इमान सिं राना
रामपुर (पाल्पा), पुस २९ गते । केही वर्ष अघिसम्म पाल्पाको अधिकांश स्थानमा कृषकहरु पुस र माघको महिना खुदो तयार गर्न व्यस्त रहन्थे । उखु खेती गर्ने प्रचलन हराउँदै जाँदा पछिल्लो समय आयातित खुदोले स्थानीय माग परिपूर्ति हुँदै आएको छ ।
अधिकांश कृषक उखु खेतीबाट विस्थापित हुँदै गइरहेको बेला यहाँका स्थानीय युवाहरु परम्परागत उखु खेतीको प्रवर्द्धन गरी उखु र उखुबाट उत्पादित वस्तुको माग परिपूर्ति गर्न सक्रिय भएका छन् । सामूहिक उखु खेती गर्दै आएका रामपुर–५ का छ जना युवाहरु अहिले माघेसङ्क्रान्तिका लागि खुदो बनाएर विक्री गर्न व्यस्त छन् । उखु पेलेर खुदो बनाई विक्री गर्न भ्याई नभ्याई छ । हाम्रो बहुउद्देश्य कृषक समूहमार्फत उनीहरुले ३५ रोपनीमा उखु लगाएका थिए ।
तयार भएको उखु पन्ध्र पुस र माघेसङ्क्रान्तिलाई लक्ष्यित गरी खुदो बनाएर विक्री गर्दै आएको समूहका सदस्य विष्णुप्रसाद गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “पन्ध्र पुस र माघेसङ्क्रान्तिमा खुदोको माग बढी हुने भएकाले उत्पादन भएको उखुबाट खुदो तयार गरी विक्री गरिरहेका छौं ।” अहिले १५ रोपनीमा उत्पादन भएको उखुबाट खुदो तयार गरी विक्री गरिरहेको जानकारी दिनुभयो ।
उखु खेतीलाई प्रवर्द्धनका लागि तीन वर्षदेखि सामूहिक रुपमा लाग्दै आएको उहाँले बताउनुभयो । “उखु खेती हराउँदै जाँदा हिजोआज गाउँमा बसेर बाहिरबाट आएको उखु र उखुजन्य वस्तु किनेर खाने अवस्था आएको छ । उखु खेतीलाई प्रवर्धन र संरक्षण गर्न व्यावसायिक खेतीमा युवाहरू लागेका छौँ,’ गौतमले भन्नुभयो ।
यस वर्ष अहिलेसम्म दुई हजार पाँच सय लिटर खुदो तयार भएकोमा दुई हजार लिटर विक्री भइसकेको समूहका सदस्य सुरज गौतमले बताउनुभयो । खुदोबाट पाँच लाख रुपियाँ आम्दानी लिइसकेको बताउनुभयो । तयार भएको खुदो प्रति लिटर दुई सय पचास रुपियाँको दरले विक्री हुँदै आएको छ ।
उखु खेतीलाई आगामी वर्ष ५० र अर्को वर्ष सय रोपनीमा विस्तार गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । “परम्परागत खेतीलाई नयाँ प्रविधिसँग जोड्दै कालीगण्डकी बेंसीलाई खुदो तथा उखुजन्य वस्तुमा आत्मनिर्भर बनाउने गरी लागेका छौं ।” उहाँले भन्नुभयो । समूहले व्यावसायिक उखुखेतीमा नयाँ प्रविधि खरिदसहित झण्डै १५ लाख लगानी गरिसकेको जानकारी दिनुभयो ।
रामपुरमा अहिले गुल्मीसँगै तराई क्षेत्रबाट ठुलो परिमाणमा खुदो आयात भइरहेको छ । समूहका सदस्य सन्तोष पौडेलले रामपुर क्षेत्रमा मात्रै वार्षिक रुपमा झण्डै एक करोडको उखुबाट बन्ने खुदो, सख्खर, गुड, भेली तथा अन्य वस्तु आयात हुने गरेको बताउनुभयो । बजारको माग स्थानीय उत्पादनबाटै पूर्ति गर्नका लागि व्यावसायिक उखु खेतीमा होमिएको बताउनुभयो । “उखु खेती गर्ने प्रचलन घटे पनि उखु र उखुबाट उत्पादित विभिन्न वस्तुको माग बजारमा बढ्दो क्रममा छ । आफ्नै उत्पादनमा आत्मनिर्भर बनाउनका लागि उखु खेती प्रवर्धनमा जुटेका हौं ।” उहाँले भन्नुभयो ।
समूहले भम्बक, कोइलटारी र कठानमा जग्गा भाडामा लिएर खेती गर्दै आएको छ । यस वर्ष खुदो तयार गरी बाँकी रहेको उखुमध्ये चौथो रामपुर महोत्सवमा उखुको जुस, अधौरो खुदो विक्री गर्ने र बिउका लागि राख्ने योजना रहेको पीताम्बर गौतमले बताउनुभयो ।
कालीगण्डकी करिडोर सञ्चालनसँगै यातायातमा सहज भएकाले नारायणघाट, बुटवल, पोखरालगायतका बजारमा उत्पादन भएको वस्तु पठाउन समस्या नभएको जानकारी दिनुभयो । समूहमा आबद्ध सदस्यमध्ये वैदेशिक रोजगारबाट गाउँ फर्केका, विभिन्न पेसा, व्यवसायमा रहेका युवाहरु छन् ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले व्यावसायिक उखु खेती गर्दै आएका युवाहरुलाई नगरपालिकाले आवश्यक उपकरण खरिदका लागि सहयोग गरेको बताउनुभयो । साथै उहाँले नगरलाई स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउनका लागि उद्यामीलाई प्रोत्साहन गर्न व्याज अनुदान प्रदान गर्दै आएको जानकारी दिनुभयो ।