कास्की, माघ ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ ।
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीहरुले भन्दै आएको सर्वे भवन्तु सुखिनः को आधुनिक रुप समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यलाई ध्यानमा राखेर आफूहरु काम गरिरहेको स्पष्ट गर्नुभयो ।
उहाँले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेहरुलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गाैला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको जनाउनुभयो ।
प्रधानमन्त्री ओलीले विश्वको याे भूभाग ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरु हुनु अगावै वेद–विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको स्मरण गराउनुभयो ।
“हामी उठ्न नसक्ने कुनै कारण छैन । हामी सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासमा अगाडि बढ्नेछौँ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “चीनले त्यत्रो जनसङ्ख्यालाई छोटो समयमा गरिबीको रेखामुनिबाट माथि उठायो । हामीले पनि हाम्रो देश आफैँ बनाउन लाग्नुपर्छ । लागेपछि नेपाल बन्छ ।”
प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरुलाई दृष्टान्तयोग्य, इमानदार, आदर्शवान र समाजका लागि उपयोगी हुन सक्नुहोस् भन्ने शुभकामना दिँदै विद्यार्थी र अभिभावकको आर्थिक लगानी, स्नेह र समयको लगानीको प्रतिफल प्राप्त भएको बताउनुभयो ।
कार्यक्रममा कुलपति ओलीबाट विसं. २०८०/२०८१ मा प्रतिष्ठानबाट एमडी र एमएसमा उत्तीर्ण ३८ विद्यार्थी दीक्षित भएका छन् । यसैगरी कुलपति ओलीले उत्कृष्ट विद्यार्थीहरु अरविन्दकुमार शाह (अर्थाेपेडिक्स) र आशिष सापकोटा (जनरल सर्जरी)लाई उपकुलपति पदक वितरण गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिष्ठानको आकस्मिक तथा प्राज्ञिक भवनको उद्घाटन पनि गर्नुभयो ।
विश्वविद्यालयका सहकुलपति एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल उपस्थित समारोहमा कारोलिनस्का इन्स्टिच्युट स्टकहोम, स्वीडेनका प्रा. माग्नुस वेस्ग्रेनले दीक्षान्त भाषण प्रस्तुत गर्नुभएको थियो । प्रतिष्ठानका उपकुलपति प्रा. डा. डुकबहादुर क्षेत्रीले सेवा विस्तारका क्रममा अस्पताललाई ५० शय्याको आकस्मिक विभाग सञ्चालनको तयारी भएको जानकारी दिनुभयो ।