गोकर्ण पौडेल
तुलसिपुर, माघ ६ गते । जाडो बढेपछि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । तुलसिपुर उपमहानगरपालिका वडा १९ कार्यालयले वडाभित्रका चारवटा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
तुलसिपुर उपमहानगरपालिका वडा १९ का कार्यबाहक वडाध्यक्ष रामबहादुर पौडेलका अनुसार नवजागरण मावि कुटेचौर, मावि भित्री सक्राम, गणेश प्रावि सक्राम र गणेश प्रावि तिनुखोलामा अध्ययन गर्ने विद्यार्थीलाई ६५० थान न्यानो कपडा वितरण गरिएको हो । पौडेलका अनुसार सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई जाडोयाममा पोशाककै कारण विद्यालयमा नआउने अवस्था अन्त्य गर्न दुई वर्षदेखि जाडोयाममा न्यानो कपडा वितरण गर्न सुरु गरिएको बताउनुभयो ।
मावि भित्री सक्राममा न्यानो कपडा वितरण गर्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले स्थानीय सरकारले कपडा वितरण विद्यार्थीको शिक्षामा अपनत्वको भूमिका निर्वाह गरेको बताउनुभयो । सोही विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका विश्वकर्माले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले देशको नेतृत्वदायी भूमिकामा पुग्न सक्ने बताउनुभयो ।