• १३ माघ २०८१, आइतबार

चित्रकला प्रदर्शनी सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १२ गते । उन्नाइसौँ शताब्दीमा चीनको साङ्घाई सहर क्षेत्रमा विकसित सांस्कृतिक र सामाजिक विरासत झल्काउने चित्रकलाको प्रदर्शनी सुरु भएको छ । 

साङ्घाई इतिहास म्युजियम, नेपालस्थित चिनियाँ राजदूतावास र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहभागितामा शुक्रबारबाट चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा प्रदर्शनी सुरु भएको हो  । कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाल र चीनबिचको सम्बन्ध ऐतिहासिक रहेको बताउँदै यस्ता कार्यक्रमले सांस्कृतिक कूटनीतिलाई थप बलियो बनाउने बताउनुभयो । उहाँले सन् १९५५ मा दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात् सम्बन्धले थप उचाइ लिएको बताउँदै पञ्चशीलको सिद्धान्त अनुसार नेपाल र चीनबिचको सम्बन्ध अघि बढिरहेको धारणा राख्नुभयो । 

प्रतिष्ठानका कुलपति हार्तम्छालीले साङ्घाईको सांस्कृतिक जनजीवनको विम्ब तथा झलकहरू चित्रकलामार्फत नेपालमै ल्याएर देखाएकोमा आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “प्रदर्शनीले अन्तर्राष्ट्रिय छिमेकी भाइचारा, एकआपसमा पर्यटन प्रवर्धन तथा संस्कृति, कलाको प्रचारमा योगदान पुग्ने बताउँदै ऐतिहासिक महìवको सुन्दर सहर साङ्घाईलाई प्रत्यक्ष हेर्न मन लागेको बताउनुभयो । साङ्घाई इतिहास सङ्ग्रहालयका प्रमुख चउ छुनह्वाले साङ्घाई र काठमाडौँ हजारौँ माइल टाढा भए पनि यी दुई सहरबिच गहिरो सम्बन्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चिनियाँ नयाँ वर्ष २०२५ को स्वागतमा आयोजित चित्रकलाले चीनको संस्कृति, परम्परा, वातावरण, पर्यावरण, जीवनशैली, ओपेरालगायत सङ्गीत संस्कृतिको समेत झलक दिएको र नयाँ वर्षले खुसी र उमङ्गलाई बोकेर आउने विश्वास गरिन्छ । सो अवसरमा चिनियाँ विद्यार्थीले बाँसुरीको धुनमा प्रत्यक्ष चित्रकलाको सिर्जना गर्दै, नेपाली गीत ‘रेशम फिरिरी...’ र चिनियाँ गीतसमेत प्रस्तुत गरेका थिए । 

प्रदर्शनीमा काठको साँचोमा रङ पोतेर कागजमा उतार्ने शैलीबाट बनाइएका ६० वटा चित्रकला राखिएका छन् । नेपाल र चीनबिच मित्रता भएको ७० वर्ष पुगेको अवसरमा चित्रकला, साहित्यलगायत विविध कार्यक्रमको आयोजना भइरहेको आयोजकले जनाएको छ । प्रदर्शनी माघ १८ गतेसम्म चल्ने छ ।