कपिल ज्ञवाली
सिद्धार्थनगर, पुस २९ गते । लुम्बिनी प्रदेशको प्रदेश निजामती सेवा ऐनसम्बन्धी संशोधन विधेयक २०८० प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
प्रदेश सभाबाट सो विधेयक पुस १७ गते दोस्रो पटक हुबहु पारित भएको थियो । नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा (१) बमोजिम प्रमाणित भई प्रमाणीकरणका लागि पेस हुन आएको विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले जानकारी दिनुभयो ।
चौथो अधिवेशनबाट प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक प्रदेश प्रमुखसमक्ष पठाइएको थियो । प्रदेश प्रमुखले त्यो विधेयकलाई प्रमाणीकरण नगरेर सन्देशसहित प्रदेशसभामा फिर्ता पठाउनुभएको थियो । प्रदेश सभाले पुनः विधेयकलाई पारित गरेर अघि बढाएपछि प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुभएको हो ।