हुरहुर आगो बलिहरेछ । वारुणयन्त्रका कर्मचारीहरू आगो निभाउन उद्यत देखिन्छन् । प्रहरीको भ्यान पनि आइसकेको छ । सबै जनाको दौडादौड छ । म निर्निमेष यो दृश्यलाई रमाइलो मानेर हेरिरहेकी छु । मेरो आँखा अगाडि विगत चलचित्रका दृश्य झैँ नाचिरहेछन् ।
मेरो जीवनमा घटेको घटनापछि आधिकारिक रूपमै आजदेखि तिम्रो र मेरो बाटो छुट्टियो भनेर मैले बेलैमा तिमीलाई भन्न सकिनँ । तिम्रो र मेरो यात्रा यो मोडमा आइपुगेर यसरी टुङ्गिएला भन्ने मलाई लागेकै थिएन भनेर पनि मैले अभिव्यक्त गर्न सकिनँ । कसरी तिमीले ममाथि त्यस्तो अकल्पनीय मात्र नभएर अत्यन्त निन्दनीय व्यवहार गर्न सक्यौ ? म स्तब्ध छु । सत्यलाई सत्य स्वीकार गर्न मेरै मन तयार छैन तर मैले आँखा चिम्लिँदैमा त्यो सत्य असत्य किन हुन्थ्यो र ? त्यसैले मन धुम्मिएको आकास झैँ भएको छ । मन थाकेको छ । मन व्यथाले पाकेको छ । मेरो पीडा, मेरोे उद्वेलित मानसिकता र मनस्थितिको त तिमीले अनुमान मात्र पनि गर्न सक्दैनौँ । बगरेलाई खसीको पीडा के थाहा र ? किनकि तिमीले आफूलाई जत्ति चिन्छौ नि तिमीलाई म त्योभन्दा अलि बढी नै चिन्छु । तिमी एक नम्बरको काँतर मान्छे हौ भनेर मैले धेरै पटक तिम्रै अगाडि भनेकी छु । अँधेरी रातमा तिमीलाई पिसाप फेर्न जान पनि साथी चाहिन्छ । तिमी त ओछ्यानको बाघ र सोचको ब्वाँसो हौ । यही कुरा मैले हाम्रो बिहे हुनुअगाडि चाल पाउन सकिनँ, बिहे भएको थुप्रै दिन र महिनापछि पनि चाल पाउन सकिनँ । समयमै तिमीलाई चिन्न नसक्नु नै मेरो जीवनको सबैभन्दा ठुलो दुःखान्त घटना बन्यो ग्रिसेली नाटकको दुःखान्त अन्त्य झैँ ।
मेरा बाले हाम्रो जात मिल्दैन, हैसियत मिल्दैन भनेर मलाई सयौँ पटक नभनेका हैनन् तर तिम्रो मायाको सप्तकोशीमा डुबेको बेलामा मलाई बाको अर्तीले होसको ओभानोमा ल्याउँनै सकेन । तिमीसँग बिहे गरेर तिम्रो अँगालोमा बेरिनँ पाए म जस्तोसुकै मूल्य चुकाउन तयार थिएँ । म तिम्रो हरेक खेलको पहिलो दर्शक थिएँ, पहिलो समर्थक थिएँ । भकुन्डोको पछि हावाको वेगमा तिम्रो कुदाइको त्यो मोहक दृश्य मलाई प्राणभन्दा प्यारो थियो । त्यसैले त खेलको ‘ख’ पनि मन नपर्ने म तिम्रो कुनै खेल हेर्न छुटाउँदिनँ थिएँ । मेरो मनोभाव तिमीले राम्रै बुझेका थियौ । तिमीले भन्छौ भने म वेगका साथ बगिरहेको गण्डकीमा हामफाल्न तयार थिएँ तर तिमी तत्काल बिहेका लागि तयार थिएनौ र बिहे अगाडि नै म श्रीमती बन्न तयार थिइनँ ।
बिहेका लागि तिमीले समय मागेपछि मैले समय दिएँ । बुवाकै करबलले म पनि बैङ्कमा जागिरे भएँ तर मेरो हरदम चासो, चिन्ता र ध्यान तिमी अर्थात् सक्षममै थियो । भेटभा तिमी पनि माया, प्रेम, प्यार सबै देखाउँथ्यौ तर अहिले पो म आफैँलाई प्रश्न गर्छु– के तिम्रो मनमा पनि मेरा लागि चोखो पे्रम थियो त ?
