• १० माघ २०८१, बिहिबार

‘आयोजना बैङ्क’ प्राथमिकतामा

blog

बुलबुले समाचारदाता

सुर्खेत, माघ १० गते  । कर्णाली प्रदेश सरकारले ‘आयोजना बैङ्क’ निर्माणलाई प्राथमिकतामा राखेको छ । सरकारले चालु आर्थिक वर्षदेखि आयोजना बैङ्क निर्माण गरेर कार्यक्रम छनोट तथा बजेट विनियोजन गर्ने तयारी गरेको हो । 

ऐन निर्माण गरेर कार्यक्रम छनोट गरिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । अहिले भने कार्यविधि निर्माणको काम भइरहेको मुख्यमन्त्री कार्यालयका निमित्त प्रमुख सचिव आनन्द सारूले बताउनुभयो । उहाँका अनुसार प्रदेश योजना आयोगले कार्यविधि निर्माणको मसौदा तयार पार्ने काम गरिरहेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा समेत आयोजना बैङ्क स्थापना गर्ने उल्लेख छ । 

योजना छनोट प्रणालीलाई व्यवस्थित गर्न आयोजना बैङ्क प्रभावकारी हुने अपेक्षा गरिएको छ । आयोजना छनोट तथा बजेट विनियोजनलाई वस्तुपरक बनाउन र आयोजनाको दोहोरोपना हटाउन ‘आयोजना बैङ्क’ स्थापना गर्न लागिएको सारूले बताउनुभयो । दिगो विकास लक्ष्य हासिल गर्न मद्दत पु¥याउने, उत्पादन र उत्पादकत्व बढाउने आयोजनामा बजेट केन्द्रित गर्ने गरी बैङ्क स्थापना गरेर कार्यक्रम छनोट गरिने उहाँको भनाइ छ । 

बजेट कार्यान्वयन व्यवस्थित गरी आयोजना बैङ्क निर्माण गर्न सोही अनुसार बजेट परिचालन गर्नुपर्ने हुन्छ । त्यसका लागि योजना तर्जुमासम्बन्धी कानुन निर्माण गरेर कार्यान्वयन गरिने सचिव सारू बताउनुहुन्छ । कर्णालीमा आयोजना बैङ्कको अपरिहार्यतालाई प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको समीक्षाले समेत देखाएको छ । नीति तथा योजना आयोगमार्फत आयोजना बैङ्क सञ्चालनमा ल्याउनुपर्ने सुझाव प्रदेश योजना आयोगले सरकारलाई विभिन्न समयमा दिने गरेको छ । 

कार्यविधि निर्माण गर्दै योजना आयोग 

कर्णाली प्रदेश योजना आयोगले ‘आयोजना बैङ्क’ सञ्चालन गर्न कार्यविधि निर्माणको काम गरिरहेको छ । अहिले कार्यविधि निर्माणको खाका तयारको काम भइरहेको योजना आयोगले जनाएको छ । कार्यविधि निर्माण गर्ने र सरकारले आवश्यक ठानेको खण्डमा ऐन निर्माण गर्ने गरी काम भइरहेको योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले बताउनुभयो । उहाँका अनुसार कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

विषयगत मन्त्रालयसँग आवश्यक तथ्याङ्क माग्ने, छलफल गर्ने र मन्त्रालयहरूका प्राथमिकताका आयोजना समावेश गर्ने काम भइरहेको योगीले जानकारी दिनुभयो । आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणालीमार्फत सार्वजनिक गर्न, बजेट तर्जुमा गर्दा प्राप्त सिलिङभित्र प्राथमिकताका आधारमा बजेट प्रस्ताव गरिने जनाइएको छ । प्रदेश योजना आयोगले छनोट गरी निर्धारण गरेको प्राथमिकताक्रमका योजनाहरूबाट प्रदेश गौरवको योजना, ठुला र बृहत् प्रकृतिका योजना बजेट दिएर कार्यान्वयनमा जाने जनाइएको छ । 

विशेष गरी भौतिक पूर्वाधारतर्फका योजना आयोजना बैङ्कबाट छनोट गरी कार्यान्वयन गरिने प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकार स्थापनादेखि नै कर्णाली सरकारले आयोजना बैङ्क निर्माणको चर्चा सुरु गरेको थियो । सरकारले विगतदेखि नै नीति तथा कार्यक्रममै समावेश गरी आयोजना बैङ्क निर्माणको विषय अघि सार्दै आए पनि कार्यान्वयन हुन सकेको थिएन ।