काठमाडौँ, माघ ११ गते । गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन ‘दि राइजिङ नेपाल’ का प्रबन्ध सम्पादक परमेश्वरप्रसाद देवकोटा र प्रेस मर्मत शाखाका हरिशरण थापाको बिदाइ गरिएको छ । देवकोटा उमेर हदका कारण र थापा राजीनामा दिएर संस्थानबाट बिदाइ हुनुभएको हो।
शुक्रबार आयोजित कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीले उहाँहरुलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरेर बिदाइ गर्नुभयो ।
वि.सं. २०५१ साउन २६ गते पत्रकारिता सेवा, अंग्रेजी समूहको दि राइजिङ नेपाल दैनिकमा तह–७ को उपसम्पादक पदमा स्थायी सेवामा प्रवेश गर्नुभएका प्रबन्ध सम्पादक देवकोटा माघ १२ गतेबाट सेवा निवृत्त हुनुभएको हो । उहाँले संस्थानमा ३० वर्ष ५ महिना १५ दिन सेवा गर्नुभएको छ ।
यसैगरी, थापाले घरायसी कारणले माघ १० गतेबाट लागू हुने गरी पदबाट दिनुभएको राजीनामा माघ ९ गते स्वीकृत गरिएको जानकारी संस्थान व्यवस्थापनले दिएको छ । उहाँले संस्थानमा ३८ वर्ष एक महिना २३ दिन सेवा गर्नुभएको छ ।
बिदाइ कार्यक्रममा बोल्ने वक्ताले देवकोटा मिजासिलो, मेहनती, परिश्रमी, धैर्यवान, कामको नतिजामा विश्वास गर्ने हक्की स्वभावको भएको चर्चा गर्दै उहाँको भावी जीवन सुखमय, स्वस्थ र आनन्ददायी रहोस भनी कामना गर्नुभयो ।
यस्तै, उहाँहरुले संस्थानमा थापाको सीप, अनुभव, लगनशीलता प्रशंसनीय रहेको भन्दै सेवामा रहँदा पुर्याएको योगदान अनुकरणीय छ भन्नुभयो ।
संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले संस्थानले अनुभवी, इमान्दार र दक्ष जनशक्ति बिदाइ गर्नुपरेको छ, यो स्वाभाविक प्रक्रिया भए पनि उहाँहरुको अभाव महसुस हुने बताउनु भयो । उहाँले देवकोटा धैर्यवान, संस्कारयुक्त, सहकर्मीसँग सौहार्द्धरुपमा कार्य गर्न सक्ने क्षमता भएको पत्रकार संस्थान सेवाबाट बाहिरिँदा चिन्ता लागेको बताउनुभयो । उहाँले थापा सीपयुक्त र मेहनती भएको चर्चा गर्नुभयो ।
संस्थानका महाप्रबन्धक ऐरीले संस्थान सेवामा उहाँहरुले पुर्याउनु भएको योगदानका लागि आभार व्यक्त गर्दै देवकोटा र थापाको अनुभवले समाज विकासमा समेत योगदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरुको रिक्तता संस्थानले तत्कालै पूर्ति गर्न कठिन रहेको छ भन्दै महाप्रबन्धक ऐरीले देवकोटा बहस गर्दा कडा स्वभावजस्तो देखिए पनि व्यवहारमा सरल र जुझारु भएको उल्लेख गर्नुभयो ।
दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलियाले देवकोटाको अनिवार्य अवकाश भए पनि व्यावसायिक रिक्तता खट्किने छ भन्दै उहाँ कडा मेहनती, साथीसँग खुलस्तसँग घुलमिल गर्न सक्ने र आफ्ना भनाइ स्पष्ट राख्ने सहकर्मी रहेको चर्चा गर्नुभयो ।
संस्थान सञ्चालक समिति सदस्य तथा अर्थ विभाग प्रमुख राजुकुमार महतले स्थायी सेवाका कर्मचारी अवकाश हुँदै जाने र पदपूर्ति हुन नसक्दा दक्ष जनशक्तिको रिक्तता बढ्दै गएको बताउनुभयो । उहाँले संस्थानले विनियमावली ल्याउने प्रयास जारी राखेको बताउनुभयो ।
मर्मत शाखाका प्रमुख बद्रीप्रसाद चालिसेले थापा मिलनसार र महेनती सहकर्मी सेवाबाट अलग हुँदा सेवा प्रवाहमा रिक्तता आउने बताउनुभयो । सेवा निवृत्त देवकोटा र थापाले संस्थानको उत्तरोत्तर प्रगति भएको देख्न र सुन्न चाहेको बताउनुभयो ।