बुवा रणजङ्ग शाहलाई थाहा पत्तो नै नदिई सक्षम र मैले गन्धर्व विवाह ग¥यौँ । अब म सदीक्षा शाहबाट सदीक्षा शाह गहतराज भइसकेकी थिएँ । म सक्षमको पे्रममा आकण्ठ डुबेकी थिएँ बुवाले दुवै जनालाई चौकीमा उभ्याउँदा पो म झल्यास्स बिउँझिएँ तर म आफ्नो निर्णयबाट टसमस भइनँ किनकि मलाई हुनु नै थिएन । सक्षमलाई पाएर म हावामा उडिरहेकी थिएँ । उसका लागि मिठो खाना बनाउनु, उसलाई, उसका कोच र उसका साथीहरूलाई खुवाउनु, उसलाई सपिङ गराउनु र नोकरीकै सेरोफेरोमै मेरो जिन्दगी मलाई खुसी बनाएर ताताथैया गरिरहेको थियो ।
स्तब्ध भएँ म समाचार पढेर । केही अशुभ हुन्छ कि भन्ने त लागेको थियो तर मनमुटु नै टुव्रिmने खालको र यो हदसम्म अशुभ समाचार सुन्नुपर्ला भन्ने मैले कल्पेकी नै थिइनँ । एक्ली छोरीले आफ्नो विश्वास र मर्यादा तोडेर कथित तल्लो जातको केटोसँग पे्रम विवाह गरेकीले बुवाले मसँग भावनात्मक मात्रै नभएर कानुनी सम्बन्ध पनि तोड्नुभएको आधिकारिक सूचना राष्ट्रिय दैनिकमा आएको रहेछ । सक्षमको काखमा घोप्टिएर म भक्कानिएर रोइरहेकी थिएँ । मेरा लागि दिउँसै घाम डुबेको थियो । धेरै चोटि मैले बुवालाई फोन गरेँ तर बुवाको फोन पटक्कै उठेन । मेरो पे्रम मन नपरे पनि बुवाले यसरी कानुनी रूपमै सम्बन्ध नतोडेको भए हुने भनेर म भक्कानिरहेँ तर त्यहाँ मेरो घाउमा मलम लगाउँने कोही थिएन ।
‘सदी, बुवाले त एउटा घर तिम्रो नाममा पास गर्दिन्छु भन्नुभएको छ भनेकी हैनौँ ?’ गुञ्जिएको ध्वनिसँगै मैले सक्षमलाई नियालेँ खै किन हो मैले पहिलो पटक उसलाई कुनै अपरिचित मान्छे जस्तो पो देखेँ ।
‘बुवाको चित्त दुखाएर अन्तरजातीय विवाह नगरेकी भए बुवाले एउटा मात्र हैन दुइटै घर दिनुहुन्थ्यो होला नि तर... ।’ वाक्य अधुरै छाडेर मैले फेरि उसलाई नियालेँ । अहिले पनि ऊ उही अपरिचित र भावहीन मुद्रामा थियो । मलाई घर र सम्पत्तिको लोभ पटक्कै थिएन बरु मलाई लोभ सक्षमको मात्र थियो । सम्पत्तिकै लोभ गर्ने भएकी भए मैले बुवाकै रोजाइको केटोसँग बिहे गर्ने थिएँ होला । तर म त सक्षमको प्रेममा पागल थिएँ । उसको अग्लो कद, चौडा छाती र ठुलो तर गम्भीर स्वरमा मबिनको आवाजमा सर्प लट्ठिएझैँ लट्ठिएकी थिएँ । मैले आफ्नो पे्रम मात्र हैन, उसलाई