चित्रकुमार मिजार
सिन्धुपाल्चोक, असार १३ गते । बाह्रबिसे नगरपालिका–२ कर्थलीस्थित खहरे काभ्रे बेसी सिँचाइले त्यस भेगका चार हजार रोपनी जग्गामा पानी पुगेको छ ।
गत वर्ष बागमती प्रदेश सरकारले उक्त सिँचाइ योजनाका लागि एक करोड ७८ लाख विनियोजन गरेको थियो । तर त्यसमा बिलोमा ८१ लाख र यस वर्ष प्रदेश सरकारमार्फत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय चौताराको १० लाख लागतमा उक्त सिँचाइ योजनाको काम भएको वडा अध्यक्ष रेशम तामाङले जानकारी दिनुभयो ।
सो सिँचाइले किसानका खेतबारीमा पानी पुग्न थालेपछि कृषकहरुमा खुशी छाएको कृषक सिर्जना गुरुङले हर्ष व्यक्त गर्नुभयो । गत वर्ष सो योजनाको मुहान, ड्याम निर्माण भएको थियो । यस वर्ष सिँचाइका लागि मेशिनरीवाल, आरसिसी कुलो निर्माण भएको छ । आगामी वर्ष ३० लाख बजेट प्राप्त भएमा कर्थलीको बेंसी लगायतका हजारौं रोपनी जग्गाजमिनमा पानी पुग्ने अध्यक्ष तामाङले माग गर्नुभएको छ ।
उक्त सिँचाइले किसानका धानबाली, मकैबाली, आलु, प्याज, लसुन, काउली, गोलभेँडा, मूला, फापरलगायतका नगदेबाली र परम्परावादी खेतीबालीमा पानी पुगेको छ । सिँचाइकै कारण किसानहरुले नगदेबाली र तरकारी खेती गरेर गाउँमै मनग्गे आम्दानी लिन थालेको वडा अध्यक्ष तामाङले बताउनुभएको छ । यस साथै उक्त वडामा अन्य थुप्रै सिँचाइ योजनाका काम भएर किसानका खेतबारीमा पानी पुगेको छ । हाँडीखोला सिँचाइ, घट्टेखोला सिँचाइ, खहरे खोल्सा बुदेपा कोइराले सिँचाइलगायतका सिँचाइ योजनामार्फत हजारौं रोपनी जग्गाजमिनमा पानी पुगेको छ ।