गुणबहादुर रोका
सुलीकोट, माघ २ गते । गोरखा सदरमुकामको मुख्य क्षेत्र हरमटारी चोकदेखि अस्पताल चोकसम्म ठुला खाडलका कारण दुर्घटना जोखिम बढ्दै गएको छ । लामो समयदेखि मुख्य सडकमा ठुला खाडल हुँदा पनि मर्मतका लागि समबन्धित निकायले ध्यान नदिँदा दुर्घटना जोखिम बढ्दै गएको हो ।
गोरखा सदरमुकामको मुख्य क्षेत्र रहेको गोरखा नगरपालिका –६ मा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, जिल्ला अस्पताल लगायतका सरकारी कार्यालयहरु त्यही सडक भएर आवतजावत गर्नुपर्ने हुँदा सबैभन्दा बढी ब्यस्त सडक साथै खाल्डाखुल्डीका कारण दुर्घटना निम्तिन सक्ने स्थानीय दीपक श्रेष्ठको भनाइ छ ।
अहिले गोरखाको एकमात्र सरकारी अस्पताल बिरामीलाई लैजाने मुख्य सडक मर्मत सम्भार नहुँदा एम्बुलेन्सलाई समेत यात्रा गर्न असहज भएको गोरखा अस्पतालको एम्बुलेन्स चालक कमल बसेलले जानकारी दिनुभयो ।
साँघुरो सडक तथा सडक ठुला खाल्डा भएकाले सवारी साधान चलाउन र पैदलयात्रीलाई बचाउनुपर्ने हुँदा दुर्घटनाको जोखिम बढी हुनेगरेको उहाँले गुनासो गर्नुभयो । सो सडक गोरखा सदरमुकाम हुँदै भीमसेन थापा गाउँपालिका, शहीद लखन गाउँपालिका, आरुघाट गाउँपालिका र धार्चे गाउँपालिकामा पुग्ने सवारी साधन यही सडक भएर छुट्ने गरेका छन् ।
सदरमुकामको मुख्य सडकमा लामो समयदेखि खाडल मर्मत सम्भार नहुनु दुःखद भएको घ्याम्येशाल चोकका स्थानीयहरुले बताएका छन् । हरमटारी चोकदेखि घ्याम्पेसाल चोक हुँदै अस्पाताल चोकसम्म खाल्डा भएकाले मोटरसाइकल चलाउन समेत जोखिम रहेको स्थानीय राजन ढुङ्गानाको भनाइ छ ।
मुख्य चोकमै कम्तीमा खाल्डाका कारण १५ देखि २० मिनेट सवारी साधनहरु रोकिएर जानुपर्ने बाध्यता रहिआएको बताइएको छ । गोरखा नगरपालिका –६ का वडा अध्यक्ष दिलीपकुमार जोशीले उक्त सडक खण्डलाई कालोपत्रे गर्न गोरखा नगरपालिकासँग छलफल भइरहेको जानकारी दिनुभयो ।
त्यस्तै गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरले हरमटारीदेखि अस्पताल चोकसम्म सडकको अबस्था खराब भएकाले उक्त सडकलाई गोरखा नगरपालिकाले दीर्घकालीन रुपमा हल हुनेगरी प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो ।
गोरखा नगरपालिकाको मुख्य सडक भएकाले पनि त्यस सडकलाई कालोपत्रे गरी सडकको नालीको व्यवस्था गरी सडकको यात्रा सहज हुनेगरी छिट्टै समस्याको समाधान गरिने मेयर रानाको दाबी छ ।