जीवन नै सुम्पिएकी थिएँ । मैले ऊबाट कुनै अपेक्षा राखेकी थिइनँ । घरभाडा, राशनपानी, घुमफिर, लत्ताकपडा सबै मैले नै धानेकी थिएँ । अब त झन् नधानेर पनि उपाय नै थिएन किनकि बुवाले सम्पूर्ण ढोका बन्द गरिसकेपछि आत्मनिर्भर हुनुबाहेक मसँग अर्को विकल्प नै थिएन । घरव्यवहारका लागि सक्षमबाट मैले कुनै आशा राखेकी थिइनँ । उसले क श्रेणीको फुटबल खेलाडीको हैसियतले पाउने तलब भत्तासँग मलाई कुनै सरोकार थिएन । किनकि दुई जना पालिनलाई मेरो तलब नै यथेष्ठ थियो । फेरि सक्षमले पनि यो मेरो तलब हो है भनेर चार पैसा मलाई कहिल्यै देखाएन । मैले पनि सोधीखोजी कहिल्यै गरेन ।
खेल नभएको बेलामा उसले अचेल अलि बढी नै पिउँन थालेको छ । मैले उसलाई रोक्ने प्रयास नगरेकी हैन तर उसले मेरो कुरै सुनेन । उसमा आएको यही परिवतनले गर्दा कति वटा खेलमा ऊ बाहिरै बस्नु परिसकेको छ तैपनि सक्षमले आफूलाई सुधार्ने प्रयत्न नै गरेको छैन । मैले सम्झाउने प्रयास गर्दा मसँग नै झर्किन र रिसाउन थालेको छ । उसले पटक पटक कोचलाई एक्लै भेट्ने प्रयास गरिसक्यो तर कोचले उसलाई समय नै दिएन । त्यसैले पनि होला ऊ झन दिक्क, असन्तुष्ट र छटपटिएको देखिन्छ । केही सोध्यो कि ऊ त्यसै त्यसै जङ्गिएर कुटुँला झैँ गर्छ । उसको यो नयाँ रूप देखेर म छक्क छु, दिक्क छु ।
‘यसरी रक्सी खाने र रिसाएर मात्रै हुन्छ ? यही रक्सीले गर्दा तिमी खेलबाट टाढा हुँदै छौ । आफूलाई कन्ट्रोल गर, सछु ।’ उसलाई चिया दिँदै मैले सम्झाउँने प्रयास गरेँ । ‘भो भो, धेरै जान्ने हुनु पर्दैन बरु कोच अलबर्ट डिसुजा भोलि डिनरका लागि आउने भा’ छ, अलि राम्रो खाना बनाउनु र ड्रिङ्क्स पनि ठिक पार्नु ।’ सके बाहिर जानलाई होला लुगा लगाउँदै उसले भन्यो ।
‘हरे, गेस्टलाई इन्भाइट गर्नुअघि एक चोटि सल्लाह गनु पर्दैन ? भोलि मेरो अफिसमा बोर्ड मिटिङ छ र म त्यसमा बस्नै पर्छ ।’ ऊ मेरो कुरै नसुनी फटाफट बाहिर निस्कियो । हरे ! अब भोलिको मिटिङलाई कसरी छल्ने होला ? मलाई अहिलेदेखि नै टाउको दुख्न थाल्यो ।
