• ६ माघ २०८१, आइतबार

वैकुण्ठधाम निर्माणका लागि २७ कठ्ठा जग्गा खरिद

blog

वैकुण्ठधामका लागि खरिद गरिएको २७ कठ्ठा जग्गाको लालपुर्जासहित । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, माघ ६ गते । बाँकेको डुडुवा गाउँपालिका ५ राप्ती नदी तटमा वैकुण्ठधाम निर्माण गर्नका लागि आयोजक वैकुण्ठधाम सिधनियाघाटले करिब २७ कठ्ठा जग्गा खरिद गरेको छ ।

राप्तीको तटसँग जोडिएको स्थानीय व्यक्तिहरुको करिब २७ कठ्ठा जग्गा खरिद गरि बैकुण्ठधामको नाममा नामसारी गरिएको वैकुण्ठधाम निर्माण समितिका संयोजक डा.सुरेशकुमार कनोडियाले बताउनुभयो । उहाँका अनुसार १ बिघा ६ कठ्ठा १६ धुर जग्गा ७ जना स्थानीयसँग खरिद गरी नामसारी गरिसकिएको छ । करिब १ करोड १० लाख ८० हजार मूल्य बराबरको जग्गा खरिद गरिएको संयोजक कनोडियाले जानकारी दिनुभयो । 

डिपिआर अझै पूर्णरुपमा तयार भइनसकेको हुँदा जग्गाको आवश्यकता अझै बढ्न सक्ने वैकुण्ठधाम निर्माण समितिले जनाएको छ । जग्गा खरिद गरिएपछि सङ्घीय सरकारबाट निर्माण कार्यको टेण्डर प्रक्रियाको बाटो खुलेको हो ।

सङ्घीय सरकारले वैकुण्ठधाम निर्माणका लागि तीन करोड रुपियाँ खर्च गर्न लागेको जनाइएको छ । डुडुवा ५ सिधनियाघाटमा सुविधासम्पन्न आधुनिक दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने जनाउँदै आयोजक वैकुण्ठधाम सिधनियाघाट निर्माण समितिले नेपालगन्जमा आध्यात्मिक महोत्सव सञ्चालन गरेको थियो ।

गत कात्तिक २२ गतेदेखि ३० गतेसम्म भएको महोत्सवबाट कुल तीन करोड तीन लाख १५ हजार चार रुपियाँ सङ्कलन भएको थियो । जसमा ७५ लाख सात हजार ३७७ रुपियाँ खर्च भएको थियो भने कुल दुई करोड २८ लाख सात हजार ६२७ रुपियाँ आम्दानी भएको थियो । संयोजक कनोडियाका अनुसार धामलाई स्तराेन्नति गर्दै विद्युतीय दाहसंस्कार गर्नेगरी धाम निर्माण गर्ने योजना छ ।