• २२ चैत २०८२, आइतबार

‘मुस्लिमको हक अधिकार सुनिश्चित गराउँछु’

blog

शालिग्राम नेपाल 

चितवन, चैत २२ गते  । सामाजिक अभियन्ताका रूपमा सक्रिय समिना मियाँ पेसाले नर्सिङ सेवामा आबद्ध हुनुहुन्छ । मुस्लिम महिलाको अधिकार र समाजमा हुने बेथितिविरुद्ध बोल्दै आएकी उहाँ यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । 

भरतपुर महानगरपालिका–१ मा जन्मिएकी मियाँ विशेषतः मुस्लिम महिलाको अधिकारको विषयमा सक्रिय रहँदै आउनुभएको छ । एमएस्सी नर्सिङसम्मको अध्ययन गरेकी उहाँसँग भरतपुरका विभिन्न अस्पतालमा काम गरेको अनुभव छ । स्वास्थ्य क्षेत्रमा काम गरे पनि उहाँले मुस्लिम महिला अधिकारको विषयमा काम गर्दै आउनुभएको छ । नेपाल हज कमिटीको निवर्तमान सदस्य भएर काम गर्नुभएको पनि अनुभव उहाँसँग छ । 

विभिन्न सामाजिक संस्थामा आबद्ध भएर मानवसेवामा सक्रिय मियाँले भन्नुभयो, “राज्यको मूलधारमा मुस्लिम महिलाको प्रतिनिधित्व ज्यादै कम छ । यो अवस्थालाई सुधार गरेर लैजाने योजना बनाएको छु । सामाजिक र राजनीतिक क्षेत्रमा पुरुष सरह महिलाको सहभागिता छैन । त्यसमा पनि मुस्लिम महिलाको प्रतिनिधित्व अन्यन्तै कम छ । त्यसैले पार्टीले मलाई यसै समुदायबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराएको छ । यो अवसरलाई उपयोग गरेर पछाडि परेका समुदायलाई मूलधारमा ल्याउने प्रयत्न गर्ने छु ।” 

“गरिब, असहाय वर्गले स्वास्थ्य सेवा सहज रूपमा पाउने अवस्था छैन । कम आम्दानी भएका वर्गले उपचार नै गर्न नसक्ने अवस्था छ । स्वास्थ्य बिमामार्फत उपचार पाउन सजिलो छैन,” उहाँ भन्नुहुन्छ, “यसलाई व्यवस्थित पारेर सबैको पहुँचमा स्वास्थ्य सेवा पु-याउने नीतिगत व्यवस्था गर्न मेरो भूमिका रहन्छ ।” 

“सरकारी र निजी दुवै क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीको सेवा सुविधा र हेर्ने दृष्टिकोण बराबर बनाउने गरी व्यवस्था गर्ने गरी काम गर्ने छु,” उहाँले भन्नुभयो, “नेपालमा आवश्यक दक्ष स्वास्थ्यकर्मीको अभाव छ । त्यस्तो अवस्थामा दक्ष व्यक्ति पलायन हुने अर्को समस्या छ । यसलाई समाधान गरेर नेपालमा नै बस्ने वातावरण निर्माणमा भूमिका खेल्ने छु ।” मुस्लिम महिलाका तर्फबाट नीति निर्माणको तहमा पुगेपछि आउँदा दिनमा अधिकार स्थापित हुने गरी काम गर्ने दायित्व मेरो काँधमा आएको महसुस गरेको उहाँले बताउनुभयो । 

विगतमा जस्तो अधिकार पाउनका लागि आन्दोलन गर्नुपर्ने, लड्नुपर्ने अवस्थाको अन्त्य गर्न नीतिगत रूपमा नै व्यवस्था गर्न पहल गर्ने मियाँले भन्नुभयो । २०४५ असार १४ गते जन्मिएकी उहाँ अस्थायी रूपमा काठमाडौँमा बस्नुहुन्छ ।