सक्षम किन यसरी बदलियो ? किन उसले आफ्नो बानी सुधार्दैन ? आफू एक जना स्थापित राष्ट्रिय खेलाडी भएको सत्यलाई किन उसले बिर्सिरहेछ ? किन खेलप्रति उसको ध्यान जान सकिरहेको छैन ? खेलप्रतिको आफ्नो लगाव, आकर्षण र समपणलाई किन ऊ आफैँले लत्याइरहेको छ ? के कुराले उसलाई तनाव दिइरहेछ त ? सोध्यो भने भन्दैन । राम्रोसँग बोल्दा पनि बोल्दैन ? कतै बिहे भएको यति छोटो समयमै म उसलाई मन नपर्न थालेको त हैन ? कतै घर बाहिर उसको चक्कर त छैन ? त्यस्तो सम्भावना पनि देखिँदैन । त्यसो भए सक्षमको समस्या के हो त ? उफ् ! उसले नभनेसम्म मैले कसरी जान्नु ? ऊः घण्टी बज्यो । ऊ आएजस्तो छ ? हो, ऊसँगै अलबर्ट डिसुजा पनि आएको रहेछ ।
नमस्ते । औपचारिकतापछि उनीहरू पिउन बसे । लोकल खानेकुरा खोज्नेका लागि मैले लोकल ठर्रा र सुकुटीको व्यवस्था गरेकी थिएँ । पिउने व्रmममा दुवै मातिसकेका थिए । नशाको सुरमा भान्सामा आएर सक्षमले भनेको सुन्नेबित्तिकै मैले उसको गाला बज्रिने गरी गालामा गिटार बजाइदिएँ । तर शारीरिक रूपले मभन्दा ऊ नै बलियो थियो त्यसैले मलाई लडाएर उसले बलपूवक मेरो मुखमा केही कोचिदियो । त्यसपछि के भयो ? मैले केही थाहा पाइनँ ।
म कति समय बेहोस रहेँ भनेर मलाई नै थाहा थिएन । मेरो शरीर बेस्कन दुखिरहेको थियो । म बिउँझिँदा घाम झलमल्ल लागिरहेको रहेछ । मेरो अगाडि मुसुमुसु मुस्कुराउँदै उभिरहेको सक्षमले मतिर उपेक्षा र व्यङ्ग्यले भरिएको मुस्कान फ्याँक्दै भन्यो, ‘मैसाब उठिस्या हो ? हजुरको पवित्रता त अलबर्टसँगै सती गयो नि । अब म टिममा पर्ने पनि पक्का र खेलका लागि अस्ट्रेलिया जाने पनि पक्का । अस्ट्रेलिया पुगेपछि नेपालको फकिन्छ र ?’
निःशब्द भएर मैले उसलाई नियालिरहेकी थिएँ । समय रहँदै नालीको कीरा जस्तो घटिया यो मान्छेलाई मैले कसरी चिन्न सकिनछु ? बुवाको सल्लाह नमानेर भैले जिन्दगीमा ठुलो भूल गरेछु ।
मलाई उकुसमुकुस भइरहेको थियो । छटपटी भइरहेको थियो । के यो कुरा बुवालाई भन्नु उपयुक्त होला त ? तर कानुनी रूपमै मलाई टाढा गरिसक्नुभएको बुवाले मेरो कुरा के सुन्नुहुन्थ्यो होला र ? त्यसो भए म के गरूँ त ? प्रहरीसम्म पुगौँ त ? यो पनि त्यति सजिलो कहाँ होला र ? तैपनि मैले प्रहरी प्रशासनलाई गुहारेँ तर दुवै विदेश गएकाले यो प्रव्रिmया सुरु नै हुन सकेन । सक्षमले त नेपाल नै नफर्किने भनेको छ । के त त्यसो भए मेरो घाउमा न्यायको मलम नलाग्ने नै भयो त ?
