काठमाडौँ, माघ ९ गते । नेपालका राष्ट्रिय फेन्सिङ खेलाडी भीष्मराज दाहाल (टार्जन) र सागर थापाले कतारको दोहामा माघ १० देखि १२ गतेसम्म आयोजना हुने ग्रान्ड प्रिक्स डु कतार फेन्सिङ प्रतियोगितामा सहभागिता जनाउनु हुने भएको छ ।
ग्रान्ड प्रिक्सको सहभागिताले नेपाली खेलाडीको वरीयता प्राप्त गर्न सहयोग गर्नेछ । प्रतियोगिताका लागि राम्रो तयारी गरेकोले उत्कृष्ट प्रदर्शन गर्ने भीष्मराजले बताउनुभयो । १५ वर्ष तेक्वान्दो खेल खेल्नुभएका भीष्मराजले तीन वर्षदेखि फेन्सिङ खेल्न सुरु गर्नुभएको हो ।
राष्ट्रिय प्रतियोगिताहरूमा बागमती प्रदशेबाट प्रतिनिधित्व गर्दै आउनुभएका भीष्मराजले तीन वटा राष्ट्रिय प्रतियोगितामा कांस्य पदक जित्नुभएको छ । उहाँले गण्डकीमा भएको नवौँ राष्ट्रिय प्रतियोगितामा पनि काँस्य जित्नुभएको थियो ।
यस्तै सागर थापा खेलाडीसँगै प्रशिक्षकसमेत हुनुहुन्छ । हाल खेलाडी र विभागीय टोली नेपाल एपीएफ क्लबका सहायक प्रशिक्षक रहनुभएका सागरले पनि कतारमा उत्कृष्ट प्रदर्शन गरेर फर्कने बनाउनुभयो । कतारको प्रतियोगिताले एफआईई वर्ल्ड र्याङ्किङ निर्धारण गर्ने हुँदा राम्रो तयारी गरेको उहाँको भनाइ छ ।
खेलाडीद्वयलाई नेपाल फेन्सिङ सङ्घका अध्यक्ष सुनिलकुमार श्रेष्ठ, महासचिव सुजनलाल श्रेष्ठ र कोषाध्यक्ष अनुप कपालीले बिदाइ गर्नुभयो । यस्तै सङ्घले खेलाडीलाई आवश्यक खेल सामग्री पनि प्रदान गरेको छ । टार्जन र सागर बुधबार (आज) राति कतार प्रस्थान गर्नुहुनेछ ।
बुधबार नै खेलाडीद्वयलाई लायन्स क्लब अफ काठमाडौँ सायाले पनि एक कार्यक्रमबिच बिदाइ गरेको छ । कतारमा रहँदा खेलाडीद्वयलाई एनआरएनए कतारका अध्यक्ष रमेश भट्टलगायत पदाधिकारीले सहयोग गर्नुहुनेछ ।