लुम्बिनी, माघ १ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला, संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने बताउनुभएको छ ।
माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा उहाँले आज दिनुभएको शुभकामना सन्देशमा मौलिक कला, संस्कृति जोगाउनु सबैको साझा कर्तव्य भएको उल्लेख गर्नुभयो । सन्देशमा उहाँले कला, संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिन्छ भन्नुभयो ।
“हाम्रो समाज बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त छ । त्यसैले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृतिहरू हाम्रा मौलिक विशेषता हुन्”, उहाँले भन्नुभएको छ, “लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक मूल्य, मान्यताको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका माध्यमबाट आर्थिक, सामाजिक विकासको परिकल्पना गरेको छ । मौलिक कला, संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने भएकाले यसलाई प्राथमिकतामा राखेका छौँ ।”
लुम्बिनी प्रदेशको तराई, पहाड, हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले आ–आफ्नै तरिकाले माघे सङ्क्रान्ति÷माघ पर्व मनाउने चलन छ । यस पर्वको फरक विशेषता र महत्व छ । थारू समुदायले माघलाई महत्त्वपूर्ण चाड एवं नयाँ वर्षका रूपमा मनाउने गर्छन् भने मगर, यादवलगायत समुदायले विशेष महत्वका साथ पर्व मनाउने प्रचलन छ ।
माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । यस वर्ष पनि माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गङ्गाधर पाण्डेले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सार्वजनिक बिदा निर्णय गरेको थियो ।