प्रतीक शर्मा इच्छुक
सल्यान, माघ ५ गते । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज सल्यानको अध्यक्षमा चुडामणि पिएम (पुन मगर) निर्वाचित हुनुभएको छ । कपुरकोटमा शनिबार भएको तेस्रो जिल्ला अधिवेशनबाट उहाँ निर्वाचित हुनुभएको हो ।
दुई सदस्य पछि थप्नेगरी ९ सदस्यीय समिति चयन गरिएको छ । समितिको खुला उपाध्यक्षमा प्रदीप घर्ती मगर, महिला उपाध्यक्षमा अभिलाषा सिंह, सचिबमा ज्ञानेन्द्र पुन मगर, सहसचिवमा गोपाल पुन, कोषाध्यक्षमा कमला घर्ती र सदस्यमा कृष्ण घर्ति निर्वाचित हुनुभएको छ ।
यस्तै, सल्लाहकारमा सन्तोष घर्ती र यम थापालाई चयन गरिएको छ । प्रदेश परिषद पार्सदमा नवीन पिएम र सुस्मिता थापालाई चयन गरिएको छ । यस्तै, केन्द्रीय पार्सद सदस्यमा राजु पनुलाई चयन गरिएको छ ।
कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले पत्रकार र पत्रकारिताको बिकासका निम्ति सबैले सोच्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय स्वच्छ पत्रकारिताभन्दा पित पत्रकारिता मौलाएकाले यसलाई सुधार गर्नुपर्नछ ।” पत्रकारिता समाजको ऐना भएकाले सत्यतथ्यमा आधारित रहेर कलम चलाउन पुनले आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले आदिवासी जनजातीका सवाललाई ध्यान दिएर पत्रकारले कलम चलाउनुपर्ने बताउनुभयो ।