राजु लामिछाने
रुकुमपश्चिम, चैत २२ गते । नयाँ शैक्षिक सत्र २०८३ का लागि रुकुम पश्चिममा किताब आइपुगेका छन् । जनक शिक्षा सामग्री केन्द्रबाट अनुमति प्राप्त व्यवसायीहरुले जिल्लाका विभिन्न विद्यालयहरुका लागि किताब खरिद गरेर ल्याएका हुन् ।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुकुम पश्चिमका अध्यक्ष कर्णबहादुर ओलीले नयाँ शैक्षिक सत्रका लागि बेलैमा किताब खरिद गरेर ल्याईसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका छ वटा पालिकामा फरक फरक सप्लासर्यले किताब ढुवानीको जिम्मा पाएका छन् । जनक शिक्षा सामग्री केन्द्रले पुस्तक ढुवानीका लागि फरक फरक दिनमा सप्लायर्सको सम्पर्क मिति तोकेर जिल्लामा किताब पठाएको उहाँले जनाउनुभयो । ओलीले मुसीकोट नगरपालिकामा पाँच वटा पुस्तक व्यवसायीले ढुवानीको जिम्मा पाए अनुसार नै किताब ल्याइसकेको र अन्य पालिकामा पनि आइसकेको जानकारी प्राप्त भएको बताउनुभयो ।
चौरजहारी नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाजंग ओलीका अनुसार केहि विद्यालयमै पनि किताब पुगिसकेको छ । उहाँले शीतल मावि लगायतका विद्यालयमै पुस्तक पुगिसकेको र अन्य विद्यालयका लागि पनि व्यवसायीले ढुवानी गरेर ल्याईसकेको जनाउनुभयो । केहि दिनमै सबै विद्यालयमा किताब पुगिसक्ने उहाँको भनाइ छ ।
विभिन्न सामुदायिक विद्यालयहरुसँगको सम्झौता बमोजिम जिम्मेवारी पाएका पुस्तक व्यवसायीले जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक ढुवानी गरेका हुन् । पुस्तकको शुल्क सम्बन्धित पालिकाले विद्यालयलाई र विद्यालयले सम्बन्धित सप्लायर्सलाई उपलब्ध गराउने गर्दछन् । सामुदायिक विद्यालयका कक्षा १, २ र ४ का किताब निजी छापाखाना र अन्य कक्षाका किताब जनक शिक्षा सामग्री केन्द्रबाट छपाई भएका हुन् । सम्बन्धित छापाखानाले किताब सप्लायर्सलाई ढुवानी खर्च व्यवस्थापन गर्ने व्यवस्था रहेको छ ।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका जिल्ला सचिव शिशिर गौतमले सबै विद्यालयमा किताब पुगिसकेपछि मात्र व्यवसायीले छापाखानाबाट ढुवानी रकम पाउने बताउनुभयो । विद्यालयले उपलब्ध गराएको विद्यार्थी संख्याको आधारमा सम्बन्धित सप्लासर्यले विद्यालयमै पुस्तक उपलब्ध गराउने गरेको गौतमले जनाउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख तारा प्रकाश पुनका अनुसार विगतका वर्षहरुमा किताबको अभाव हुने गरेको गुनासो सुनिएतापनि यस वर्ष भने माग बमोजिमका किताब उपलब्ध भएका छन् । गत वर्ष केहि बिषयका पुस्तक अभाव रहेका थिए । यस वर्ष भने सबै विषयका पुस्तकहरु आइपुगेका छन् । रुकुमपश्चिममा २८४ वटा सामुदायिक विद्यालय रहेका छन् । सरकारले यी विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क किताब उपलब्ध गराउने गर्दछ ।