• ५ माघ २०८१, शनिबार

नेपालगञ्ज-गुलरिया सडक खण्डको पेडारीमा पक्कि पुल बन्ने

blog

बाँकेको खजुरास्थित पेडारी नाला पुल । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, माघ ४ गते । नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका ३ खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पक्कि पुल निर्माण हुने भएको छ ।

लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले सङ्घीय अर्थ मन्त्रालयले खजुराको पेडारी नालामा पक्कि नालामा चारलेन पुल निर्माणका लागि बजेट स्वीकृत गरेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, "अर्थ मन्त्रालयले नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका पर्ने पेडारी नाला र चपरा नालामा सहित बाँके जिल्लामा चारवटा पुल निर्माणका लागि बजेट विनियोजन गरेको जानकारी प्राप्त भएको छ ।"

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीले अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएपछि अब केही दिनमा टेण्डर आव्हान गरि काम सुरु हुने जानकारी दिनुभयो । 

प्रमुख भण्डारीले भन्नुभयो, "लामो समयदेखि माग गर्दै आएको योजना यसपटक स्वीकृत भएको छ, अब केही दिनमा निर्देशनालयबाट टेण्डर आह्वान भई काम सुरु हुन्छ ।" खजुरामा ७ वर्ष अघिदेखि चारलेन सडक निर्माण सुरु भएको भएपनि साँघुरो र जीर्ण पुल भएका कारण आवागमनमा सास्ती हुँदै आएको छ । 

पेडारी नालामा नयाँ पुल २२ मिटर चौडाई र ३३ मिटर लम्बाईको हुने छ । पुलको लागत १२ करोड बढि छ । पेडारी नालामा साँघुरो र जीर्ण पुल भएका कारण वर्षायाममा खोलामा बाढी आउँदा पटकपटक सवारी आवागमन प्रभावित हुने गरेको छ ।