• २० चैत २०८१, बुधबार

‘जङ्गबहादुर इन इङ्ग्ल्यान्ड’ लोकार्पण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ७ गते । वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीको ‘जङ्गबहादुर इन इङ्ग्ल्यान्ड’ पुस्तक काठमाडौँमा विमोचन गरिएको छ । राणा शासनको सुरुवात गर्ने जङ्गबहादुर राणाले गरेको संयुक्त अधिराज्य (बेलायत) यात्राका रोचक कुरा किताबमा समावेश छन् । राणाले काठमाडौँबाट बेलायत यात्रामा निस्केको १७५ औँ वर्षको अवसर पारेर पुस्तक सार्वजनिक गरिएको हो ।

किताबलाई लेखकका बुवा भक्तबहादुर बुढाथोकी, इतिहासविद् त्रिरत्न मानन्धर, वरिष्ठ पत्रकार कुन्द दीक्षित, लेखक यादव देवकोटा, श्री ३ जङ्ग संस्थाका अध्यक्ष पूर्वरथी सरोजप्रताप राणा र प्रकाशक कुन्ता थापाले संयुक्त रूपमा विमोचन गर्नुभयो ।

लेखक बुढाथोकीले जङ्गबहादुरको बेलायत यात्रा हुँदा लागेको खर्च खोज्ने क्रममा आफू प्रभावित भएर किताब तयार पारेको बताउनुभयो । किताबबारे धारणा राख्दै इतिहासविद् मानन्धरले निकै मेहनत गरेर किताब तयार पारिएको भन्दै इतिहासका कुरा समय समयमा विमर्श गरिराख्नुपर्ने विषय भएको बताउनुभयो । मदन पुरस्कार पुस्तकालयका अध्यक्षसमेत रहनुभएका वरिष्ठ पत्रकार  दीक्षितले पुस्तक पठनीय रहेको बताउनुभयो ।