• ११ माघ २०८१, शुक्रबार

कलाकार शाक्यसँग अन्तरसंवाद

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ११ गते । सहस्र हात (एक हजार हात) भएको मूर्ति बनाउने कलाकारका रूपमा पहिचान बनाएका कलाकार सन्तकुमार शाक्यले आफ्नो कलायात्राको अनुभव बाँड्नुभएको छ । 

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानद्वारा  बिहीबार राजधानीमा आयोजित ‘अग्रज कलाकार सन्तकुमार शाक्यसँग ललितकला संवाद’ कार्यक्रममा उहाँले आफ्नो सङ्घर्षपूर्ण जीवन र सफलताबारे अनुभव सुनाउनुभएको छ । मूर्तिकला सिर्जनामा नयाँ नयाँ अभ्यास गर्दै अगाडि बढेका कलाकार शाक्यले माग अनुसार थुप्रै मूर्ति बनाउँदै नेपाली परम्परागत कला क्षेत्रमै हजारौँलाई रोजगारी दिन सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले बनाउनुभएका मूर्तिकला देशविदेशमा पुगेका छन् । मूर्ति बेचेरै भ्रमण गर्ने कलाकार शाक्यले अलोराको गुफा भ्रमणमा जाँदा त्यहाँका गुफामा बनेका विशाल मूर्तिबाट पनि ठुला मूर्ति बनाउने पे्ररणा मिलेको बताउनुभयो ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाकार शाक्य मूर्तिकला, गीतसङ्गीत, समाजसेवालगायतका क्षेत्रमा संलग्न बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो । उहाँले कलाकार शाक्यले छोरा, नाति, छोरीलगायतलाई समेत मूर्तिकलाको सिर्जनामा आबद्ध गराई ज्ञानलाई पुस्तान्तरण गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । मूर्तिकला विभागका प्रमुख दिनेश्वर महतोले शाक्य मूर्तिकार मात्र नभएर सामाजिक अभियन्ताका साथै नाट्य, सङ्गीत विधामा पनि समर्पित स्रष्टा भएको बताउनुभयो । कार्यक्रममा लेखक नानीहिरा शाक्यले कलाकार शाक्यका बारेमा कार्यपत्र प्रस्तुत गर्दै सङ्घर्षले खारिएका सर्जक शाक्य समाजसेवाका पर्याय भएको बताउनुभयो ।