• ५ माघ २०८१, शनिबार

रुपन्देहीमा तीन लाख राशीको स्नुकर प्रतियोगिता हुने

blog

खेलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, माघ ४ गते । बुटवलमा सर्वाधिक राशीको स्नुकर प्रतियोगिता हुने भएको छ । बुटवल उपहानगरपालिकाको सहयोगमा नेपाल बिलियार्ड स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीको आयोजनामा फागुनको दोस्रो हप्तादेखि प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर प्रतियोगिता बुटवल २०८१ हुने भएको हो ।

पत्रकार सम्मेलन गरि नेपाल बिलियार्ड स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीका अध्यक्ष सुजन पुनले रुपन्देहीमा सर्वाधिक राशीको प्रतियोगिता गर्न लागेको बताउनुभयो ।

"यसअघि स्नुकरमा २ लाख ५५ हजार रुपियाँ धनराशीको काठमाडौंमा प्रतियोगिता भएको थियो, अब हामीले गर्ने देशकै सबैभन्दा ठुलो राशीको स्नुकर हो", उहाले भन्नुभयोे । खस्यौली स्नुकर क्लब अमरपथमा हुने प्रतियोगिताको उपाधि विजेतालाई नगद ३ लाख ३ हजार, कप, मेडल, प्रमाणपत्र, उपविजेतालाई नगद १, लाख १ हजार रुपैयाँ, हाईएस्ट ब्रेक ५५ हजार रुपियाँबाट पुरस्कृत गरिने उहाँको भनाइ छ ।

यसैगरि सेमिफाईनलमा पुग्ने खेलाडीहरुलाई नगद १० हजार रुपियाँ, साईजिङ स्टार र डिसिप्लिन प्लेयरलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने छ । प्रतियोगिताको बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सिह कम्प्लेक्सका महेशमान सिहबाट १ लाख तथा दोस्रो पुरस्कार बराबरको १ लाख रुपियाँ आवास ग्रुपको प्रबन्ध निर्देशक महेश थैवबाट सौजन्य भएको पुनले जानकारी दिनुभयो ।

बौद्धिक खेलको रुपमा पहिचान बनाएको स्नुकरका लागि रुपन्देही उर्वरभुमी भएको उहाँको भनाइ छ । भर्खरमात्र बुटवलका रेगन श्रेष्ठले श्रीलङ्का सम्पन्न सागस्तरीय प्रतियोगितामा नेपाललाई अन्तराष्ट्रिय मंचमा पहिलो पदक दिलाउन सफल भएको बताउनुभयो ।

देशभरका अधिकास जिल्लाबाट बढिमा १२८ जना प्रतियोगी खेलाडीहरु सहभागी हुनेछन् । खेलाडीहरुलाई आवासको ब्यवस्था आयोजकबाट गरिने तथा क्वाटरफाईनल खेलबाट खेलाडीहरुलाई आवास र खानाको समेत ब्यवस्था रहेको र युनतम १० दिनमा प्रतियोगिता सक्ने लक्ष्य रहेको छ ।

कार्यक्रममा बुटवल नगरपालिकाका प्रवक्ता शिव राना, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, संघका वरिष्ठ सल्लाहकार संजयरत्न बज्राचार्य, खेल संयोजक विजय गुरुङ, संघका सचिव प्रकाश क्षेत्री लगायतले खेल विकासमा स्थानिय सरकारबाट सहयोग हुदा विकास हुन सफल भएको बताउनुभयो । प्रतियोगितामा भाग लिन फागुन ७ गतेसम्म अन्तिम समयावधि तोकिएको छ ।