• १ माघ २०८१, मङ्गलबार

औषधी व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा

blog

बुटवल समाचारदाता 

बुटवल,माघ १ गते । औषधी बिक्रीवितरणमा अस्वस्थ प्रतिस्पर्धाका कारण विकृति बढेको भन्दै औषधी व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । व्यवसायीले पछिल्लो समय औषधी व्यवसायमा विकृति बढेकै कारण नयाँ पुस्ता यो व्यवसायमा आउन नचाहेको भन्दै पेसालाई मर्यादित बनाउन सबै पक्ष एक हुनुपर्नेमा जोड दिएका छन् । 

नेपाल औषधी व्यवसायी सङ्घ रुपन्देही जिल्ला शाखाको आयोजनामा बुटवलमा नवनिर्वाचित सङ्घका पदाधिकारी तथा सदस्यलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै सङ्घका विशेष सल्लाहकार रोहितराज क्षेत्रीले व्यवसायमा देखिएको विकृतिकै कारण नयाँ पुस्ता यो पेसाबाट आउन 

नचाहेको गुनासो गर्नुभयो । उहाँले यही अवस्था रहेमा यो पेसालाई जोगाउने चिन्ता थपिएको बताउँदै व्यवसायलाई मर्यादित बनाउन अभियान थाल्न जरुरी रहेको आवश्यकतामा जोड दिनुभयो । औषधी व्यवसायप्रति आमनागरिकको दृष्टिकोण राम्रो नरहेको भन्दै उहाँले यो क्षेत्रमा रहेको विकृति सुधार गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा प्रदेशका निवर्तमान अध्यक्ष शिव ज्ञवालीले केही व्यवसायीले गर्ने अस्वस्थ प्रतिस्पर्धाकै कारण पेसा सङ्कटमा आउनेस्थिति देखिएको बताउँदै नीतिगत कुरामा केन्द्र कडा रूपमा लाग्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले औषधीको एमआरपी घटाउने नाममा गलत विधि अपनाउने काम भएको भन्दै भारतीय औषधी जति पनि भित्र्याउन मिल्ने तर नेपाली औषधीलाई नियन्त्रण गर्ने काम 

भएको गुनासो गर्नुभयो । 

नेपाल औषधी व्यवसायी सङ्घ रुपन्देही अध्यक्ष खड्गबहादुर बस्नेतले औषधी व्यवसायलाई मर्यादित बनाउन चुनौती देखिएको भए पनि पेसालाई जिम्मेवार बनाउन आफूहरूले प्रयास गरिरहेको बताउनुभयो । प्रदेशभित्रका औषधी पसलमा फार्मेसीलाई अनिवार्य एप्रोन लगाउने प्रावधान जस्ता सामान्य परिवर्तनबाट अभियान चलाउन लागेको उहाँको भनाइ छ । 

नेपाल औषधी व्यवसायी महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले औषधी व्यवस्था विभाग र नेपाल मेडिकल एसोसिएसनबिच संयुक्त बैठक बसेर औषधीमा देखिएका समस्या समाधान गर्नेतर्फ लाग्न सुझाव दिनुभयो । महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेलले स्वास्थ्य क्षेत्रका सबै सरोकारवाला एकजुट भए मात्र विकृति रोकिने तर्क दिँदै केही व्यवसायीका कारण समग्र औषधी व्यवसायमा समस्या देखिएको दुःखेसो गर्नुभयो ।