• १२ असार २०८१, बुधबार

तीन महिनाभित्र बसपार्क सञ्चालन गर्ने प्रतिबद्धता

blog

बोदेबर्साइन समाचारदाता

बोदेबर्साइन (सप्तरी), जेठ ११ गते ।  राजविराज बसपार्क तीन महिनाभित्र सञ्चालनमा ल्याउने नवनिर्वाचित नगरप्रमुख भीमराज यादवले बताउनुभएको छ । 

“दुई वर्षको ठेक्का सात वर्ष हुँदा पनि सम्पन्न हुन नसकेको बसपार्कमा अबको तीन महिनाभित्र बस गुडाएर देखाउँछु,” उहाँले भन्नुभयो । उहाँले नगर विकासको लागि पहिलो एजेन्डाका रूपमा शिक्षा, स्वास्थ्य र बाटोलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्वस्थ्य र शिक्षित नागरिक नगरको भविष्य भएकोले प्रत्येक वर्ष तीन हजार पाँच सय नागरिकलाई स्वास्थ्य बीमा गर्ने बताउनुभयो । 

पद तथा गोपनीयताको शपथ लिएपछि नगरवासीलाई सम्बोधन गर्दै उहाँले पहिलो वर्षमा विपन्न परिवारलाई प्राथमिकतामा राखेर निःशुल्क स्वास्थ्य बीमा तथा विपन्नको स्वास्थ्य उपचारमा पहुँच पु-याउने जनाउनुभयो । शिक्षाको स्तरोन्नतिमा जोड दिँदै उहाँले उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने एक/एक जनालाई डाक्टर र इन्जिनियरको पढाइ खर्च नगरपालिकाबाट बेहोर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सहरलाई व्यवस्थित र सुरक्षित बनाउन ठाउँ–ठाउँमा सीसी क्यामरा जडान गर्नुका साथै २१ जना नगर प्रहरी भर्ना गरिने जानकारी दिनुभयो । “राजविराजलाई सफा सुन्दर गुलाबी सहरको रूपमा विकसित गर्छु । नगरवासीका लागि नगर बस सञ्चालनमा ल्याउँछु,” प्रमुख यादवले भन्नुभयो, “एक वर्षभित्र राजविराजमा रहेको ६० बिघा बिटौरी जग्गाको जग्गाधनी पुर्जा वितरण गर्छु ।”

आगामी बजेटमा १० करोड रकम छुट्याएर मलखाद खरिद गरेर किसानलाई उपलब्ध गराउनुका साथै बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने उहाँले जनाउनुभयो । त्यसैगरी कन्या छात्रावाससहित नगरका अधुरा योजना आगामी छ महिनाभित्र पूरा गरिने प्रमुख यादवले प्रतिबद्धता गर्नुभयो ।