अमरराज नहर्की
तनहुँ, माघ ५ गते । तनहुँको देवघाट गाउँपालिका–३ ले यस वर्ष सुन्तला बिक्रीबाट तीन करोड रुपियाँ आम्दानी गरेको छ । व्यावसायिक रुपमा सुन्तला खेती गर्ने किसानले ठेक्का तथा आफैँले बिक्री आम्दानी गरेका हुन् । बाटक, लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराका बासिन्दाले सुन्तला बिक्री गरेर तीन करोडभन्दा बढी आम्दानी गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन बढे पनि बजार मूल्य नबढेकाले आम्दानी बढ्न नसकेको किसानहरु बताउँछन् ।
अगुवा सुन्तला कृषक तथा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाले महँगी बढे पनि गत वर्षकै भाउमा सुन्तला बेचेको जानकारी दिनुभयो । यस वर्ष ३० लाख रुपियाँको सुन्तला बिक्री गरेको उहाँले बताउनुभयो । अध्यक्ष राना वडा नम्बर ३ का किसानले मात्रै तीन करोडभन्दा बढी आम्दानी गर्ने गरेको जानकारी दिनुभयो ।
लुङग्रिङमा एकै घरबाट २० लाखभन्दा बढीको सुन्तला बिक्री गरेको उहाँले जानकारी दिनुभयो । कृषक प्रेम थापाले सुन्तला उत्पादक किसानलाई बजारसम्म लैजान समस्या पर्दै आएको बताउनुभयो । नदीपारि रहेको लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा तथा दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान सास्ती भएको थापाले बताउनुभयो । उहाँका अनुसार लुङग्रिङ र छिपछिपेका कृषकले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारायणगढ सडकको गाईघाटसम्म जिपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउँछन् भने छापस्वारा र दगराका कृषकले बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै काठमाडौं लैजाने गरेका छन् ।
थापाले भन्नुभयो, ‘‘पुल नहुँदा ढुवानी खर्च महँगो परेको छ ।’’ नाल्दीमा पुलको योजना परेको थियो । तर तनहुँ जलविद्युत् आयोजनाको तल्लो सेती जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पुल पर्ने भएकाले गर्दा उक्त पुलको योजना पनि स्थगित भएर समस्या परेको छ ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानहरुले नयाँ बोट थप्ने गरेको बताउनुभयो । किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले निःशुल्क बिरुवा दिने गरेकोले अबका केही वर्षमा उत्पादनसँगै आम्दानीमा पनि वृद्धि हुने अध्यक्ष थापाको भनाइ छ । देवघाट गाउँपालिका तिनतिरबाट नदीले घेरिएको तर पक्की पुल नहुँदा समस्या परेको अध्यक्ष थापाले बताउनुभयो ।
नाल्दीघाट, घुमाउने र गाईघाटमा पुल नहुँदा समस्या परेको उहाँले जानकारी दिनुभयो । नाल्दीबाट लुङग्रिङसम्म जाने ग्रामीण सडकलाई गाउँपालिकाले सुन्तला मार्ग नामकरण गरी बजेट विनियोजन गरेको छ । गाउँपालिकाको स्रोतले बाटो बनाए पनि पुल नहुँदा राजमार्गसम्म ल्याउन समस्या परेको अध्यक्ष थापाको भनाइ छ । किसानलाई प्रोत्साहन गर्न काफलडाँडामा सुन्तला नर्सरी स्थापना गरिएको अध्यक्ष थापाले बताउनुभयो । त्यहाँ उत्पादित बिरुवा किसानहरुलाई निःशुल्क वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष थापाका अनुसार वडा नम्बर १, २, ३ र ४ का विभिन्न भागमा सुन्तला उत्पादन हुन्छ । विगतमा बारीबाटै डोकोमा बोकेर चितवनको नारायणगढसम्म लैजानुपर्थ्याे । तर हाल गाउँपालिकाले गाउँमा सडक पुर्याएको अध्यक्ष थापा बताउनुहुन्छ । नदीमा पुल नहुँदा राजमार्गसम्म सिधै पहुँच नपुगेको उहाँले जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष २०८०/०८१ मा तनहुँका किसानले ४० करोड रुपियाँ हात पारेका थिए । ११ हजार पाँच सय १८ मेट्रिकटन सुन्तला उत्पादन हुँदा उक्त रकम हात पारेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछानेले बताउनुभयो । यो वर्ष कति आम्दानी भयो भने विवरण आउन बाँकी रहेको लामिछाने बताउनुुहुन्छ ।