त्यहाँ अब भूधरा त थिइन तर भूधराको राप र तापको भुङ्ग्रो भने अझै बाँकी नै थियो । थाहा छैन यो भुङ्ग्रोले मलाई अझै कति गलाउने हो ? हरे ! मधुपर्क