ललित बसेल
सुर्खेत, माघ ११ गते । झन्डै १० महिनादेखि नेतृत्वविहीन रहेका कर्णाली प्रदेश सभाका तीन वटा संसदीय समितिले नेतृत्व पाएका छन् । चार वटामध्ये तीन वटा समिति सभापतिविहीन थिए ।
विधायन समितिबाहेक सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति सभापतिविहीन थिए । प्रदेश मामिला तथा विधायन समितिको सभापति कल्याणी खड्का भने यथावत् हुनुहुन्छ । बुधबार तीन राजनीतिक दलले प्रत्येक पदमा एक/एक जनाको उम्मेदवारी दिने आपसी सहमति गरेर एकल उम्मेदवारी दिएपछि ती समितिले नेतृत्व पाउने निश्चित भएको छ । समितिको औपचारिक घोषणा भने बिहीबार बेलुका नै गरेर पदभार गराउने योजना प्रदेश सभा सचिवालयले गरेको छ ।
सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार सार्वजनिक लेखा समितिको सभापतिमा बिन्दमान विष्ट, अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा दक्षिणा शाही र सामाजिक विकास समितिको सभापतिमा पूर्णबहादुर खत्रीको एकल उम्मेदवारी परेको छ । लेखा समिति प्रतिपक्षले पाउने प्रावधान अनुसार नेकपा माओवादी केन्द्रले विष्टलाई सभापतिमा पठाएको हो । यसअघि उहाँ सोही समितिको सदस्य हुनुहुन्थ्यो ।