• १ माघ २०८१, मङ्गलबार

थारू बस्तीमा माघीको उल्लास

blog

लीलाधर वली 

घोराही, माघ १ गते । थारू समुदायको पर्व माघी अर्थात् नयाँ वर्षले गाउँमा चहलपहल बढाएको छ । माघी पर्वसँगै गाउँघरमा नाचगान र बजारमा किनमेलको चहलपहल बढेको छ ।   घोराही उपमहानगरपालिका–१७, ढिकपुरनिवासी गीता चौधरी माघीले गर्दा उमङ्ग छाएको बताउनुहुन्छ । माघीलाई नयाँ वर्षसँगै मुक्तिको पर्वका रूपमा मनाउँदै आएकी चौधरी माघीमा घरपरिवारसँगै साथीभाइसँग रमाइलो गर्न पाउँदा खुसी लाग्ने गरेको बताउनुहुन्छ । पूर्वकमलरीसमेत रहेकी गीता पहिले थारू समुदायमा कमैया, कमलरी बस्ने प्रचलन भए पनि अहिले हटेको बताउनुहुन्छ । कमलरी बस्ने प्रचलन हुँदा हरेक माघमा को कहाँ कमैया/कमलरी बस्ने भन्ने निर्णय हुन्थ्यो तर पछिल्लो समय त्यो प्रचलन हटेको उहाँले बताउनुभयो । 

कमैया/कमलरी बस्ने प्रचलन हराएसँगै माघीलाई मुक्तिको पर्वका रूपमा जोडेर मनाउन थालेको भन्दै अनिताले भन्नुभयो, “माघ हाम्रो नयाँ वर्ष हो । सबै नयाँ कामको निधो यही बेला गरिने भएकाले टाढा काममा गएका पनि घर फर्किने र रमाइलो गर्ने गरिन्छ ।” उहाँ हरेक दिन थारू समुदायको पहिचानसँग जोडिएको पोसाक लगाउन नसके पनि मेला, पर्व र महोत्सवलगायतका कार्यक्रममा पोसाक र गरगहना लगाउने गरेको बताउनुहुन्छ । 

माघी पर्वलाई थारू समुदायले नयाँ वर्षसँगै आर्थिक वर्षका रूपमा मनाउने गरेको थारू संस्कृतिविद् बेझलाल चौधरी बताउनुहुन्छ । उहाँका अनुसार माघ १ गते बिहानै नुहाएर अभिभावकसँग आशीर्वाद लिने, दोस्रो दिन घरभित्रका सबै कुराको छिनोफानो गर्ने र माघको ३ गते गाउँको सामाजिक कामको निर्णय गर्ने गरिन्छ । 

त्यसै गरी बडघरका रूपमा नेतृत्व चयन गर्ने चलन छ । बडघर एकताको प्रतीकका रूपमा मान्ने गरिएको भन्दै बडघरले प्रत्येक गाउँमा हुने गरेका कामकाज र न्यायिक छलफलको निर्णय गर्ने  संस्कृतिविद् बेझलालले बताउनुभयो । उहाँका अनुसार थारू समुदायको प्रतिनिधित्व गर्ने र शान्ति सुव्यवस्था कायम राख्ने काम बडघरहरूले गर्छन् । त्यसका साथै चाडपर्व, बाटो, विद्यालय, कुलो जस्ता सामाजिक काम तथा झगडा, जनश्रमदान र खेतीपाती जस्ता विषयमा थिति बसाउने कामसमेत बडघरले गर्दै आएका छन् ।  

कामको  सिलसिला तथा पढाइका लागि बाहिर रहेकाहरू पनि माघी मनाउन घर फर्किएका छन् । उहाँले भन्नुभयो, “थारू समुदायमा अहिले उत्साह थपिएको छ । बस्तीसँगै घर घरमा रमाइलो र खुसियाली छ ।” माघीकै लागि थारू समुदायका घरसमेत लिपपोत गरी सिँगारिएका छन् भने विभिन्न शुभकामना आदानप्रदान कार्यक्रमसँगै सांस्कृतिक कार्यक्रम भएका छन् । 

थारू समुदायमा माघी पर्वमा बङ्गुर र सुँगुरको मासु, जाँड र ढिक्री बनाउने काम भइरहेको घोराही उपमहानगरपालिका–१५, काठेकोहलनिवासी सरिता चौधरी बताउनुहुन्छ । ढिक्रीको पिठो तयार गर्ने, तरुललगायतका वस्तु जुटाउने काम भइरहेको उहाँले बताउनुभयो । माघी पर्वका अवसरमा तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी छ प्रकारको तिलको प्रयोग गर्नाले जीवनमा सफलता प्राप्त हुने विश्वास थारू समुदायमा छ । 

्त्यस्तै ढिक्री, सुँगुरको मासु, माछा, तरुललगायतका विभिन्न परिकार खाने प्रचलन रहेको मतहवा महासङ्घ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरी बताउनुहुन्छ । उहाँका अनुसार पहिलेको तुलनामा केही परिवर्तन भए पनि माघीले थारू समुदायमा उत्साह थपेको छ ।