सक्षम अस्ट्रेलिया गएको पनि एक महिना जति भइसकेको थियो । ऊ अझै नेपाल फर्केको थिएन । ऊ फर्किन्छ जस्तो पनि लागेको छैन । अलबर्ट डिसुजा नेपाल फर्कियो कि फर्किएन, मलाई थाहा भएन । मलाई अलि बढी नै बिसन्चो भएकाले म डाक्टरलाई देखाउन गएँ । देखाएँ । रगत जचाएँ । रिपोर्ट तीन दिनपछि आउने जानकारी पाएँ । बिसन्चो भएकीले बैङ्कमा बिदा लिएकी थिएँ । मलाई खाना खान पनि मन थिएन । हल्का ज्वरो थियो । चियाकै भरमा मेरो दिन बितिरहेको थियो । किनकि बिरामी भएर मलाई तातो चिसो सोध्ने कोही थिएन । निर्धारित समयमा रिपोर्ट सङ्कलन गरेर डाक्टरलाई देखाएँ । डाक्टरको कुरा सुनेर क्षणभरका लागि रगत मेरा धमनीहरूमै रोकिए । म रुन पनि सकिनँ । मैले ऐया आत्था केही भन्न सकिनँ । म ढुङ्गा बनेछु र ढुङ्गा बनेकै ठाउँमा म ठाउँको ठाउँ बेहोस भएछु । होस आएपछि मैले नचाहेर पनि पत्याउँनै प¥यो मलाई एचआइभी पोजिटिभ भएको रहेछ ।
अप्रत्यासित रूपमा सक्षम नेपाल फकियो । म फेरि प्रहरीसमक्ष पुगेँ । उनीहरूले लोग्नेस्वास्नीको सामान्य झगडा झैँ मिल्न भनेर सम्झाउने बहानामा मलाई दवाब दिइरहे । अलबर्टको विषयमा त उनीहरूले केही सुन्नै चाहेनन् । केस पुरानो भइसकेको र बिनाप्रमाण मौखिक आरोपकै भरमा मात्र केही नहुने भएकाले आफ्नो श्रीमान्सँग मिलेर बस्न मलाई सभ्झाइरहे । बिनाप्रमाण अदालत जानु भनेको समय र पैसाको बर्बादीबाहेक केही हैन भनेर उनीहरूले मलाई अप्रत्यक्ष रूपमा हतोत्साही बनाइरहे । न्यायका लागि मैले टेक्ने र समाउने ठाउँ कतै देखिनँ । कानुन व्यवसायीले पनि यो विषय समयमै उठाएको भए स्वास्थ्य परीक्षण हुने र त्यही नै ठुलो प्रमाण बन्न सक्थ्यो तर त्यो अब सम्भव नभएकाले मौखिक आरोप लिएर अदालत जान त सकिन्छ तर न्याय प्राप्तिका लागि त्यो मात्र पर्याप्त नहुने भनेपछि म शिथिल भएँ । किनकि मसँग एकातिर प्रमाणको अभाव र अर्कोतिर गवाही दिने कोही प्रत्यक्षदर्शी पनि नभएकाले मेरो आरोपलाई आर्थिक लाभका लागि मात्र आरोप लगाएको भनेर सजिलै पन्छाइदिन सक्छन् भनेपछि म करिब करिब लाचार नै भएँ । त्यसैले मैले उसलाई पुरानै माया देखाएँ । उसलाई श्रीमतीले दिने माया र सुख सबै दिएँ । मलाई टोकिरहेको कीरा उसको शरीरमा पनि सलबलायो भन्ने कुरामा म विश्वस्त थिएँ ।
अब उसले मलाई विश्वास गर्ने वातावरण बन्यो भन्ने कुरामा विश्वस्त भएपछि मैले उसलाई पहिलो विवाह एनिभर्सरी विशेष प्रकारले घरैमा मनाउने प्रस्तावलाई उसले सहजै स्वीकार ग¥यो । घरबेटीको परिवारै गाउँ गएकोले सिङ्गो घरमा म र क्षितिज मात्र थियौँ । मैले पूरै घर सफा गर्न लगाएँ । बिछ्यौनालाई फुलैफूलले सजाएँ । जाने जति मिठा मिठा परिकार बनाएँ । सहयोगी बिहारीलाई दुई चार पैसा अतिरिक्त दिएर आज चाँडै बिदा दिएँ ।
