• ५ माघ २०८१, शनिबार

लोकभजन संरक्षण गर्न प्रतियोगिता

blog

बुटवल समाचारदाता

बुटवल, माघ ५ गते । बुटवल उपमहानगरपालिकाको आयोजना र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेश समितिको व्यवस्थापनमा लोकभजन संरक्षण गर्न लोकभजन प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताको उपाधि बुटवल उपमहानगरपालिका–१७ को मुक्तेश्वर शिव मन्दिर भजन समूहले हात पारेको छ । 

प्रतियोगितामा बुटवल उपमहानगरपालिका–१२ को परोपकार एकादशी भजन समूह दोस्रो, बुटवल–७ स्थित सिद्धेश्वर शिवालय मन्दिर भजन समूह तेस्रो र बुटवल–८ स्थित राधाकृष्ण मन्दिर भजन समूह सान्त्वना भएका छन् । विजेता तथा विभिन्न विधामा उत्कृष्ट हुने समूहलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।  प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने समूहले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । सो अवसरमा नगरप्रमुख पाण्डेयले लोकसंस्कृति जोगाउनु सबैको साझा दायित्व भएको बताउँदै नयाँ पुस्तालाई लोकभजनमा आकर्षित गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले लोकभजन हाम्रो संस्कृतिसँग जोडिएको बताउँदै लोपोन्मुखको अवस्थामा रहेको हाम्रो परम्परादेखिको लोकभजन जगेर्नाका लागि स्थानीय सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।