गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १३ गते । पर्यटकीय स्थलका रूपमा चर्चित पाल्पाको रानीमहललाई सरकारले पुरानै अवस्थामा संरक्षण गर्ने भएको छ । यसका लागि अर्थ मन्त्रालयले आर्थिक स्रोत सुनिश्चितसमेत गरेको छ ।
मन्त्रालयमा बुधबार बसेको बैठकले खड्गशमशेरले निर्माण गरेको रानीमहलको स्वरूपमा ल्याएर संरक्षण गर्ने निर्णय गरेको हो । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रानीमहल दुर्लभ ठाउँ भएकाले गुरुयोजना बनाएर पुरानै शैली र आकारमा बनाउन कार्यान्वयन विधि तयार गर्न पुरातत्व विभागलाई निर्देशन दिनुभयो । पुरातात्त्विक महत्वलाई विशेष ध्यान दिएर नदी तथा पहिरो व्यवस्थापन र निर्माण अघि बढाउन पनि उहाँको निर्देशन थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले दीर्घकालीन योजनासहित रानीमहल र त्यस वरपरका क्षेत्रलाई संरक्षण गर्नुपर्ने बताउनुभयो ।
सो क्षेत्रका प्रतिनिधि सभाका सांसद ठाकुर गैरेले कालीगण्डकी नदीले रानीमहलको जग कटान गर्नबाट जोगाउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले पुरातत्व विभागले रानीमहलको पुरातात्त्विक र ऐतिहासिक महत्वलाई जोगाएर पुनर्निर्माण गर्न सक्ने बताउनुभयो ।
अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले रानीमहलको संरक्षणका लागि स्रोतको अभाव नहुने जानकारी दिनुभयो ।
कालीगण्डकी कोरिडोरका आयोजना प्रबन्धक कल्पना अधिकारीले प्रराम्भिक अध्ययनले रानीमहललाई रेट्रो फिटिङ गर्न, नदी कटानबाट जोगाउन, पहिरो व्यवस्थापन गर्न, पुल निर्माण गर्न, पार्किङ क्षेत्रलाई व्यवस्थिगत गर्नलगायतका कार्य गर्न आवश्यक रहेको देखाएको जानकारी दिनुभयो । राणाकालीन समयमा खड्गशमशेरले रानी तेजकुमारी देवीको स्मृतिमा रानीमहल निर्माण गरेका थिए । पे्रमको प्रतीकका रूपमा आन्तरिक तथा बाह्य पर्यटक यसको भ्रमणमा पुग्छन् ।