स्याम्पेन लिन गएको सक्षम आइपुगेको थिएन । मेरा आँखा शून्यमा टोलाएका थिए । मनमा आँधीबेरी चलिरहेको थियो । मस्तिष्कमा ज्वालामुखी उम्लिरहेको थियो ।
‘बेबी, लौ यो वाइन । बेबी, सरी टु से, मैले अलबर्टलाई पनि बोलाएको छु । डन्ट माइन्ड, ल ।’
‘किन बोलाएको उसलाई नबोलाएको भए हुने । म त्यसको अनुहार पनि हेर्न चाहन्नँ ।’ मैले उसको अँगालोबाट उम्किँदै भनेँ । ‘सरी बेबी, नरिसाउन । पास्ट इज पास्ट, फरगेट द्याट ।’ खाना तयार नै थियो । स्याम्पेनको बोतल, ग्लास, सलाद र स्न्याक्स मैले टेबलमा सजाई नसक्दै अलबर्ट आइपुग्यो । उसको ‘हाई’ लाई मैले वास्तै गरिनँ । अस्ट्रेलियाको ट्रिपको गफ गर्दै र अर्काे महिना खेलकै लागि दुबई जाने सरसल्लाह गर्दै उनीहरूले एकपछि अर्को ओल्ड दरबारको बोतल रित्याइरहे । मेरै लागि स्याम्पेनको बोतल ल्याएको हो भने तापनि मैले स्याम्पेन पटक्कै छोइनँ । बोतल रित्याइसकेपछि उनीहरूभित्र सुतेको पशु बिस्तारै बिउँझिँदै थियो । मेरो तन, मनमा हुरहुरी आगो बलिरहेको थियो । उनीहरूले आज पनि अघिल्लै व्रिmयाकलाप दोहो¥याउन खोजेपछि ती दुवैलाई मैले जे भेटेँ, त्यसैले ठटाएँ । रक्सीले अर्धबोहोसीको हालतमा पुगेका तिनको टाउको मात्र हैन बोतल पनि फुट्यो, सामान छ्यालब्याल भयो । घर सानोतिनो रणमैदान नै भयो । म थाकेँ तर मैले अनाहकमा सहनुपरेको अन्याय र बेइज्जतीले मलाई थाक्न दिएन ।
आफ्नै रगतमा लतपतिएर दुवै जना लाससरी भुइँमा लडिरहेका थिए । कानुनले त मलाई न्याए दिएन तर मैले मलाई न्याय दिनु पर्छ भन्ने सोचेर मैले चारैतिरको झ्यालढोका बन्द गरेँ । ग्यास अन गरेँ । चारैतिरको लाइट पनि झलमल्ल हुने गरी बालिदिएँ । मूल ढोका पनि बन्द गरेर म सडकमा आइपुगेर ती ज्युँदा लासहरू लडिरहेको घरलाई नियालिरहेँ । एकैक्षणमा ड्याम्म आवाजसँगै आगोको ठुलो मुस्लो घरभित्र फनफनी घुमेको देखियो ।
आगोको मुस्लो बढिरहेको थियो । दायाँ बायाँ मानिसको बाक्लो भिड लागिसकेको थियो । कोलाहलले कसले के भनिरहेको छ भनेर बुझिने अवस्था थिएन । मेरो मन खुसीले बुर्कुसी मारिरहेको थियो । मैले मेरो खुसीलाई थाम्नै सकिनँ । म हर्षले म खितखिताएर हाँसिरहेकी थिएँ, हाँसिरहेकी थिएँ । त्यही बेला दमकलसँगै प्रहरीको भ्यान पनि आएर रोकियो । वारुणयन्त्रका कर्मचारीहरू दौडादौड गरिरहेको बेलामा मभने खुरुक्क गएर प्रहरीको भ्यानमा गएर बसेँ । कोलाहललाई नै जित्ने गरी म खिलखिलाएर हाँसिरहेकी थिएँ । मेरो हाँसो रोकिएको थिएन । मधुपर्क