• ११ माघ २०८१, शुक्रबार

विर्तामोड र दुधे फिदिम भेट्रान्स गोल्डकपको सेमिफाइनलमा

blog

बिहीबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्दै झापाका खेलाडी (रातो) र इलामका खेलाडी (सेतो) जर्सीमा। तस्बिरः राधा लुइटेल

राधा लुइटेल

फिदिम, माघ १० गते। झापाका दुईवटा टिम फिदिममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन्।

दुधे भेट्रान्स झापा र गोरख भेट्रान्स विर्तामोड सेमिफाइनल पुगेका हुन्। बिहीबार सम्पन्न क्वाटर फाइनलमा दुधे भेट्रान्स झापाले प्रतिस्पर्धी स्काई भेट्रान्स धरानलाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै सेमिफाइनल पुगेको हो।

यस्तै गोरख भेट्रान्स विर्तामोड रेड स्टार भेट्रान्स इलामलाई ३–० गोल अन्तरले हराउँदै सेमिफाइनल पुगेको हो। 

पहिलो खेल दुधे भेट्रान्स र स्काई भेट्रान्सले बराबरीमा सकिएपछि ट्राइब्रेकरबाट निर्णय लिइएको थियो। फिदिम माविको खेल मैदानमा जारी गोल्डकपमा शुक्रबार सेमिफाइनल चरणका खेल सञ्चालन हुनेछन् । सेमिफाइनलको पहिलो खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र दुधे भेट्रान्स झापा तथा दोस्रो खेलमा बौद्व भेट्रान्स रानिटार र गोरख भेट्रान्स झापाबिच प्रतिस्पर्धा हुनेछ । 


बुधबारदेखि सुरु भएको प्रतियोगितामा भारतको एकसहित आठ टिम सहभागी थिए। फाइनल खेल माघ १२ गते सञ्चालन हुनेछ। विजेताले एक लाख पाँच हजार र उप विजेताले ५० हजार रुपियाँ पुरस्कारसहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन्।