• १० माघ २०८१, बिहिबार

सबै नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक : मन्त्री चौरसिया

blog

कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया प्रतिनिधि सभाअन्तर्गको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, माघ १० गते । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गको कानुन, न्याय तथा मानव अधिकार समितिमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले वैदेशिक तथा आन्तरिक श्रमिक र रोजगारदातालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारीलाई सुझाव दिनुभयो ।

उहाँले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नेकुरा मन्त्रालय र मन्त्रीको सफलतासँग जोडिएको बताउनुभयो । वैदेशिक रोजगारमा जाने श्रमिकको हक र हितका लागि कानुन मन्त्रालय सदैव सकारात्मक रहेको उहाँको भनाइ छ । 

मन्त्री चौरसियाले भन्नुभयो, ‘‘उहाँ (श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री)ले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था हामी गर्दैछौं । जसमा ११ प्रतिशत व्यक्ति रोजगारदाता र २० प्रतिशत व्यक्ति सरकारले राख्ने र नेपालमा समेत श्रम गर्ने सबैलाई कोषमा आबद्ध गर्ने कुरा जुन राख्नुभयो । यो मन्त्रालयको सफलता  र मन्त्रीको सफलतासँग जोडिन जान्छ भन्ने मलाई लागेको छ ।’’

उहाँले सरकारले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नसके ठुलो र ऐतिहासिक उपलब्धी हुने बताउनुभयो ।