केशवराज भट्ट
वासुलिङ (बैतडी), चैत २२ गते । परीक्षा नियन्त्रण कार्यालयको निर्देशनअनुसार बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै धमाधम भइरहेको छ।
शिक्षा विकास तथा समन्वय इकाइ, बैतडी का सूचना अधिकारी पुष्कर शर्माका अनुसार, देशभरका परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने निर्देशनअनुसार जिल्लाका २६ वटै केन्द्रमा परीक्षण कार्य सञ्चालनमा छ। अधिकांश केन्द्रहरूले परीक्षा सम्पन्न हुने दिनै उत्तरपुस्तिका परीक्षण पूरा गर्ने व्यवस्था मिलाएका छन्।
उत्तरपुस्तिका परीक्षणका लागि सम्बन्धित केन्द्राध्यक्षले विषयगत शिक्षक खटाउने व्यवस्था गरेका छन्। परीक्षण कार्यमा निष्पक्षता कायम गर्न फरक विद्यालयका शिक्षकले मात्र उत्तरपुस्तिका जाँच गर्न पाउने व्यवस्था गरिएको छ।
प्रत्येक दिनको विषयगत नतिजा सोही दिन साँझसम्म तयार गरी पठाइँदै आएको छ। पाटन नगरपालिका–८ स्थित ज्ञानेश्वर माध्यमिक विद्यालय का केन्द्राध्यक्ष पुष्पराज जोशीले जानकारी दिनुभयो। त्यस्तै, दशरथचन्द नगरपालिका–२ स्थित मणिलेक माध्यमिक विद्यालय का केन्द्राध्यक्ष धिरेन्द्र मडले परीक्षा शान्त र मर्यादित रूपमा सञ्चालन भइरहेको जानकारी दिनुभयो।
परीक्षण गरिएका उत्तरपुस्तिका सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा पठाइने र त्यहाँबाट परीक्षा नियन्त्रण कार्यालयमा पठाइने व्यवस्था रहेको इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो। परीक्षार्थीको नतिजा प्रविष्ट गर्ने काम भने परीक्षा नियन्त्रण कार्यालयले मात्र गर्नेछ।
बैतडीमा नियमित र ग्रेडवृद्धि तर्फका परीक्षार्थीका लागि २५ वटा केन्द्रमार्फत परीक्षा सञ्चालन भइरहेको छ। प्राविधिक धाराका परीक्षार्थीका लागि पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा केन्द्र तोकिएको छ।
यस वर्ष जिल्लामा ४,५५१ जना परीक्षार्थी एसईईमा सहभागी भएका छन्। नियमिततर्फ एक हजार ९६३ जना छात्र र एक हजार ९५८ जना छात्रा गरी कुल ३,९२१ जना तथा ग्रेडवृद्धितर्फ २५६ जना छात्र र ३७४ जना छात्रा गरी ६३० जना परीक्षार्थी रहेका छन्। जिल्लाका १३८ सामुदायिक र आठ संस्थागत विद्यालय, कुल १४२ विद्यालयका विद्यार्थीले यस वर्ष एसइई परीक्षा दिइरहेका छन्।